Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाँदर नियन्त्रणका लागि ओलीलाई अनुरोध पत्र

    बाँदर नियन्त्रणका लागि ओलीलाई अनुरोध पत्र


    • बिहिवार, मंसिर २८ २०८०

    • नेपाल वाइड


    बाँदर नियन्त्रणका लागि ओलीलाई अनुरोध पत्र
    सोल्मास्थित शुभम् फाउण्डेसनका विद्यार्थीसँग हात मिलाउँदै एमाले अध्यक्ष केपी ओली ।

    खोटाङ, २७ मंसिर । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी ओली समक्ष खोटाङका नागरिकले बाँदर नियन्त्रणका लागि पहल गर्न माग राखेका छन् ।

    मध्यपहाडी राजमार्गबाट ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का क्रममा दिक्तेल पुगेका एमाले अध्यक्ष ओलीलाई बुधबार खोटाङबासीकातर्फबाट नागरिक समाज, नीजि क्षेत्र, उद्योगी, व्यापारी, कृषक लगायतले अनुरोध पत्र बुझाउँदै बाँदर आतंक नियन्त्रणको उपयुक्त बिकल्प खोज्नका लागि पहल गर्न माग राखेका छन् ।

    उद्योग बाणिज्य संघ खोटाङका पुर्वअध्यक्ष उपिनकुमार राईले बाँदर आतंकका कारण मध्यपहाडबाट बसाइ सर्ने दर अधिक भएको भन्दै बाँदरबाट किसानलाई मुक्ती दिने उपाय खोज्नका लागि सहयोग गर्न माग गरेका हुन् । अनुरोध पत्रमा एक पालिका एक कृषि उपज संकलन, बिक्री तथा चिस्यान केन्द्र स्थापनाका लागि आवश्यक पहल गर्न माग राखिएको छ ।

    जयराम–हलेसी सडकलाई राजमार्गको मापदण्डमा बनाउने पहल गर्न माग

    अनुरोध पत्रमा मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्डलाई मापदण्ड अनुसार फराकिलो पार्नका लागि पहल गर्न ओली समक्ष माग राखिएको छ । मध्यपहाडीको अन्य खण्ड मापदण्ड अनुसार फराकिलो बनाइए पनि जयरामदेखि हलेसी खण्ड साँघुरो अवस्थामै छाडिएकाले राजमार्गको ‘स्टान्र्डर’ बमोजिम रेखाङ्कनका लागि पहल गर्न, मध्यपहाडी आसपासमा नास्पाती लगायतका फलफूलको विरुवा लगाएर हरित सडकको रुपमा विकास गर्न पहल गर्न अनुरोध पत्र बुझाएका छन् । खोटाङभित्र मध्यपहाडीको चखेवा–सेखुवा सडक खण्ड भने हालसम्म अलपत्र छ । समृद्धिका लागि संकल्प यात्रा सोही अलपत्र सडक पार गर्दै भोजपुर पुगेको छ ।

    यस्तै, सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडक खण्ड कालोपत्रेको कामलाई पूर्णता दिन, दिक्तेल–आहाले–रेग्मीटार हुँदै तराइसँग जोडिने सडक निर्माणका लागि पहल गर्न, हलेसी–दिक्तेल कालिका भवगती केवुलकार सञ्चालनका लागि पहल गर्न अनुरोध गरिएको छ ।

    जिल्लाबासीले धाप्लाङघाट र बंशिलाघाटको मोटरेबल पुल तदारुकाताका साथ सम्पन्न गर्न पहल गर्न, दिक्तेल–बाक्सिला, दिक्तेल–खोटाङबजार, दिक्तेल–मानेभञ्ज्याङ सडक कालोपत्रेका लागि पहल गर्न, रसुवा–खोटाङबजार–पान्धारे सडक स्तरोन्नतीकालागि आवश्यक पहल गर्न, चिसापानी–वंशिलाघाट सडक स्तरोन्नतीकालागि पहल गर्न, प्रोजेक्ट बैंक निर्माण भए पनि अड्किएर बसेको बिजुले–खार्पा–दुवेकोल–ऐसेलुखर्क सडक निर्माणका लागि पहल गर्न, हरेक पालिकामा ‘एक कृषि उद्योग’ स्थापना गर्ने योजनाका लागि पहल गर्न माग राखेका छन् ।

    दुधकोसी जलविद्युत आयोजना सुरु गर्नका लागि पहल गर्न माग

    अनुरोध–पत्रमा ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य शुभारम्भका लागि आवश्यक पहल गर्न, हलेसीलाई मुन्धुम ट्रेलको इन्ट्री पोइन्ट बनाएर तुवाचुङ–जायजुम, बुईपा यलम्बर पार्क, रुपाकोट, बगरे भञ्याङ, साप्सुधाप, चखेवा, मेरुङ, केपिलासगढी हुंदै सिलुचुङसम्मलाई मुन्धुम ट्रेलमार्गको विकासका लागि पहल गर्न भनिएको छ ।

    शिक्षालाई श्रमसँग जोडेर ‘कमाउँदै पढ्दै’ गर्ने कार्यक्रम ल्याउन पहल गर्न, महुरेगढी प्राविधिक शिक्षालयलाई स्तरोन्नतीका लागि पहल गर्न, दिक्तेल बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन, खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङ्मा मेडिकल कलेज स्थापनाका लागि पहल गर्न, बृहत हलेसी गुरुयोजना कार्यान्वयनमा ल्याउन, बराहपोखरी बृहतगुरुयोजना तयार गरी संरक्षण निर्माणका लागि पहल गर्न अनुरोध–पत्रमा उल्लेख गरिएको छ । यस्तै, जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टरको व्यवस्थाका लागि पहल गरिदिन अनुरोध गरिएको छ ।

    सम्बन्धित समाचार