Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    आफ्नै पहलमा सडक बत्ती

    ‘आफ्नो गाउँ आफै बनाउँदै’ दम्कु र रुभुङवासी

    ‘आफ्नो गाउँ आफै बनाउँदै’ दम्कु र रुभुङवासी

    तिहार बिशेष कार्यक्रम गरेर जम्मा भएको रकमबाट गत वर्ष रुभुङमा ३५ वटा गोरेटो बत्ती बालिएको थियो ।

    • आइतवार, मंसिर १७ २०८०

    • दमन राई


    ‘आफ्नो गाउँ आफै बनाउँदै’ दम्कु र रुभुङवासी
    खोटाङको कुभिन्डे दम्कुस्थित राईटोल ।

    खोटाङ, १७ मंसिर । सानातिना योजनाका लागि सरकारको मुख ताक्ने प्रवृत्ति मौलाएको छ । तर खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डे दम्कु (राईटोल)का स्थानीय ‘आफ्नो गाउँ आफै बनाउने’ अभियानमा जुटेका छन् ।

    इन्द्रेणी सेवा समाजमा आवद्ध २४ घर स्थानीयले मिलेर गाउँमा पार्टी प्यालेस बनाएका छन् । हुर्लुङ–दम्कु–कुभिन्डे सडक आसपासमा सडक बत्ती बालेका छन् । स्थानीयले वर्षमा एक÷दुई पटक श्रमदान गरेरै गाउँको कच्ची सडक नियमित मर्मत गर्छन् । २०५८ मा इन्द्रेणी सेवा समाज स्थापना गरेर स्थानीयले सामाजिक काम गर्दैआएका छन् ।

    २०७८ बैसाख १३ गते उद्घाटन गरिएको एल आकारको दुई तले पार्टी प्यालेसलाई हाल बिहे, छेवर, गुन्युचोली र जन्मदिन मनाउन उपयोग गर्ने गरिएको छ । बिहे, छेवर र गुन्युचोलीको रित घरमा गरिन्छ तर बाँकी भोजभतेर, नाचगान लगायतका कार्य पार्टी प्यालेसमा हुन्छ । झरी, वर्षा वा हावाहुरीले कुनै फरक पार्दैन । भेला, बैठक र छलफल समेत पार्टी प्यालेसमै गर्ने गरिएको छ ।

    13.jpg
    कुभिन्डे दम्कुको राईटोलमा स्थानीयले बनाएको पार्टी प्यालेस ।

    दम्कु घर भइ काठमाडौं बस्ने आफन्तले पार्टी प्यालेसमा बच्चाको छेवर गरेका थिए । त्यही पार्टी प्यालेसमा पुगेकोबेला गाउँमा पनि पार्टी प्यालेस बनाउने योजना बनेको इन्द्रेणी सेवा समाजका सचिव एबं कालिका आधारभुत विद्यालयका प्रअ टिकाराम राई बताउँछन् । सरसल्लाह गरेर २०७७ सालदेखि पार्टी प्यालेसको काम अघि बढाइएको थियो ।

    “कोभिड–१९ को महामारी अघि हाम्रै गाउँका आफन्तले काठमाडौंमा पार्टी प्यालेसमा बच्चाको छेवर गरे । हामी पनि पुग्यौं । त्यहीबाट गाउँमा पनि यस्तै संरचना बनाउन सकिन्छ/सकिन्न भन्ने सोच आयो,” राईले भने, “गाउँमा फर्किएपछि समुहमा छलफल गर्‍यौं । बनाऔं भन्ने निर्णय गरेर काम अघि बढाइएको हो ।”

    15.jpg
    कुभिन्डे दम्कुका स्थानीयले राईटोलमा बनाएको पार्टी प्यालेसमा भण्डार गरिएको भाँडाकुँडा ।

    पार्टी प्यालेस बनाउन राईटोलका २४ परिवारले प्रतिघर ११५ दिन श्रमदान गरे । टोलमै ४ लाख ८५ हजार १९२ रुपैयाँ चन्दा उठाइए । देशविदेशमा रहेका आफन्तबाट ८ लाख २४ हजार ७२२ रुपैयाँ सहयोग जुटाइए । आफै भवन बनाउन अघि सरेका दम्कुबासीको काम हेरेर गाउँपालिकाले ३ लाख दियो ।

    अन्ततः १६ लाख ९ हजार ९१४ रुपैयाँमा हुर्लुङ–दम्कु–कुभिन्डे सडक खण्डको राईटोलमा पार्टी प्यालेस तयार भएको हो । पार्टी प्यालेस बनाउनका लागि स्थानीय कुमारी राई, सोममायाँ राई र असन राईले डेढ रोपनी जग्गा निःशुल्क दिएका छन् । पार्टी प्यालेसको माथिल्लो तलामा समुहले जोडेको भाँडाकुँडा भण्डार गरिएको छ । भवनको माथिल्ले तलालाई पाहुना राख्ने लजका रुपमा उपयोग गर्ने समुहको योजना छ ।

    कोभिड–१९ को महामारीले बिश्व आक्रान्त थियो । शहरबजारका सबै मान्छेहरु आफ्नै गाउँघरमा फर्किएका थिए । गाउँमा बाक्लो चहलपहल थियो । महामारीअघि पार्टी प्यालेसको जग मात्र खनिएको थियो ।

    कोभिडका कारण गाउँमा भेला भएका स्थानीयलाई सामाजिक दुरी कायम गरेर पार्टी प्यालेस बनाउने काममा उपयोग गरिए । जनशक्ती भेला भएको मौकालाई अवशरका रुपमा प्रयोग गर्दा श्रमदान जुटाउन सम्भव भएको थियो । पार्टी प्यालेस सँगै शौचालय, किचन र धारा पनि बनाइएको छ ।

    आफ्नै पहलमा सडक बत्ती

    दम्कुबासीले पार्टी प्यालेससँगै हुर्लुङ–दम्कु–कुभिन्डे सडक आसपासमा सडक बत्ती राख्न सुरु गरे । सडक आसपासमा प्रतिघर पाँच वटाका दरले सडक बत्ती राखिएको छ । हाल ११ वाटका ५६ वटा सडक बत्ती बालिसकिएको छ । सुरुमा स्थानीयले बाँसको पोल बनाएर सडक बत्ती बालेका थिए ।

    67.jpg
    कुभिन्डे दम्कु राईटोलमा स्थानीयले राखेको सडक बत्ती ।

    बाँसको पोल बनाएर सडक बत्ती बाल्न अग्रसर भएको देखेर दम्कुबासीलाई गत वर्ष वडा कार्यालयले एक लाख ७५ हजार बजेट दिएको इन्द्रेणी सेवा समाजका अध्यक्ष मनबहादुर राई बताउँछन् । वडाले बजेट दिएपछि बाँसको पोल हटाएर सिमेन्टेड पिलर ठड्याएर सडक बत्ती राखिएको छ । पिलर ठड्याउने क्रममा अपुग रकम गाउँमै उठाइएको थियो ।

    देबिथानबाट सुरु गरिएको सडक बत्ती राख्ने अभियान कालिका आधारभुत विद्यालयसम्म पुर्‍याउने लक्ष्य राखिएको छ । विद्युत महसुल सम्वन्धित घरले नै तिर्ने गरेका छन् ।

    रातमा समयमा दम्कु शहरजस्तै झिलिमिली देखिन्छ । छिमेकी वडाका कतिपय सडक बत्ती हेर्न आउने गरेका छन् । सडक बत्तीका कारण रातका समयमा आवत जावत गर्न सहज भएको वडासदस्य बिशाल राई बताउँछन् ।

    रुभुङमा गोरेटो बाटोमा पनि विजुली बत्ती

    यस्तै, रावाबेँसी गाउँपालिका–२ खार्पा रुभुङका स्थानीयले पनि गोरेटो बाटोमा बत्ती जडान गरेका छन् । स्थानीय पालुवा युवा साँस्कृतिक परिवारले तिहार बिशेष कार्यक्रम गरेर जम्मा भएको रकमबाट गत वर्ष रुभुङमा ३५ वटा गोरेटो बत्ती बालिएको थियो ।

    गत वर्ष तिहार बिशेष कार्यक्रमबाट ५३ हजार संकलन भएको थियो । खर्च कटाएर बाँकी रहेको रकमबाट बल्व र तार खरिद गरेर लेकबेँसी गर्ने ठाडो बाटोमा बाँसको पोलमा बत्ती बालिएको परिवारका पुर्वअध्यक्ष उदिम चाम्लिङ राई बताउँछन् ।

    सोही रकमबाट एक थान हिल ट्यांक खरिद गरेर गाउँकै सुम्निमा सेवा समाजलाई हस्तान्तरण गरिएको थियो । हाल छक्पा गाउँबाट ओखरबोटेसम्म बत्ती बालिएको छ ।

    86.jpg

    गोरेटो बाटोमा बत्ती राखिएको खोटाङ, खार्पाको रुभुङ गाउँ ।

    यस वर्षको तिहार बिशेष कार्यक्रमबाट संकलन भएको ५५ हजार ५५५ बाट पातल र कुवापानी क्षेत्रमा घरबाट तार टाँगेर २० वटा बत्ती जडान गर्ने तयारी गरिएको राई बताउँछन् ।

    यसका लागि बल्व र तार ल्याइसकिएको छ । त्यहीबाट सुम्निमा सेवा समाजलाई दिनेगरी २४ हजारमा मसला पिस्ने मिक्स्चर खरिद गरिएको छ । त्यस्तै १५ हजारमा चार माने एकजोडी र दुई माने दुई जोडी कठुवा खरिद गरेर समाजलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । “यस्ता स–साना कामका लागि बजेट नै चाहिन्छ भन्ने हुन्न । आफै गर्दा हुन्छ,” उनले भने, “आफ्नो गाउँठाउँको लागि आफैले गर्ने हो । नत्र कसरी गाउँ परिवर्तन हुन्छ ?”

    सम्बन्धित समाचार