Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलबजारका पोलमा असरल्ल झुण्ड्याइएका तार व्यवस्थापन सुरु

    दिक्तेलबजारका पोलमा असरल्ल झुण्ड्याइएका तार व्यवस्थापन सुरु


    • मंगलवार, मंसिर १२ २०८०

    • नेपाल वाइड


    दिक्तेलबजारका पोलमा असरल्ल झुण्ड्याइएका तार व्यवस्थापन सुरु
    दिक्तेलबजारक्षेत्रको अव्यवस्थित तार व्यवस्थापन गरे÷नगरेको विषयमा अनुगमन गर्नुहुदै मेयर तीर्थराज भट्टराई, डिएसपी पुरुषोत्तम खड्का, वडाध्यक्ष नवराज राई, दिनेश घिमिरे, विद्युत, टेलिकम, टेकमाइन्ड र सुविसुका प्रतिनिधि टोली ।

    खोटाङ, १२ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारका पोलमा यत्रतत्र झुण्ड्याएर राखिएका तारको व्यवस्थापन सुरु गरेको छ । दिक्तेलबजारमा विद्युत, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक टेकमाइन्ड र सुबिसुले अशोभनीय तरिकाले पोलमा गुजुल्टो पारेर राखेको तारलाई व्यवस्थापन सुरु गरेको हो ।

    बजार क्षेत्र तथा सार्वजनिक बाटोमा जताततै तार झुण्डिएर अशोभनीय देखिएको तथा करेन्ट लागेर दुर्घटना हुन सक्ने खतरा बढेको भन्दै नगरपालिकाले १५ दिनभित्र तार व्यवस्थापन गर्न विद्युत, टेलिकम, इन्टरनेट सेवा प्रदायक टेकमाइन्ड र सुबिसुलाई गत कात्तिक ३० गते पत्राचार गरेको थियो ।

    अनावश्यक तारका कारण बजार कुरुप देखिएको तथा आगलागी र अन्य दुर्घटना हुने देखिएकोले असरल्ल झुण्ड्याइएका तारलाई व्यवस्थित तरिकाले राख्ने पहल सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    नगरपालिकाले पठाएको पत्र अनुसार टेलिकमले मात्र अव्यवस्थित तारको व्यवस्थापन सुरु गरेको छ । मंसिर ९ गते पत्र पठाउँदै टेलिकमले दिक्तेलबजारका अनावश्यक तार हटाइसकेको र छुटफुट भएका अनावश्यक तार हटाउन १० दिनको समय माग गरेको छ ।

    टेलिकमले भानुचोकदेखि त्रिबेणीचोकसम्मको तार व्यवस्थापन गरेको पाइएको मेयर भट्टराईले जानकारी दिए । तर टेलिकम, टेकमाइन्ड र सुबिसुले हालसम्म काम गरे/नगरेको जवाफ नगरपालिकालाई दिएको छैन ।

    अव्यवस्थित तार व्यवस्थापन गरे/नगरेको विषयमा सोमबार मेयर भट्टराई, डिएसपी पुरुषोत्तम खड्का, वडाध्यक्ष नवराज राई, दिनेश घिमिरे, विद्युत, टेलिकम, टेकमाइन्ड र सुविसुका प्रतिनिधि सम्मिलित टोलीले दिक्तेलको रत्नपार्कदेखि हाटडाँडासम्म अनुगमन गरेको छ ।

    विद्युतले तार व्यवस्थापन गर्नुपर्ने नदेखिए पनि दिक्तेलबजारका केही पोलहरु सार्नुपर्ने देखिएको छ । ‘हाम्रो रहर, सुन्दर नगर अभियान अन्तरगत बजारलाई व्यवस्थित गर्न र सुन्दर बनाउने उद्धेश्यले बेवारिसे अवस्थामा झुण्डिएका तार व्यवस्थापन गर्न सुरु गरेका हौँ,’ भट्टराईले भने, ‘टेलिकमले काम सुरु गरिसकेको छ । इन्टरनेट सेवा प्रदायकले तार व्यवस्थापनको काम सुरु गरेकै छैन । भोलीबाटै काम सुरु गर्ने जवाफ आएको छ ।’ दिक्तेलबजारमा स्वयं नगरपालिकाले जडान गरेको सिसि क्यामेराको तार समेत व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

    सम्बन्धित समाचार