शुक्रवार, मंसिर २२ २०८०
नेपाल वाइड
खोटाङ, २१ मंसिर । खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको बचत ठगी सम्वन्धी कसुरमा चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीको बचत ठगी सम्वन्धी कसुरमा ३५ प्रतिवादी बिरुद्ध जिल्ला अदालतमा अभियोग–पत्र दायर भएकोमा चार प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अदालतको आदेशमा बिहिबार सहकारीका अध्यक्ष अनिल जोशी (मृतक)का भाई सुनिल जोशी, सुनिलकी श्रीमती रविना श्रेष्ठ, तत्कालिन प्रबन्धक रुकु श्रेष्ठ र ऋणी जसुदा पौडेल पुर्पक्षका लागि कारागार चलान भएको श्रेष्तेदार सिताराम खड्काले बताए ।
सोही कसुरमा पाँच प्रतिवादी धरौटीमा छुटेका छन् । श्रेष्तेदार खड्काका अनुसार सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राई र कोषाध्यक्ष रमा शाक्य जनही १०/१० लाख तथा सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाई र सचिव मनोज राई ५÷५ लाख धरौटीमा छुटेका छन् ।
बचतकर्ताको लगानी अपचलन भएको बिषयमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका अध्यक्ष जोशी (मृतक) तथा उनका परिवार, सहकारीका प्रवन्धक, लेखापाल र ऋणी बिरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम जिल्ला अदालतमा मंसिर १३ गते अभियोग–पत्र दायर भएको थियो ।
सयौं बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारी सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरेको थियो । यस्तै, सहकारीका अध्यक्ष अनिलका भाइ सुनिल र सुनिलकी श्रीमती रविना श्रेष्ठलाई गत असोज १३ गते तथा तत्कालिन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरेको थियो । अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौं ऋण लगेको तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी पौडेल गत कात्तिक १५ गते चितवनबाट पक्राउ परेकी थिईन् ।
सहकारीका २६५ बचतकर्ताले ३५ प्रतिबादीबाट ४ करोड ४० लाख ६१ हजार १८ रुपैयाँ बिगो माग दावी गरेका छन् । बचतकर्ताले आठ सयदेखि ५५ लाखसम्म बचत फिर्ताका लागि निबेदन दिएको प्रहरीले जनाएको छ । बचत डुबाइदिएको भन्दै बचतकर्ताले पहिलोपल्ट २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसको केही समयपछि सञ्चालक र केही ऋणी बिरुद्ध पनि बचतर्कर्ताले जाहेरी दिएका थिए ।
२०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो ।
उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ बैसाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ ।
प्रहरीका अनुसार सहकारीबाट ५९ वटा खातामा ४ करोड ४७ लाख ६ हजार ९६७ रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाखसम्म ऋण दिइएको देखिएको छ । त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको छ । चार जनालाई तमसुक बिनै ऋण दिएको पाइएको छ ।
सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी संकटमा फसेको देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताए । सहकारीको निक्षेप ४ करोड ४७ लाख ५७ हजार २२१, शेयर पुँजी ५१ लाख १४ हजार ७८१, जगेडा कोषमा १९ लाख ५८ हजार ४९२ र संस्थागत कोषमा २४ लाख ८६ हजार ५६४ रुपैयाँ देखिन्छ । यस्तै, ४ करोड ९० लाख ९७ हजार ३९३ रुपैयाँ तिर्नु पर्ने देखिएको छ ।
सहकारीको नाममा हलेसीमा ४८ लाखमा खरिद गरिएको ६ रोपनी ३ आना १ पैसा १ दाम (दुई कित्ता) जग्गा अध्यक्ष जोशीको भाईको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ ।
तत्कालिन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ ।
बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणवद्ध आन्दोलनमा छन् । डुबेको सावाँ र व्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दैआएका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने असफल प्रयास गरेको थियो ।