बिहिवार, मंसिर २८ २०८०
नेपाल वाइड
खोटाङ, २८ मंसिर । धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आक्रमण प्रयास भएको छ । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का क्रममा बिहिबार महालक्ष्मी नगरपालिका–५ लेगुवामा अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएको हो ।
फूलमाला लगाइदिएर स्वागत गर्न बसेको लाइनबाट माला दिने बाहनामा लेगुवाका महेश राईले आक्रमण प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जन बताए ।
“मादक पदार्थ सेवन गरेको अवस्थामा माला दिने बाहनामा एट्याक गर्न खोजेको हो । हामीले नियन्त्रणमा लिइहाल्यौं,” डिएसपी महर्जनले भने, “ठ्याक्कै उसको आसय भन्न त सकिन्न तर उ रक्सी खाएर मातेको देखियो ।” घटना लगत्तै पहिचान पक्षधरले अध्यक्ष ओलीमाथि आक्रमण गरेको दावी गरिरहेका छन् ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले भने दुव्र्यवहार गर्ने व्यक्ति मातेको अवस्थामा भएका कारण उनको उद्धेश्य स्पष्ट नभएको बताए । “उसको उद्धेश्य माला लगाइदिने हो वा गाला मुसारेर मायाँ खर्न खोजेको हो । तर त्यसो गर्ने वित्तिकै सुरक्षाकर्मीले हटाइहाल्यो,” भट्टराईले भने, “मान्छे मातेको थियो रे ।
त्यही भएर जे अर्थ लाउँदा पनि हुने भएर कसैले आक्रमण गर्न खोज्यो भन्छन्, कसैले के भन्छन् । वरिपरी बस्नेलेचैं आक्रामक थिएनन् भनिरहेका छन् ।” पहिचान पक्षधरले ओलीलाई भोजपुरमा नारा लगाउँदै कालो झण्डा देखाउने प्रयास गरेका थिए । सो क्रममा ६ जना पहिचानवादी पक्राउ परेका छन् ।