बिहिवार, मंसिर ७ २०८०
नेपाल वाइड
खोटाङ, ७ मंसिर । सामुदायीक सेवा प्रतिष्ठान नेपालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आङ खस्ने समस्य भएका महिलाको बर्षदिनसम्म निःशुल्क उपचार गरिदिने भएको छ ।
प्रतिष्ठानले गत मंसिर २ गतेदेखि लागू हुनेगरी आगामी २०८१ मंसिर २ गतेसम्म नगरपालिकाका आङ खस्ने समस्या भएका बिरामीको निःशुल्क उपचारको व्यवस्था गरिदिने भएको हो ।
मंसिर ६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र सामुदायीक सेवा प्रतिष्ठानका निर्देशक महादेव बानीयाँबीच आङ खसेर दर्दनाक जीवन बिताइरहेका महिलालाई द्धिपक्षीय सहकार्यमा शीर मेमोरियल अस्पताल, बनेपा लगेर निःशुल्क उपचारको प्रवन्ध मिलाउने सम्झौता भएको छ ।
नगरपालिकाले ‘स्क्रीनिङ’ गरेर आङ खस्ने समस्या भएका महिलाको पहिचान गरेर अस्पतालसम्म पुर्याउने तथा अस्पतालमा लाग्ने चेकजाँच, शल्यक्रीया, औषधि र खानाको व्यवस्था सामुदायीक सेवा प्रतिष्ठानले गर्ने सम्झौता पत्रमा उल्लेख छ ।
नगरपालिकाबाट आङ खस्ने समस्य भएका ३७ महिलालाई शल्यक्रीयका लागि शीर मेमोरियल अस्पताल पुर्याएको मौकामा नगरपालिका र सामुदायीक सेवा प्रतिष्ठानबीचमा आङ खसेका महिलाको निःशुल्क उपचारका लागि नौ बुँदे सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा नगरपालिकाकातर्फबाट वडा–वडामा पाठेघर खस्ने समस्याको पहिचानका लागि स्क्रीनिङ शिबिर आयोजना गरेर पाठेघर सम्वन्धी समस्या पहिचान गर्ने, अपरेसनका लागि अस्पताल अजाने आउने क्रममा बिरामी र कुरुवालाई लाग्ने दोहोरो यातायात खर्च व्यवस्था गर्ने उल्लेख छ ।
यस्तै, प्रतिष्ठानकातर्फबाट अपरेसन शुल्क, बिरामी भर्ना, ल्याव परिक्षण, औषधि लगायत अस्पतालको सम्पूर्ण खर्च व्यवस्था गर्ने, भर्ना भएका बिरामी र एक जना कुरुवालाई बिहान बेलुकाको खाना वापतको खर्च दिने, आवश्यक प्राविधिक सल्लाह प्रदान गर्ने सम्झौता गरिएको छ । पाठेघर खस्ने समस्य भएका एक जना बिरामीको स्वास्थ्य परिक्षण, अपरेशन, औषधि उपचार, खाना र यातायातमा गरी ७० देखि ७५ हजार खर्च लाग्ने गरेको छ ।
नगरपालिकाले सिफारिस गरेका २० जना स्वास्थ्यकर्मीलाई अस्पतालले पाठेघर खस्ने समस्य पहिचान सम्वन्धी तालिम दिने, आगामी फागुन–चैतमा दिक्तेलमा आवश्यक उपकरण सहितका १५ जना विज्ञा टोली ल्याएर आङ खस्ने समस्याको निःशुल्क चेक जाँच गर्ने, कक्षा ९ देखि कक्षा १२ मा अध्ययनरत किशोरीलाई पाठेघर खस्ने समस्यबाट जोगिन अपनाउनुपर्ने सावधानीको विषयमा प्रशिक्षित गराउने सम्झौता भएको मेयर भट्टराईले बताए ।
गत मंसिर २ गते नगरपालिकाबाट शीर मेमोरियल लगिएका आङ खसेका ३७ जना बिरामीमध्ये १७ जनाको शल्यक्रीया भइसकेको छ । मंसिर ७ गते थप ६ जनाको शल्यक्रीया गर्ने तयारी गरिएको छ । स्क्रीनिङका क्रममा पहिचान भएका ६२ जनामध्ये ३७ जना मात्र अस्पताल जान तयार भएका हुन् ।
कतिपय बिरामीको अपरेसन नगरी थेरापी गर्दा मात्रै रोग निको हुने अस्पतालले जानकारी दिएको छ । कतिपयलाई भने श्वास प्रश्वास, फोक्सो, मुटु, प्रेसर लगायतको समस्या देखिएकाले तत्काल शल्यक्रीया गर्न नसकिएको मेयर भट्टराईले बताए ।