शनिवार, मंसिर २३ २०८०
नेपाल वाइड
खोटाङ, २३ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोरियाको शिन आन्सान बिश्वबिद्यालय बीचमा पारस्परिक सहयोग आदान–प्रदान गर्ने सम्झौता भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राई भ्रमणका क्रममा कोरिया पुगेको अवशसरमा नगरपालिका र शिन आन्सान बिश्वबिद्यालयबीचमा मंसिर २२ गते पारस्परिक सहयोग गर्ने द्धिपक्षीय सम्झौता भएको हो ।
नगरपालिकाकातर्फबाट मेयर भट्टराई र शिन आन्सान बिश्वबिद्यालयका प्रेसिडेन्ट प्रोफेसर जियूइ साङबीचमा पाँच वर्षका लागि आठ बुँदे सम्झौता गरिएको छ ।
दुबै देशको भाषा, संस्कृति र शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्दै आपसी सम्वन्धलाई अझ मजबुत बनाउने र दुःखसुखमा एक आपसमा सहयोग आदान–प्रदान गर्ने लक्ष्यका साथ नगर र बिश्वबिद्यालयबीच सम्झौता कायम गरिएको मेयर भट्टराईले बताए ।
कोरिया गएर पढ्न चाहने विद्यार्थीलाई विद्यार्थीको योग्यता र क्षमताको आधारमा प्राथमिकतामा राखेर नगरपालिकाले सिफारिस गर्ने, अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदान र संयुक्त परियोजनाहरुको विकास र कार्यान्वयन गर्ने, पर्यटन, उद्योग लगायतको जानकारी आदान–प्रदान गर्ने, नगर नीतिमा संयुक्त बिकास र सल्लाहकारको भूमिका निर्वाह गर्ने, पर्यटन क्षेत्रको अनुभव आदान–प्रदान गर्ने, कोरियाली भाषा शिक्षालाई सहयोग गर्ने र संयुक्त परियोजना प्रवर्द्धन गर्ने लगायतका सम्झौता भएको छ ।
यस्तै, कोरियाका प्राध्यपक–विद्यार्थीलाई खोटाङ र खोटाङका शिक्षक–बिद्यार्थीलाई कोरियामा शैक्षिक भ्रमण गर्ने वातावरण बनाएर शैक्षिक, साँस्कृतिक र पर्यटन प्रवर्द्धन गर्ने लगायतका सम्झौता भएको मेयर भट्टराईले बताए ।




