मंगलवार, मंसिर २६ २०८०
नेपाल वाइड
खोटाङ, २६ मंसिर । पहिचान पक्षधर समुहले आव्हान गरेको बन्दका कारण खोटाङमा यातायात सेवा ठप्प भएको छ । नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप पहिचान पक्षधर समुहले मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका छन् ।
समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी गरेको छ । त्यसकै बिरोधमा प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत घुर्मी (उदयपुर)–लेगुवाघाट (धनकुटा) सडक बन्दको आव्हान गरेको हो ।
बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
प्रदेशको नामांकनको विषयमा विमती राख्दै आन्दोलनरत पहिचानपक्षधर समुहले सोमबार राती खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका थिए ।
तर सडकमा गरिएको अवरोध पन्छाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । “रुख काटेर लडाएर सडक अवरोध गरिएको रहेछ । बिहानै क्लियर गरिसकेका छौँ,” डिएसपी खड्काले भने, “चलेका गाडीलाई स्कट गरिरहेका छौँ ।” पहिचान पक्षधर समुहले कोसी नामाकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान बिरुद्ध अभिव्यक्ती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित बिरोधका कार्यक्रम गरिरहेको छ । एमालेको संकल्प यात्रा र पहिचान पक्षधरको विरोधले तनाव सिर्जना भएको छ ।