मंगलवार, पौष ३ २०८०
नेपाल वाइड
खोटाङ, ३ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दोरुङस्थित शारदा आधारभुत विद्यालयलाई दलित विद्यार्थीले धानेको छ ।
२०१६ सालमा स्थापना भएको विद्यालयमा अधिकांश दलित विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ सम्मको पठन पाठन हुँदैआएको विद्यालयमा हाल ४७ जना छात्रछात्रा अध्ययनरत छन् । त्यसमध्ये १८ जना दलित छात्राछात्रा रहेको विद्यालयका शिक्षक जीवन बास्तोलाले बताए ।
नर्सरीका १० जना छात्रछात्रामध्ये २ जना दलित छन् । एलकेजीका पाँच जनामध्ये एक जना दलित विद्यार्थी छन् । कक्षा १ मा ४ जनामध्ये २ जना, कक्षा २ का ८ जनामध्ये ३ जना, कक्षा ३ का ५ जनामध्ये १ जना, कक्षा ४ का ८ जनामध्ये ५ जना र कक्षा ५ का ७ जनामध्ये ३ जना विद्यार्थी दलित रहेको शिक्षक बास्तोलाले बताए ।

शारदा आधारभुत विद्यालय दलित र निम्न आर्थिकस्तर भएका विद्यार्थी पढ्ने शैक्षिक थलो बनेको छ । ‘पेशा, व्यवसाय, बैदेसिक रोजगारमा संलग्न र आर्थिक रुपमा सम्पन्न विद्यार्थी बोर्डिङ गइहाल्छ,’ शिक्षक बास्तोलाले भने, ‘बाँकी रहेका दलित र आयस्तर कम भएका विद्यार्थी मात्र यस विद्यालयमा पढ्न आउने गरेका छन् ।’
वडाकै ज्येष्ठ विद्यालयले खानेपानीको अभाव झेल्दैआएको छ । विद्यालयले नजिकैको स्थानीयको व्यक्तिगत धाराबाट पाइप जोडेर ल्याएर ट्यांकीमा संकलन गर्दै पानीको जोहो गर्दैआएको छ ।
विद्यालयको हिल ट्यांकमा जम्मा भएको पानीलाई पिउनदेखि शौचालयमा प्रयोग गर्ने गरिएको छ । पानी जम्मा गर्नका लागि एउटा कोठामा पाँच सय लिटरको ट्यांकी राखिएको छ ।
ट्यांकीमा जम्मा भएको पानीलाई विद्यार्थीले जर्किन र ड्युको बोत्तलमा भरेर कक्षामा लगेर पिउने गरेका छन् । ट्यांकीबाट जर्किन र बोत्तलमा पानी भरेर कोठामा लैजानका लागि हरेक कक्षाका बिद्यार्थीबीचमा ‘रुटिन’ बनाएर पालो बाँडिएको छ ।
शिक्षकले पनि बोत्तलमा पानी भरेर प्रयोग गर्ने गरेका छन् । ‘व्यक्तिको घरबाट पाइपमा पानी ल्याएर ट्यांकीमा जम्मा गर्नेगरेका छौँ,’ बास्तोलाले भने, ‘ट्यांकीमा जमाएको पानी कक्षामा लैजानका लागि विद्यार्थीले रुटिन नै बनाएको छ ।
पालैपालो पानी भरेर कक्षामा लैजान्छन् ।’ विद्यालयका लागि पुस्तकालय र स्टोरका लागि नयाँ भवन आवश्यक रहेको शिक्षक बास्तोलाले बताए ।
