खोटाङ, ७ मंसिर । जिल्ला प्रहरी कार्यालय खोटाङले ३६ स्थानमा आगलागी नियन्त्रण सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । १० स्थानीय तह रहेको जिल्लामा आगलागीका घट्ना अधिक घटेको भन्दै जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमार्फत विभिन्न स्थानमा आगलागी नियन्त्रण सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरिएको हो ।
शैक्षिक संस्था, बजार, टोल तथा चोकमा स्थानीयलाई सहभागी गराएर आगलागी नियन्त्रण सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
आगलागीबाट बच्ने र बचाउने उपायका बारेमा जानकारी दिने सचेतनामुलक कार्यक्रमलाई जारी राखिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले हालसम्म दिक्तेलको रत्नपार्क, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, त्रिबेणीचोक, डाँडाटोल, पञ्रदोबाटो, बानाचुङ, हुलाकीटोल, लेबरगाउँ, वातेमागाउँ, कटुवाल टोल, तालखर्क, चालिसे, याम्खा र नुनथला (गैरीगाउँ) गरी १४ स्थानमा आगलागी न्युनीकरण सम्वन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय हलेसी र सो मातहतका प्रहरीचौकीमार्फत अर्खौले, रिट्ठाबोटे, गैरी, बिजुले, ट्राफिकचोक, कदुवा, च्यास्मीटार, जयरामघाट, कोटगैरी, धितुङ, बनपाला र छापडाँडा गरी १२ स्थानमा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खोटाङबजारमार्फत वडा कार्यालय वाप्लुखाको प्रांगण, याङसोलाटार, सिमपानीबजार र बतासेमा कार्यक्रम गरिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय मात्तिमबिर्ताले मात्तिमबिर्ता र पहारोङमा तथा इलाका प्रहरी कार्यालय बाक्सिलाले बाक्सिला बजार र बातेगाउँमा आगलागी न्युनीकरण सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा आगलागीका ८ वटा घटना घटेका छन् । यस अवधिमा पाँच वटा घर र पाँच गोठ जलेर नष्ट भएको छ । आगलागीका क्रममा भाग्ने क्रममा बाक्सिलाकी १५ वर्षीय सरिता तामाङ घाइते भएकी छन् ।
घाइतेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । आगलागीमा २९ वटा पशु चौपाय र १५ वटा पंक्षीमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । सुक्ष्म अध्ययन गर्दा प्रायः हावा बढी चल्ने र सुक्खा याम हुने फागुनदेखि बैसाखकोबीचमा आगलागीका घटना धेरै हुनेगरेको पाइएको डिएसपी खड्काले बताए ।
बजार क्षेत्रमा भने विद्युत सर्ट हुँदा, ग्याँस सिलिण्डर विष्फोट हुँदा, ग्याँस लिक हुँदा र धुप बाल्ने क्रममा आगलागीका घटना हुने गरेको छ । ग्रामिण बस्तीमा भने टुकी र अगेनोको आगो ननिभाइ छाड्दा आगलागी हुनेगरेको पाइएको प्रहरीले जनाएको छ ।