शनिवार, मंसिर ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० मंसिर । विद्यार्थी संख्या बढाएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक विद्यालयलाई स्पष्टीकरण सोधेको छ । आइइएमआइएसमा वास्तविक विद्यार्थी संख्याभन्दा १० जना बढी विद्यार्थी देखाएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुर आधारभत विद्यालयलाई स्पष्टीकरण साधेको हो ।
आइइएमआइएसमा विद्यालयले ३४ जना विद्यार्थी भर्ना भएको तथ्यंक उपलव्ध गराएको छ तर तीन पटक गरिएको अनुगमनका क्रममा बढीमा २२ जना मात्रै विद्यार्थी भेटिएपछि स्पष्टीकरण सोधिएको नगरपालिकाले जनाएको छ ।
विद्यार्थी संख्या बढाएको आशंकामा नगरपालिकाले कात्तिक २२ गते, मंसिर १२ गते र मंसिर १३ गते विद्यालय अनुगमन गरेको थियो । कात्तिक २२ गते विद्यालय बन्द गरिएको, मंसिर १२ गते १८ जना र मंसिर १३ गते २२ जना मात्र विद्यार्थी भेटिएको नगरपालिकाका शिक्षा अधिकृत तिर्थबहादुर विकले बताए ।
१२ जना विद्यार्थी र शिक्षक समेत अनुपस्थित रहेको पाइएपछि नगरपालिकाले विद्यालयलाई कारण सहित स्पस्टीकरण पेश गर्न मंसिर १४ गते पत्राचार गरेको थियो । कात्तिकमा उधौली पुजाका कारण विद्यार्थीको उपस्थिति कम हुने भएकाले कात्तिक २२ गते स्थानीय बिदा दिइएको प्रअ आनन्द थापाले बताए ।

यस्तै, मंसिरको धमाधम भएकाले अभिभावकले बच्चा नपठाएका कारण मंसिर १३ गते २२ जना मात्रै विद्यार्थी उपस्थित भएको विद्यालयले नगरपालिकालाई बुझाएको स्पष्टीकरणमा उल्लेख छ । विद्यालयले नगरपालिकालाई पेश गरेको स्पष्टीकरणमा मिति भने २०८०/५/२९ गते उल्लेख छ ।
आइइएमआइएसमा ३४ जना देखाइए पनि चालु शैक्षिक सत्र कुल ३३ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । त्यसमध्ये हाल २४ जना मात्र नियमित छन् । बालबिकास केन्द्रमा ८ जना विद्यार्थी भर्ना भएकामा ४ जना मात्र नियमित छन् ।
कक्षा १ मा ५ जना भर्ना भएकामा सबै नियमित छन् । कक्षा २ मा ६ जना भर्ना भएकामा ५ जना मात्रै नियमित छन् । छात्रा युनिका बिक गाईघाट बसाइ सरेका कारण कक्षा २ मा एक जना विद्यार्थी संख्या घटेको हो । कक्षा ३ मा ६ जना भर्ना भएकामा ५ जना नियमित छन् । फुपुको घर बसेर भर्ना भएका एक जना विद्यार्थी घर खार्पा फर्किएको प्रअ थापाले बताए । कक्षा ४ मा ५ जना भर्ना भएकामा ४ जना नियमित छन् । छात्रा स्मृति बिक गाईघाट बसाइ सरेकी छन् ।
यस्तै, कक्षा ५ मा ३ जना भर्ना भएकामा १ जना मात्रै नियमित छन् । कक्षा ५ का मावली बसेर पढिरहेका विद्यार्थी घर राखाबांदेल फर्केका छन् भने उमेर बढी भएका कारण छात्र उमेश भुजेल विद्यालय आउन छाडेका छन् । विद्यालय छाडेका कक्षा ५ का दुबै विद्यार्थीको खाजा भत्ता माग नगरिएको प्रअ थापाले बताए ।