मंगलवार, मंसिर ५ २०८०
दमन राई/सुर्य तामाङ
खोटाङ, ५ मंसिर । आङ खसेको १२ वर्षपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ८० वर्षीय बृद्धा उपचार गर्न अस्पताल पुगेकी छन् । लाज र शरम मानेर दशकभन्दा बढी समय आङ खस्ने समस्या लुकाएकी वृद्धा आफ्नै परिवारको आग्रहमा बल्लतल्ल उपचारका लागि अस्पताल जान राजी भएकी हुन् ।
पाठेघर खसेर तेश्रो तह पार गर्दासम्म उनले आफ्नो पीडालाई लुकाएरै राखेकी थिईन् । उनको शिर मेमोरियल अस्पताल, बनेपामा सोमबार आङ खसेको शल्यक्रीय गरिएको छ ।
यस्तै, आङ खसेका कारण दर्दनाक दिनचर्य विताइरहेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ७४ वृद्धा पनि शल्यक्रीयका लागि अस्पताल पुगेकी छन् । १२/१३ वर्षसम्म आङ खसेको समस्या लुकाउँदै आएकी वृद्धा शल्यक्रीयका लागि तयार भए तर स्वास्थ्यमा अन्य समस्या देखिएका कारण शल्यक्रीय गर्ने समय केही पछि सरेको छ ।
शल्यक्रीय लगायतका निःशुल्क उपचार गर्ने व्यवस्था सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मंसिर २ गते एउटा बस रिजर्भ गरेर आङ खस्ने समस्या भएका बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई अस्पताल पुर्याएको हो ।
पहिलो चरणमा अस्पताल लगिएका १६ जनामध्ये मंसिर ३ गते दुई जना र मंसिर ४ गते छ जनाको आङ खसेको शल्यक्रीय गरिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताए ।
नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका पाठेघर खसेका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई उपचारका लागि अस्पताल लगिएको हो ।
अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलव्ध गराउनेगरी आङ खसेका महिलालाई उपचारमा लगिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
पाठेघर खसेर तेश्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रीया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको हो । पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा ७ जनाले अस्पताल जान अस्वीकार गरेका थिए ।
आङ खसेर शल्यक्रीयमा लगिएकामध्ये अधिकांश उमेर ढल्किएकाहरु छन् । वडा–वडाका स्वास्थ्यचौकीमा गरिएको ‘स्क्रीनिङ’का क्रममा पाठेघर खस्ने समस्यलाई महिलाले लाज र शरम मानेर लुकाउने गरेको पाइएको जनस्वास्थ्य निरिक्षक आचार्य बताउँछन् । “६० वर्ष नाघेकामध्ये अनुमानित ४० प्रतिशत महिलामा आङ खस्ने समस्या छ ।
तर लाज मानेर खुलेर भन्न सक्दैनन् बरु पीडा सहेर बस्न तयार देखिन्छन्,” आचार्यले भने, “स्क्रीनिङका क्रममा एक जना ८१ वर्षको वृद्धाको ४० वर्षकै उमेरमा आङ खसेको पाइयो तर उपचारका लागि जाऔं भन्दा मान्नु भएन । मरिन्छ भनेर डर मान्नु भयो ।”
आङ खस्ने महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिना यता वडा–वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ । अधिकांश महिलाको आङ खस्ने कारण भने एकैखालको देखिएको छ ।
सुत्केरी भएकोबेला गर्हौं भारी बोक्ने, सुत्केरी भएको दुई/तीन दिनदेखि नै घरायसी काममा लाग्ने, धेरै बच्चा जन्माउने, घरैमा प्रशुती गराउने, कलिलो उमेरमा बिवाह गर्ने र कलिलै उमेरमा बच्चा जन्माएको कारण धेरैजसो महिलाको आङ खस्ने समस्या देखिएको आचार्यले बताए ।
हालसम्मको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका आङ खसेका ६२ जनामध्ये ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका थिए । पहिलो र दोश्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै रिङ प्रेसरी राखिएको छ । दोश्रो चरणमा मंसिर ५ गते थप २० जना बिरामीलाई निःशुल्क उपचारमा लगिएको छ । मंसिर ६ गते ४ जना अस्पताल लैजाने तयारी छ ।