Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सहकारीको नियम मिचेर ऋण प्रवाह, तमसुक बिनै ऋण

    बचत फिर्ताको माग गर्दै लालुपाते सहकारी बिरुद्ध २६५ बचतकर्ताले दिए उजुरी

    बचत फिर्ताको माग गर्दै लालुपाते सहकारी बिरुद्ध २६५ बचतकर्ताले दिए उजुरी

    सहकारीबाट ५९ वटा खातामा ४ करोड ४७ लाख ६ हजार ९६७ रुपैयाँ ऋण प्रवाह

    • शुक्रवार, मंसिर ८ २०८०

    • दमन राई/सुर्य तामाङ


    बचत फिर्ताको माग गर्दै लालुपाते सहकारी बिरुद्ध २६५ बचतकर्ताले दिए उजुरी
    लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको कार्यालय । तस्बीरहरुः दमन राई

    खोटाङ, ८ मंसिर । खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका २६५ बचतकर्ताले बचत फिर्ताका लागि उजुरी दिएका छन् । सहकारीको बचत अपचलन भएको बिषयमा सञ्चालक समितिका पदाधिकारी सहित नौ जनालाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले उजुरी दिन आव्हान गरेपछि २६५ बचतकर्ताले बचत फिर्ताका लागि उजुरी दिएका हुन् ।

    आर्थिक अपचलनका कारण सहकारीको लगानी डुबेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गर्नेक्रममा उजुरी दिन आव्हान गर्दा मंसिर ७ गतेसम्ममा २६५ बचतकर्ताले ४ करोड ४१ लाख २ हजार ७७० रुपैयाँ बिगो माग दाबी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले बताए । बचत फिर्ताका लागि निबेदन दिन छुटेका बचतकर्ताले पछि पनि उजरी दिन सक्नेछन् ।

    लगानी फिर्ताका लागि बचतकर्ताले दिएको माग दावी सहितको मिसिललाई प्रहरीले केही दिनभित्रै सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी गरेको छ । बचतकर्ताले ८०० देखि ५५ लाखसम्म बचत फिर्ताका लागि निबेदन दिएका छन् । बचतकर्ताको माग दावी सहितको मिसिल सरकारी वकिलको कार्यालय पुगेपछि सरकारी वकिलकै कार्यालयमार्फत जिल्ला अदालतमा अभियोगपत्र पेश हुने जनाइएको छ ।

    २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष अनिल जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो ।

    उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ बैसाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ ।

    सयौं बचतकर्ताको लगानी डुबेको विषयमा सहकारीको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरेको थियो ।

    यस्तै, सहकारीका अध्यक्ष जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठलाई गत असोज १३ गते तथा तत्कालिन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरिएको थियो । आफ्नो बचत डुबाइदिएको भन्दै बचतकर्ताले २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौं ऋण लगेको तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदा पौडेललाई गत कात्तिक १५ गते चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सहकारीको नियम मिचेर ऋण प्रवाह, तमसुक बिनै ऋण

    प्रहरीका अनुसार सहकारीबाट ५९ वटा खातामा ४ करोड ४७ लाख ६ हजार ९६७ रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाखसम्म ऋण दिइएको देखिएको छ । त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको छ । चार जनालाई तमसुक बिनै ऋण दिएको पाइएको छ ।

    सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी संकटमा फसेको देखिएको प्रहरी निरिक्षक कार्कीले बताए । सहकारीको निक्षेप ४ करोड ४७ लाख ५७ हजार २२१, शेयर पुँजी ५१ लाख १४ हजार ७८१, जगेडा कोषमा १९ लाख ५८ हजार ४९२ र संस्थागत कोषमा २४ लाख ८६ हजार ५६४ रुपैयाँ देखिन्छ । यस्तै, ४ करोड ९० लाख ९७ हजार ३९३ रुपैयाँ तिर्नु पर्ने देखिएको छ । वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ अवस्था भने नदेखिएको प्रहरी निरिक्षक कार्कीले बताए ।

    बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणवद्ध आन्दोलनमा छन् । डुबेको सावाँ र व्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दैआएका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने असफल प्रयास गरेको थियो ।

    पाँच जनाले फिर्ता गरे ऋण

    लालुपाते सहकारी संकटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जनाले ऋण फिर्ता गरेका छन् । कमल गिरीले १० लाख, निकिता राईले २ लाख, नवराज थापाले १ लाख ५० हजार, राजन शैंजूले १ लाख ३५ हजार र इन्द्र श्रेष्ठले ३१ हजार ऋण फिर्ता गरेको प्रहरी निरिक्षक कार्कीले बताए ।

    सहकारीको जग्गा व्यक्तिको नाममा

    सहकारीको नाममा हलेसीमा ४८ लाखमा खरिद गरिएको ६ रोपनी ३ आना १ पैसा १ दाम (दुई कित्ता) जग्गा अध्यक्ष जोशीको भाई सुनिलको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ ।
    तत्कालिन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ ।

    सम्बन्धित समाचार