बुधवार, पौष ४ २०८०
नेपाल वाइड
खोटाङ, ४ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित नेर्पा स्पोर्टस क्लबले ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करणको तयारी गरेको छ ।
नेर्पा स्पोर्टस क्लबले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै आगामी पुस २२ गतेदेखि ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करण गर्ने तयारी गरेको जानकारी दिएको हो ।
‘खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद एक लाख ५० हजार, उपविजेताले नगद ७५ हजार र ‘सेमीफाइनलिस्ट टिमले नगद २५\२५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष शरद राईले बताए ।
प्रतियोगीता नेर्पाकै संसारीडाँडास्थित खेलमैदानमा सञ्चालन हुने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार, बेस्ट कोच (उत्कृष्ट प्रशिक्षक)ले नगद दुई हजार पाँच सय, सर्वाधिक गोलकर्ताले नगद चार हजार, बेस्ट डिफेन्डरले नगद दुई हजार पाँच सय, बेस्ट स्ट्राईकरले नगद दुई हजार पाँच सय, बेस्ट मिडफिल्डरले नगद दुई हजार पाँच सय, उदयमान खेलाडीले नगद दुई हजार पाँच सय र उत्कृष्ट गोल रक्षकले नगद दुई हजार पाँच सयको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
फिफाको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ वटा टिमलाई सहभागी गराइने क्वले जनाएको छ । हरेक टिममा कम्तीमा ६ जना खेलाडी सम्वन्धित वडाको हुनुपर्ने क्लबका सचिव वीरेन गुरुङले जानकारी दिए । एउटा टिममा तीन जना बाहिरका खेलाडीलाई समावेश गर्न पाइने क्लबले जनाएको छ ।
पुस २८ गतेसम्म सञ्चालन हुने प्रतियोगीताका लागि पुस १६ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्धघाटन गर्ने प्रतियोगीता प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले समापन गर्ने कार्यक्रम छ ।
प्रतियोगिता समापनको अवसरमा विभिन्न क्षेत्रमा रहेर नेर्पा र देशका लागि योगदान पुर्याउनुहुने नेर्पाका सात जनालाई सम्मान गर्ने तयारी गरिएको छ । डा. धनप्रसाद सुवेदी र डा. रमेश रिजाल, नेपाल सरकारका सहसचिव उद्धव रिजाल, अधिकृतहरु दीलकुमार खड्का, सीताराम राई र रामकुमार आचार्य तथा एकजना अग्रज खेलाडीलाई सम्मान गर्ने तयारी गरिएको अध्यक्ष राईले जानकारी दिए ।
२०७६ सालमा स्थापना गरिएको नेर्पा स्पोर्टस क्लबले २०७७ सालमा पहिलो संस्करण सञ्चालन गरेको थियो । कोभिड–१९ का कारण नियमित गर्न नसकिएको संस्करणलाई आगामी वर्ष निरन्तरता दिने जानकारी दिइएको छ ।