आइतवार, मंसिर १७ २०८०
दमन राई
खोटाङ, १७ मंसिर । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा भालुढुंगाकी ७ वर्षीय सनिता माझी कक्षा २ पढ्नका लागि ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको भोजेस्थित कालिका आधारभुत विद्यालय पुग्छिन् ।
विद्यालय खुल्ने दिन सनिता झोलामा कितावकापी बोकेर साथीहरुसँग झोलुङ्गे पुलबाट दुधकोसी तरेर विद्यालय पुग्छिन् । यस्तै, कक्षा १ मा अध्ययनरत सोही ठाउँका तेन्जिङ माझी पनि दुधकोसी तरेर कालिका आधारभुत विद्यालय जाने आउने गरेका छन् ।
१६ घर माझी र एक श्रेष्ठ परिवारको बसोबास रहेको भालुढुंगा आसपासमा विद्यालय छैनन् । त्यही कारण आफ्नो बालबच्चालाई पढ्नका लागि दुधकोसी तरेर भोजे पठाउने गरिएको स्थानीय हर्कबहादुर माझी बताउँछन् ।
१६ घरमध्ये तीन घर माझी समुदायको बसोबास नजिकैको खजेरीटारमा छ । हाल भालुढुंगाका तीन जना र खजेरीटारका एक जना विद्यार्थी कालिका आधारभुत बिद्यालयमा अध्ययनरत छन् । उनीहरु गाउँबाट दुधकोसी किनारै किनार उँदो हिँडेर पुल पुगेपछि पारी तरेर ३० देखि ४५ मिनेटमा विद्यालय पुग्छन् ।

खोटाङको लामीडाँडास्थित भालुढुंगाको माझी बस्ती ।
दुधकोसी किनारमा रहेको भालुढुंगामा एउटा बालबिकास केन्द्र सञ्चालनमा छन् । बाल बिकास केन्द्रमा कार्यरत शिक्षिका इन्दिरा माझीका अनुसार बाल बिकास केन्द्रमा ५ जना विद्यार्थी अध्ययनरत छन् ।
बालबिकास केन्द्रको सिकाइ पार गरेका विद्यार्थी कक्षा १ वा सोभन्दा माथिल्लो कक्षा अध्ययनका लागि दुधकोसी पारीको स्कुल पुग्न वाध्य छन् । कालिका आधारभुत बिद्यालयमा पनि कक्षा ३ सम्म मात्र पढाइ हुन्छ ।
त्यसपछि माबि तहको कक्षा पढ्नका लागि भदौरेकै छात्र प्रगती माबि वा लामीडाँडाकै कालिका आधारभुत विद्यालय तिर्पा र बिश्वज्योती माबि लामीडाँडा पुग्नुपर्छ । मावि तहको अध्ययनका लागि भालुढुंगाका माझी विद्यार्थी घण्टौं उकालो हिँड्नु पर्ने वाध्यत छ ।
दुधकोसीमा भोजे जोड्ने झोलुङ्गे पुल बनेपछि भालुढुंगाका विद्यार्थी कालिका आधारभुत विद्यालय पुगेर पढ्न थालेको लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगर बताउँछन् ।
भौगोलिक रुपमा अनकन्टार त्यसमाथि सानो गाउँ भन्दै भालुढुंगामा हालसम्म विद्यालय स्थापना नगरिएको हो । भालुढुंगाका आर्थिक रुपमा सवल कतिपय माझी समुदायले बालबच्चालाई धरान, काठमाडौं लगायतका शहरमा लगेर पढाइरहेका छन् ।
भालुढुंगाको माझी बस्तीमा रहेको बाल बिकास केन्द्रको भवन ।
गाउँमै दुःखजिलो गर्दै बसिरहेका परिवारले जसोतसो सामुदायीक विद्यालयमै बालबच्चा पढाइरहेका छन् । नसक्ने परिवारका कतिपय विद्यार्थीले माबि तहको पढाइ पुरा नगरी विद्यालय छाड्ने गरेको वडाध्यक्ष मगर बताउँछन् । “सक्ने दुधकोसी पारी जान्छन्, अलि सक्ने शहर बजार जान्छन्,” मगरले भने, “नसक्नेहरुले पढाइ नै छाड्छन् ।”
दुधकोसी किनारमा रहेको लामीडाँडाकै रभुवाँ र खोरियामा ६४ माझी परिवारको बसोबास छ । उनीहरुका बालबच्चा भने बिश्वज्योती लामीडाँडामा पढिरहेका छन् । ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त आयोजनाका लागि रभुवाँ र भालुढुंगाका माझी समुदायलाई स्थानान्तरण गर्ने तयारी गरिएको छ । आफुहरुले स्थानान्तरणभन्दा पनि घर जग्गाको उचित मुआव्जा पाउनुपर्ने माझीले बताए ।