Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्मोत्सव मनाउने फरक शैलीः १० वर्ष पुग्दा १० हजार सहयोग

    जन्मोत्सव मनाउने फरक शैलीः १० वर्ष पुग्दा १० हजार सहयोग


    • शनिवार, मंसिर ९ २०८०

    • नेपाल वाइड


    जन्मोत्सव मनाउने फरक शैलीः १० वर्ष पुग्दा १० हजार सहयोग
    समृद्ध राई र जन्मदिनका अबशरमा लडेर घाइते भएका किरण राईलाई १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुहदै मायाराजाहोंछा प्रतिष्ठानका अध्यक्ष डिल्ली चाम्लिङलगायत ।

    खोटाङ, ९ मंसिर । ‘केक’ काटिएन । ‘क्यान्डल’ निभाइएन । ‘बर्थ डे सङ’ गाइएन । ताली बजाइएन । चक्लेट बाँडिएन । आफन्त बोलाएर खानपिन पनि गराइएन । त्यति नगर्दा पनि हर्षोल्लाससाथ जन्मोत्सव मनाइयो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, साल्तेम्मा निवासी समृद्ध राईले परम्परागतभन्दा फरक प्रकृतिले दसौं जन्मोत्सव मनाए ।

    चेल्सी वल्र्ड स्कुल जोरपाटी, काठमाडौंमा पाँच कक्षामा अध्ययनरत राईले घाँस झार्न रुख चढेका बेला लडेर घाइते भएका दुर्छिम, डाँडाटोलका किरण राईलाई १० हजार रुपैयाँ सहयोग गरेर शनिबार जन्मोत्सव मनाएका छन् ।

    मायाराजाहोंछा प्रतिष्ठानका अध्यक्ष डिल्ली चाम्लिङले समृद्धले काठमाडौंबाट पठाएको आर्थिक सहयोग किरण राईलाई हस्तान्तरण गरे । ‘समृद्ध राईले हाकेको, ताकेको पूरा होस् । चालेको पाइलामा कहिल्यै ठेस नलागोस्,’ अध्यक्ष राईले भने, ‘शारीरिक रूपमा अशक्त किरण राईको स्वास्थ्यलाभको कामना गर्छु ।’ घाँस झार्न खन्युको रुख चढ्दै गर्दा किरण राई लडेका थिए ।

    २०७९ फागुन १० गते लडेका राईको मेरुदण्डको शल्यक्रिया गरिएको थियो । आर्थिक सहयोग लिएपछि किरणले समृद्धलाई धन्यवाद र जन्मदिनको शुभकामना दिएका थिए । समृद्ध राईले मनाउँदै आएको जन्मोत्सवलाई तीन तरिकाले अथ्र्याउन सकिने मुन्दुम अध्येता भोगीराज चाम्लिङ बताउँछन् । ‘सर्वप्रथम जन्मोत्सवलाई समेत सामाजिक उत्तरदायित्वसँग जोडेको देखिन्छ ।

    हामीले मनाउने जन्मोत्सवलाई निजीमात्रै नभएर, सामाजिक हितमा सोच्नुपर्छ भनेर सिकाउँछ,’ चाम्लिङको भनाइ छ, ‘मै खाऊँ, मै लाऊँ, मोजमस्ती मै गरूँ भन्ने पुँजीवादी अर्थात् व्यक्तिकेन्द्रित धारणालाई अलिकति फराकिलो तरिकाले सोच्न बाध्य बनाएको छ ।’ सामाजिक लाभ र हितका निम्ति अर्थात् ‘आफूमात्रै गरिखाऊँभन्दा पनि सबैका हितका लागि सामूहिक प्रयत्न गरूँ’ भन्ने शिक्षा दिएको छ । मुन्दुम अध्येता चाम्लिङले थपे, ‘कमाउने कुरामात्रै होइन, सामाजिक भलाइका लागि वितरण गर्नु पनि महत्वपूर्ण हो ।’

    बालबालिका भनेको काँचो माटो हुन् । ‘उनीहरूलाई जे सिकाइन्छ, त्यही अवलम्बन गर्छन्,’ उनले प्रस्ट्याए, ‘जन्मोत्सवमा गरिने सानोतिनो सहयोगबाट पनि छोराछोरीलाई मार्गदर्शन गराउन सकिन्छ भन्ने समृद्ध राईका आमाबाबुले दिन खोजेको गतिलो शिक्षा पनि हो ।’ समृद्धले सालिन्दा मनाउँदै आएको फरक प्रकृतिको जन्मोत्सव नजिकबाट नियाल्नेले भन्ने गरेका छन्, ‘यसरी मनाइने जन्मोत्सव उदाहरणीय, सराहनीय, अनुकरणीय र अनुशरणीय छ ।’ समृद्ध राईले कक्षा १ देखि सालिन्दा आर्थिक सहयोग गर्दै आएका छन् ।

    राईले जन्मदिनकै अवसर पारेर चितवनको टाँडीमा रहेको ‘सानोघर’ लाई ७ हजार (२०७६), ‘ज्योतिका साथीहरू’ जालपा खोटाङलाई पनि ७ हजार (२०७७), जीपी कोइराला मेमोरियल क्याम्पस काठमाडौंका सहायक क्याम्पस प्रमुख मोहनराज राईको उपचार सहयोगार्थ ८ हजार
    (२०७८) र मुन्दुम महाज्ञान केन्द्र (चाबहिल, काठमाडौं) लाई ९ हजार (२०७९) सहयोग गरिसकेका छन् ।

    चाडबाडमा पाएको दक्षिणा, कतिपयले माया गरेर चक्लेट, बिस्कुट खानू है भन्दै दिएको पैसा ‘समृद्ध राई’ नामक खुत्रेकेमा संकलन गरिन्छ । सालिन्दा जन्मोत्सवको अघिल्लो दिन खुत्रेके फुटाइन्छ । ‘बाँडेर खानुपर्छ है भन्ने सवक सिकाउन जन्मोत्सवमा सहयोग गर्न सिकाइरहेका छौं,’ समृद्धकी आमा रिंकु राईले सुनाइन्, ‘विगतका वर्षहरूमा बर्थ डे मनाउँदा केक काटिन्थ्यो, आफन्त, इष्टमित्र र छिमेकी बोलाएर खानपिन गराइन्थ्यो । खानपिन गर्ने/गराउने खर्च कटौती गरेर समृद्धको बर्थ डेका दिन सामाजिक काममा लगाउने पारिवारिक सल्लाह ग¥यौं । पाँच वर्षदेखि यस्तो अभ्यास थालेका हौं ।’ पञ्चसेर राई (समृद्धका हजुरबुवा) को गत भदौमा निधन भएकाले पनि जन्मोत्सवमा खाने, खुवाउने र रमाइलो गर्ने कार्यक्रम नगरिएको हो ।

    सम्बन्धित समाचार