शुक्रवार, मंसिर २२ २०८०
नेपाल वाइड
खोटाङ, २१ मंसिर । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित नेकपा माओवादी केन्द्रको वडा कमिटिले वडाको बिकास निर्माणका लागि प्रतिनिधिसभा सदस्य रामकुमार राई र आदिवासी जनजाति आयोगका सदस्य सुर्यबहादुर गुरुङलाई पहल गरिदिन माग गरेका छन् । मंसिर २० गते राखाबांदेलमा आयोजित शहिद अनिता गुरुङको शालिक अनावरण कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य राई र आयोगका सदस्य गुरुङ समक्ष माओवादी केन्द्र वडा कमिटिले आठ बुँदे योजना माग तथा ध्यानाकर्षण–पत्र बुझाएका छन् ।
वडाबासीकोतर्फबाट माओवादी केन्द्र वडा कमिटिले विद्युतीकरण योजनामा छुटेको राखाबांदेलको माथिल्लो भेगमा पर्ने बाहानेपोखरी र सिब्दुलाई पनि विद्युत विस्तार योजनामा समेट्न, संघबाट प्राप्त २५ लाखमा डिपिआर भइसकेको राखाबांदेल र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको सिमानामा पर्ने रावाखोला सिस्ने बारियो बेलिब्रिज निर्माणका लागि आवश्यक बजेट व्यवस्थाको पहल गरिदिन माग राखेको माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका कमिटि अध्यक्ष अगमसिं राईले बताए ।
यस्तै, ५ वर्षअघि निर्माण सुरु भएको तर हाल अलपत्र परेको स्वास्थ्यचौकी भवनलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि पहलकदमी गर्न, संघबाट प्राप्त ५ लाखमा डिपिआर तयार भइसकेको लिदिङखोला साम्खाइ सिँचाई आयोजना सम्पन्न गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिदिन, संघीय सरकारबाट प्राप्त बजेटबाट डिपिआर तयार भइसकेको राखाबांदेलमा रहेको सेतो पहाड (सात वटा मुहान भएको) खानेपानी आयोजना सम्पन्न गर्न बजेट व्यवस्था गर्न, राखाबांदेलबाट बाक्सिला हुँदै भोजपुर जोड्ने सडकका लागि रावाखोलाको ढुंगेमा पक्की पुल निर्माणको पहल गर्न माग राखिएको छ ।
वडा कमिटिले पर्यटकीयस्थल बाहानेपोखरी, घ्याङखर्क, साल्पाको पर्यटन प्रवद्र्धन तथा डिपिआर तयार पार्न आवश्यक पहल र समन्वय गरिदिन, कक्षा १२ सम्म पढाइ हुँदैआएको कालिका बाल बिकास माबिलाई नमूना विद्यालय बनाउनका लागि एक वटा छात्राबास, कम्प्यूटर, डिजिटल बोर्डको व्यवस्थाका लागि बजेट व्यवस्था गर्नकालागि पहल गरिदिनमाग राखेको जनाएको छ ।
तीनतिरबाट खोलाले छेकेको राखाबांदेल जिल्लाको एक बिकट ठाउँ हो । सडक, विद्युत, सिँचाई लगायतका भौतिक पुर्वाधारको विकासमा पछि रहेको राखाबांदेलमा हालसम्म प्रदेश र संघबाट देखिने खालको कुनैपनि योजना पर्न नसकेको माग तथा ध्यानाकर्षण–पत्रमा उल्लेख छ ।