शनिवार, मंसिर ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीय चन्दा उठाएर सडक मर्मतको तयारीमा जुटेका छन् । सडक धुलाम्मे भएका कारण सवारी साधन अड्किदा यात्रु सास्ती खेप्न वाध्य बनेका कारण धितुङका स्थानीय हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडक मर्मतको तयारीमा जुटेका हुन् ।
स्वदेश तथा विदेशमा रहेका स्थानीयबाट सहयोग उठाएर धितुङको हात्तीआहाल, सुर्यज्योती आधारभुत विद्यालय आसपास, भुतपहरा लगायतका ठाउँका सडकमा खोलाको गेगर र ढुंगा मिश्रित बालुवा हाल्ने तयारी गरिएको शिक्षक राजकुमार राईले बताए ।
हाल हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडक उदयपुरको गाईघाटबाट त्रि–धार्मिकस्थल हलेसी आउजाउ गर्न प्रयोग भइरहेको छ । हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडक बनेपछि गाईघाटबाट हलेसी आउजाउ गर्ने छोटो बाटो खुलेको हो ।
गाईघाटबाट फोक्सिङटारस्थित सुनकोसी तरेपछि रेग्मीटार, भाटबेँसी, धितुङ हुँदै हलेसी पुग्न सकिन्छ । पछिल्लो समय सो सडकमा दर्शनार्थी बोकेको सवारी साधनको चाप बढे पनि सडक धुलाम्मे भएका कारण सवारी साधन ठाउँ–ठाउँमा भासिएर अड्किने गरेको छ ।
बालाचतुर्दशीको अवसरमा दर्शनार्थी बोकेर हलेसी जाँदै गरेको दर्जनौं सवारी साधन गत मंसिर २४ गते बिहान ११ बजे हात्तीआहालको धुलोमा फसेपछि साँझ ६ बजे ट्याक्टरले तानेर निकालिएको थियो । सवारी साधन भासिएपछि दिनभर सडकमा अलपत्र बनेको यात्रुले जनप्रतिनिधिलाई ‘तथानाम’ गाली गरेको सुनेपछि गाउँले मिलेर सडक मर्मत गर्ने योजना बनाइएको शिक्षक राईले बताए ।
सडक मर्मतका लागि सहयोग उठाउन ‘आफ्नो गाउँ आफै बनाऔं, युवा समुह धितुङ’ नामको फेसबुक मेसेञ्जर ग्रुप बनाइएको छ । मेसेञ्जर ग्रुपमार्फत हालसम्म २६ जनाबाट ६० हजारभन्दा बढी सहयोग संकलन गरिएको छ । सहयोग संकलन कार्य जारी छ ।
संकलित रकमबाट ट्याक्टरमा गिटी बालुवा ओसारेर नगरपालिकाको जेसिभिले सम्याउने तयारी गरिएको छ । धितुङकै तीन जना ट्याक्टरधनीसँग सडक मर्मतका क्रममा तेल हालेर ट्याक्टर प्रयोग गर्ने सम्झदारी बनेको राईले जानकारी दिए ।
यस्तै, सडक मर्मतका क्रममा जेसिभिका लागि पनि तेलको व्यवस्था गर्ने तयारी गरिएको छ । ‘सडकमा गाडी अड्किएपछि यात्रुले जनप्रतिनिधिलाई गाली गरेको, गुनासो पोखेको सुनेँ,’ शिक्षक राईले भने, ‘ग्रुप बनाएर आफ्नो गाउँका लागि ट्याक्टरबाट ढुंगे बालुवा ल्याएर खाल्डाखुल्डीमा हालौं भनेर सल्लाह गरेँ । सबैको सहमती प्राप्त भयो । जेसिभिको बेयरिङ बिग्रेकाले केही दिनपछि सडक मर्मत सुरु गर्छौँ ।’
हलेसी तुवाचुङ नगरपालिकाबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिका जोड्ने हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार–रसुवाघाट सडक २०७७ असोजमा उद्घाटन गरिएको थियो ।