बिहिवार, मंसिर २१ २०८०
नेपाल वाइड
खोटाङ, २१ मंसिर । नेकपा एमाले खोटाङले केन्द्रीय कमिटिले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियान’को तयारीमा जुटेको छ । एमाले जिल्ला कमिटि ‘सम्वन्ध स्थानीय–सन्देश राष्ट्रिय’ भन्ने नारासहित एमाले केन्द्रीय कमिटिले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा अभियानको पुर्वतयारीमा जुटेको हो ।
मंसिर २० गते सम्पन्न दशौं पूर्ण बैठकको निर्णय अनुसार एमालेले बिहिबार पत्रकार सम्मेलन गर्दै संकल्प यात्राका क्रममा खोटाङभित्र हुने कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । समृद्धिका लागि संकल्प यात्रा अभियान अन्तरगत हर्कपुरदेखि चखेवाभञ्ज्याङसम्मको यात्राको व्यवस्थापन एमाले जिल्ला कमिटि खोटाङले गर्ने एमाले अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए ।
आगामी मंसिर २६ गते बिहान ११ बजे हर्कपुरमा हुने सभामा सहभागी हुने, दिउँसो ३ बजे हर्कपुर–हलेसी यात्रा गर्ने, हलेसी दर्शन र अवलोकन गर्दै हलेसीको समग्र विकासका लागि सुझाव संकलन गर्ने, साँझ ५.३० बजे हलेसी–दिक्तेल लोकमार्ग यात्रा गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यस्तै, मंसिर २७ गते बिहान ७ बजे जिल्लाका बुद्धिजिवी, पत्रकार, उद्योगी व्यवसायीसँग सुझाव संकलन गर्ने, बिहान ८ बजे प्राविधिक धारको व्यवहारिक शिक्षाको लागि शुभम फाउण्डेसनले गरेका प्रयासको अवलोकन गर्ने, बिहान १० बजे दोर्पा बुवालुङमा जनतासँग भेटघाट तथा विकास अवलोकन गर्ने, बिहान ११ बजे निर्मलीडाँडा पेलुङमा जनतासँग भेटघाट गर्ने, मध्यन्ह १२ बजे सुन्तलाको माला लगाइदिएर अभियान टोलीलाई चखेवाभञ्ज्याङबाट बिदाइ गर्ने तय गरिएको अध्यक्ष दंगालले जानकारी दिए ।
‘जनता माझ रहेका विभिन्न खालका भ्रमहरु चिर्ने, राष्ट्रिय एकता बलियो बनाउने, सामाजिक सद्भाव बढाउने, देशको समग्र विकासको खाका कोर्ने अभियानको उद्धेश्य हो । हाम्रो शत्रु अभाव, अशिक्षा, पछौटेपन, बेरोजगार, भ्रष्टाचार र सम्पूर्णखाले विभेदहरु हुन्,’ अध्यक्ष दंगालले भने, ‘संविधानले प्रदत्त गरेका हक, अधिकारहरुको उपयोग गर्न कसैले बन्देज गर्नेछैन/हुनेछैन । हामी सबैको समस्याहरु संवाद, सहकार्य र एकताबाट समाधान गर्न आग्रह गर्दछौँ ।’
संकल्प यात्रा अभियानलाई सार्थक र व्यवस्थित बनाउनका लागि रमेश पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, रामप्रसाद दंगालको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन, अन्य पार्टीसँग समन्वय र पार्टी प्रवेशको तयारी समिति, उषाकला राईको संयोजकत्वमा जनपरिचालन समिति, देबविक्रम राईको संयोजकत्वमा आन्तरिक सुरक्षा तथा स्वयंसेवक परिचालक समिति, तेजप्रकाश ढुंगानाको संयोजकत्वमा खाना तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ ।
यस्तै, खडेन्द्र राईको संयोकत्वमा हलेसी खाजा व्यवस्थापन समिति, लिला चौहानको संयोजकत्वमा बुवालुङ खाजा व्यवस्थापन समिति, रामप्रसाद दंगालको संयोजकत्वमा स्थानीय कमिटि बैठक भेला आयोजक समिति, कुमार आचार्यको संयोजकत्वमा प्रशासनिक निकायसँग वार्ता समन्वय समिति, गोपालचन्द्र आचार्यको संयोजकत्वमा प्रचार, गेट, व्यानर, टुल व्यवस्थापन समिति, बिणादेबी राईको संयोजकत्वमा अतिथि सत्कार, साँस्कृतिक झाँकी व्यवस्थापन समिति, बिशाल भट्टराईको संयोजकत्वमा अनुगमन समिति र गोपीकृष्ण खड्काको संयोजकत्वमा विदाई व्यवस्थापन समिति गठन गरिएको जानकारी दिइएको छ ।
अभियानका दौरान जनतासँग प्रत्यक्ष भेटघाट, विभिन्न स्थानमा जनसभा, स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव संकलन, सबै दलसँग अन्तरक्रीया र सुझाव संकलन, कलेज र विद्यालयका विद्यार्थी र शिक्षकसँग छलफल, किसानसँग अन्तरक्रीया, कृषि वैज्ञानिकसँग अन्तरसम्वाद गर्ने कार्यक्रम छ ।
यस्तै, विकास आयोजनाको अवलोकन, विकासका अन्य सम्भावनाहरुको खोजी, नमूना काम गरिरहेका उद्यमीसँग भेटघाट र सुझाव संकलन, ऐतिहासिक र धार्मिक स्थलहरुको अवलोकन, जनताका अनुभूती, गुनासा र सुझाव संकलन, लोकमार्गले निर्माण गरेका प्रभाव र ल्याएको परिवर्तन नियल्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य एवं खोटाङका इन्चार्ज राजेन्द्र राईले मध्यपहाडको समग्र विकासको गुरुयोजना निर्माण गर्नेगरी संकल्प यात्रा सुरु गरिएको बताए । ‘मध्यपहाडबाट बसाइसरेर जाने गति तिब्र भइरहेको छ । यसलाई न्युनीकरण गर्ने, मध्यपहाड क्षेत्रमा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने अभियानको उद्धेश्य हो,’ धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राईले भने, ‘यहाँको जलविद्युत एवं मध्यपहाडको समग्र विकासको गुरुयोजना निर्माण गर्न संकल्प यात्राले टेवा पुर्याउने छ ।’ पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल र प्रदेश कमिटि उप–सचिव देवान राईले आ–आफ्नो धारणा राखेका थिए ।