Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बन्यजन्तु नियन्त्रणका लागि कृषि सैनिक गठन गर्न सुझाव

    बन्यजन्तु नियन्त्रणका लागि कृषि सैनिक गठन गर्न सुझाव


    • सोमवार, पौष २ २०८०

    • नेपाल वाइड


    बन्यजन्तु नियन्त्रणका लागि कृषि सैनिक गठन गर्न सुझाव
    प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई अनुरोध–पत्र बुझाउँदै जेष्ठ नागरिक संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरे ।

    खोटाङ, २ पुस । खोटाङका ज्येष्ठ नागरिकले बन्यजन्तु नियन्त्रणका लागि कृषि सैनिक गठन गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री लगायतलाई अनुरोध–पत्र पठाउँदै ज्येष्ठ नागरिकले जंगली जनावर नियन्त्रणमा लिएर व्यवस्थापनका लागि कृषि सैनिक गठन गर्न सुझाव दिएका हुन् ।

    जेष्ठ नागरिक संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई अनुरोध–पत्र बुझाउँदै जंगली जनावरका कारण खेतीयोग्य जमिन बाँझिदै गएको अवस्थामा कृषि सैनिक गठन वा वन्यजन्तुबाट पिडित कृषकको सम्पूर्ण जिम्मा लिने व्यवस्था गर्नुपर्ने सुझाएका छन् ।

    लट्ठी टेकेर मादल बजाउँदै प्रशासन पुगेका ज्येष्ठ नागरिकले बन्यजन्तु संरक्षण नियमावली २०३० नियम ३६ ले दिएको अधिकार प्रयोग गर्न, बन्यजन्तुलाई नियन्त्रणमा लिएर वाह्यमुलुकमा बिक्री वितरणको व्यवस्था मिलाउन सकिने विकल्प पेश गरेका छन् ।

    ज्येष्ठ नागरिकले कृषि क्रान्तीका लागि विकास मोडल हेरफेर गर्नुपर्ने सुझाव दिएका छन् । कृषि क्रान्तीमार्फत भूगोल अनुसार तरकारी, फलफूल, अन्न, पशुपालन, जडीबुटी, मह, घाँस, पिठो लगायतका कृषि उपज उत्पादन गरेर अन्य देशमा निर्यात गर्दैै रोजगार सिर्जना गर्न सकिने ज्येष्ठ नागरिक संघका अध्यक्ष घिमिरेले सुझाव दिएका छन् । ‘हामी सुनको कचौरामा भिख माग्न बानी भएका छौँ,’ अध्यक्ष घिमिरेले भने, ‘कृषिप्रधान भनेर चिनिने हाम्रो देश जेष्ठ नागरिक, अपांग र जंगली जनावर मात्र बस्ने देश बन्नेमा हामीलाई चिन्ता छ ।’

    वर्तमान मोडललाई बदलेर कृषि उत्पादनका लागि भूगोल छनौट गर्ने, जनशक्तिका लागि राजनैतिक दल र उपभोक्ता परिचालन गर्ने, त्यसका लागि स्थानीय सरकारले अनुदान, बिउ, औषधि र प्राविधिक उपलव्ध गराउने, जनप्रतिनिधि, प्रशासन र प्राविधिकको सक्रियतामा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

    यस्तै, मदिरा उत्पादनका लागि प्रत्येक घरमा १० बोटदेखि सय बोट फलफुलका बिरुवा लगाउने, त्यसका लागि डिभिजन वन, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले आवश्यक बिरुवा, औषधि र प्राविधिक उपलव्ध गराउने, स्थानीय सरकारले उत्पादन केन्द्र तोक्ने र कानूनी प्रकृया पुरा गर्ने व्यवस्था मिलाएर कृषिमा क्रान्ती ल्याउन सकिने अध्यक्ष घिमिरेले बताए । कृषि क्रान्ती अभियान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाटै सुरु गर्न सकिने अनुरोध–पत्रमा उल्लेख छ ।

    सम्बन्धित समाचार