Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अझै पनि टहरामै पढाई

    अझै पनि टहरामै पढाई


    • बिहिवार, पौष ५ २०८०

    • नेपाल वाइड


    अझै पनि टहरामै पढाई
    सोल्माको पुःनस्र्थापित आधारभुत विद्यालयको टिनले बनाइएको टहरा । तस्बिरः दमन राई

    खोटाङ, ५ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको कार्कीढुंगास्थित पुःनस्र्थापित आधारभुत विद्यालयले टिनले बनाएको टहरामा पठन–पाठन सञ्चालन गरिरहेको छ ।

    भवन अभावमा पुःनस्र्थापित आधारभुत विद्यालयले टहरामा बालबिकास केन्द्र, कक्षा १ र कक्षा २ को पठन–पाठन गर्दैआएको छ । बालबिकास केन्द्र र कक्षा १ का विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको प्रअ बिन्दाकुमारी अधिकारीले बताईन् ।

    पुःनस्र्थापित आधारभुत विद्यालयको २०५७ सालमा बनेको तीन कोठे र २०६२ सालमा बनेको चार कोठे दुई तले भवन थियो । २०७२ सालको भूकम्पले तीन कोठे चिरा परेपछि तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट मर्मतका लागि दुई लाख प्राप्त भएको थियो ।

    सो रकमले दुई कोठे टहरा बनाइएको हो । बरपिपलको छहारीमा रहेको टहरामा चिसो हुँदा विद्यार्थी बिरामी पर्नेगरेको प्रअ अधिकारी बताउँछिन् । भवन अभाव झेलिरहेको विद्यालयलाई नगरपालिकाले हालसम्म भवन निर्माणका लागि बजेट उपलव्ध गराएको छैन । नगरले मर्मतसम्भारका लागि दिएको एक लाख ८४ हजारले चार कोठे भवनमा सिलिङ हाल्ने, बार्दली राख्ने र रंगरोगन गरिएको थियो ।

    punarsthapit school (ii).jpg

    टहराभित्र पुःनस्र्थापित आधारभुत विद्यालयका कक्षा २ का विद्यार्थी ।

    २०५३ सालमा स्थापना भएको विद्यालयमा हाल ३० विद्यार्थी अध्ययनरत छन् । बालबिकास केन्द्रमा १० विद्यार्थी भर्ना भएकामा ७ जना नियमित छन् । कक्षा १ मा ८ जना भर्ना भएकामा सबै नियमित छन् । कक्षा २ मा ६ जना भर्ना भएकामा २ जना मात्रै नियमित छन् ।

    कक्षा ३ मा ६ जना भर्ना भएकामा सबै नियमित छन् । कक्षा ४ मा ७ जना भर्ना भएकामा २ जना मात्रै नियमित छन् । कक्षा ५ मा भर्ना भएका सबै ५ जना नियमित रहेको विद्यालयले जनाएको छ । अधिकांश विद्यार्थी बोर्डिङ तथा बसाई सराइका कारण अन्यत्र गएको प्रअ अधिकारीले बताईन् । 

    “बच्चा अरुतिर नलैजानु, अरुले जत्तिको हामी पनि पढाउँछौँ भनेर सम्झाउछौँ,” अधिकारीले भनिन्, “विदेशबाट पैसा पठाउँछु तुरुन्तै बोर्डिङमा लैजा भन्नुभएको छ । लैजान्छौं भनेपछि रोक्न कुरा भएन ।”

    punarsthapit school (iii).jpg
    सोल्मा कार्कीढुंगास्थित पुःनस्र्थापित आधारभुत विद्यालय । तस्बीरहरुः दमन राई

    सम्बन्धित समाचार