बिहिवार, मंसिर १४ २०८०
नेपाल वाइड
खोटाङ, १४ मंसिर । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डे दम्कुस्थित कालिका आधारभुत बिद्यालयले जन्मदिनमा विद्यालयलाई फूल सहितको गमला उपहार दिने कार्यक्रम सुरु गरेको छ ।
विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीले गत बैसाखदेखि आ–आफ्नो जन्मदिनको अवशरमा विद्यालयलाई उपहार स्वरुप फूलसहितको गमला दिने कार्यक्रम सुरु गरिएको हो । विद्यालयको सौन्दर्यकरणका लागि ‘जन्मदिनमा फूल सहितको गमला उपहार’ कार्यक्रम सुरु गरिएको प्रअ टिकाराम राईले बताए ।
शिक्षक तथा विद्यार्थीको नाम र जन्म मिति उल्लेख गरिएको फूल सहितको गमला विद्यालयको पेटीमा लहर मिलाएर राख्ने गरिएको छ । जन्मदिनको नाममा मिठाई र चकलेटमा हुने खर्चलाई गमला खरिद गर्ने र फूलको बिरुवा संकलन गरेर विद्यालयलाई उपहार दिनमा उपयोग गर्न विव्यासको निर्णय अनुसार ‘जन्मदिनमा फूल सहितको गमला उपहार’ कार्यक्रम सुरु गरिएको हो ।
कुभिन्डे दम्कुस्थित कालिका आधारभुत बिद्यालय ।
‘जन्मदिनमा अन्य शिर्षकमा हुने खर्चलाई सदुपयोग गर्नका लागि जन्मदिनमा विद्यालयलाई फूल सहितको गमला उपहार दिने कार्यक्रम ल्याइएको हो,’ प्रअ राईले भने, ‘यो कार्यक्रम सुरु गरेपछि विद्यार्थीमा कहिले मेरो जन्मदिन आउँछ र फूल सहितको गमला ल्याउँ भनेर चासो राख्ने गरेको पाइएको छ ।’
२०३६ सालमा स्थापना भएको कालिका आधारभुत बिद्यालयमा हाल ५८ विद्यार्थी अध्यायनरत छन् । विद्यार्थीले इको हिमाल नामक संस्थाको सहयोगमा विद्यालय नजिकै तरकारी खेती लगाएका छन् ।
मुला, बन्दाकोभी, फुलकोभी, प्याज लगायतको बीउ र बेर्ना पाएका विद्यार्थीले रोप्ने, मलजल गर्ने, गोडमेल गर्ने र बिक्री गर्ने गरेका छन् । गत भदौदेखि तरकारी खेती लगाएका विद्यार्थीले तीन हजारभन्दा बढीको तरकारी बिक्री गरिसकेका छन् ।
तरकारी खेती गर्नेक्रममा विद्यार्थीको उत्साहजनक सहभागीता रहने गरेको छ । घरमा काम गर्न अल्छी गर्ने विद्यार्थी समेत विद्यालयको तरकारी खेतीको काममा अग्रसर हुने गरेको प्रअ राईले बताए । विद्यालयले इको हिमालकै सहयोगमा दुई बेड भएको किशोरी आराम कक्ष स्थापना गरेको छ ।

तरकारी खेतीको काम गर्दै कालिका आधारभुत बिद्यालयका छात्रछात्रा ।