Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    कक्षामा एक जना मात्रै विद्यार्थी !

    कक्षामा एक जना मात्रै विद्यार्थी !


    • मंगलवार, मंसिर १२ २०८०

    • नेपाल वाइड


    कक्षामा एक जना मात्रै विद्यार्थी !
    पञ्चकन्य आधारभुत विद्यालय, खार्पा, खार्पाको कक्षा ५ का विद्यार्थी । तस्बीरः दमन राई

    खोटाङ, १२ मंसिर । सामुदायीक विद्यालयमा विद्यार्थी संख्य घट्दो छ । अभिभावकको आर्थिक अवस्थामा सुधार, बसाई सराई, घट्दो जन्मदर लगायतका कारण विद्यार्थीको अभाव हुँदा कतिपय सामुदायीक विद्यालयलाई संकट पर्न थालेको छ ।

    खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पा रुभुङको पञ्चकन्य आधारभुत विद्यालय त्यसकै एउटा उदाहरण हुन् । २०३१ सालमा स्थापना गरिएको पञ्चकन्य आधारभुत विद्यालयमा कुल १५ विद्यार्थी मात्र अध्ययनरत छन् । प्रअ पुष्पराज राईका अनुसार कक्षा १ मा ६ जना, कक्षा २ मा १ जना, कक्षा ३ मा ४ जना, कक्षा ४ मा १ जना र कक्षा ५ मा ३ जना विद्यार्थी अध्ययनरत छन् ।

    पञ्चकन्य आधारभुत विद्यालयको कक्षा ४ मा कुनै पनि विद्यार्थी थिएनन् । एक जना विद्यार्थी आफन्तकोमा बसेर भर्ना भएका कारण कक्षा ४ विद्यार्थी बिहिन हुनबाट जोगिएको प्रअ राई बताउँछन् । पञ्चकन्य आधारभुत विद्यालयमा सुविधा सम्पन्न भवनहरु बनेका छन् । सुविधा सम्पन्न धारा तथा शौचालय बनाइएका छन् ।

    विद्यालयलाई कच्ची सडकले छोएको छ तर विद्यालयले विद्यार्थी अभाव झेलिरहेका छन् । विद्यार्थी अन्यत्र गएको नभै गाउँमा बालबच्चा जन्माउने दरमा कमी आएका कारण विद्यार्थी अभाव भएको प्रअ राईले बताए ।

    44.jpg

    खार्पा रुभुङस्थित पञ्चकन्य आधारभुत विद्यालय ।

    “एकादुईले शहर बजारमा लगेर बालबच्चा पढाइरहेका छन्, बाँकी बालबच्चा यहीँ छन् । बच्चा अरुतिर लगेको नभै गाउँमा बच्चा नभएकै कारण विद्यार्थी अभाव भएको हो,” प्रअ राईले भने, “स्वास्थ्यले बालबच्चा थोरै जन्माउ भन्छ, शिक्षाले धेरै विद्यार्थी खोज्छ । स्वास्थ्य र शिक्षाको नारा आपसमा बाझिइरहेको छ । पछिल्लो समय दम्पत्तीले थोरै सन्तान जन्माउन थालेकै कारण विद्यार्थी अभाव भएको हो ।”

    पञ्चकन्य आधारभुत विद्यालयमा दुई वटा शिक्षक दरबन्दी छन् । गाउँपालिकाले मासिक ७ हजारमा एक जना शिक्षिका राखिदिएको छ । उनीहरुसँग एक जना कर्मचारी कार्यरत छन् । विद्यार्थी संख्या कम भएको भन्दै विद्यालय ‘मर्ज’ गर्ने अवस्था पनि छैन ।

    किनकी भौगोलिक रुपमा पञ्चकन्य आधारभुत विद्यालय रहेको रुभुङमा आसपासका गाउँबाट आवतजावत गर्न कठिन छ । छिमेकी गाउँ जान आउन भीरपहरा र जंगल चाहार्नुपर्ने अवस्था भएकाले सो गाउँका बालबच्चालाई अन्यत्रका विद्यालय पठाउने अवस्था छैन ।

    बैदेसिक रोजगारीका कारण आर्थिक अवस्था मजबुत बनाएर बालबच्चा सदरमुकाम वा शहर बजार लैजाने, दुःखका कारण वा सुविधा खोज्दै बसाई सर्ने दर बढेका कारण गाउँका सामुदायी विद्यालयमा विद्यार्थी घट्दैगएको हो ।

    पछिल्लो समय ढिलो विवाह गर्ने बढेका कारण पनि बालबच्चा कम भएको हो । २० वर्ष नपुग्दै विवाह गर्ने परिपार्टी न्युन हुँदै जाँदा हाल ३०/३५ वर्ष पुग्दासम्म विवाह नगरी बस्ने युवाको संख्या धेरै देखिन थालेका छन् । पैसा कमाउन बिदेश जाने र त्यसपछि मात्र विवाह गर्ने युवाका कारण पनि गाउँमा बालबच्चा कम भएको हो । अर्कातर्फ बढीमा दुई जना मात्रै बच्चा जन्माउने अभियानले पनि विद्यार्थी संख्या कम हुँदैगएको सोही विद्यालयका शिक्षक ओमबहादुर राई बताउँछन् ।

    सम्बन्धित समाचार