शनिवार, मंसिर ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० मंसिर । सडक बन्द गर्नेक्रममा पक्राउ परेका पुर्व मन्त्रि गोपाल किराती सहित ३५ जनाको रिहाइको माग गर्दै पहिचान पक्षरले आव्हान गरेको सडक बन्दका कारण खोटाङमा सवारी साधन ठप्प भएको छ ।
नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी सडक बन्द गराउने, कालो झण्डा देखाउने क्रममा विभिन्न जिल्लाबाट पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै प्रदेस नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशभरी सडक बन्द आव्हान गरेको छ ।
सडक बन्दका कारण खोटाङबाट छोटो तथा लामो दुरीको सवारी साधन नछुटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । पहिचान पक्षधर समुह ठाउँ–ठाउँमा बसेर सडक बन्दमा उत्रिएका छन् । बन्दका बीचमा हिँड्ने गाडीलाई ‘स्कट’को व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
विभिन्न जिल्लाबाट पक्राउ परेका नेता तथा कार्यकर्तालाई निसर्त छोड्ने भनिए पनि झुटो मुद्धाहरु लगाउने, अपराधीलाईझैं हतकडी लगाएर गिरफ्तार गर्ने, कोशी नाम खारेजी गरि बार्ताको माध्यमबाट समस्या समाधान खोज्नुको सट्टा गृह–प्रसासन र सरकार दमनमा उत्रिएकाले शनिबार र आइतबार प्रदेशभर यातायात बन्द गरिएको पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जनाएको छ ।
सडक बन्द आव्हानका कारण प्रदेशका विभिन्न जिल्लाको यातायात सेवा प्रभावित भएको छ । बन्दमा बिरामी बोकेका, विवाहको गाडी, पुर्वनिर्धारित वनभोज र भ्रमणको गाडीलाई भने नरोकिएको संयुक्त संघर्ष समिति अन्तरगतको युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राईले बताए ।
पहिचान पक्षधर पार्टी तथा जातीय संगठन पुनः नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर विगत १० महिनादेखि प्रदेशको पुःन नामांकनको माग गर्दै आन्दोलनरत छन् । एमालेको समृद्धिका लागि संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्न लाग्दा अवरोध स्वरुप संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि अनिश्चितकालका लागि घुर्मी (उदयपुर) देखि लेगुवा (धनकुटा) सडक बन्द आव्हान गरेको थियो ।
सोही बन्द सफल बनाउन हिँडेको अवस्थामा, कालो झण्डा देखाउने क्रममा खोटाङ, भोजपुर, धनकुटा, तेर्हथुम, संखुवासभा, उदयपुर, झापा लगायतका जिल्लाबाट पहिचानवादी पक्राउ परेका थिए ।
प्रदेशको पुःननामांकनको मागमा संघर्षरत संयुक्त संघर्ष समितिले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्ष्यित विरोधका कार्यक्रम गरिरहेको छ ।