शुक्रवार, पौष ६ २०८०
नेपाल वाइड
खोटाङ, ६ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा मोहोरियास्थित नेर्पा प्राविका छात्र युगल राई कक्षा १ का एक्ला विद्यार्थी हुन् ।
शैक्षिक सत्रको सुरुमा कक्षा १ मा तीन जना विद्यार्थी भर्ना भए पनि गत साउनदेखि एक जना मात्रै विद्यार्थी बाँकी रहेको प्रअ नवराज घिमिरे बताउँछन् । तीन जनामध्ये मावली घर बसेर भर्ना भएका एक विद्यार्थी घर फर्के । अर्का एक जना निजी विद्यालय गएका छन् ।
नेर्पा प्राविमा कक्षा २ मा पनि तीन विद्यार्थी भर्ना भएकामा हाल स्मल राई मात्र बाँकी छन् । कक्षा ३ मा तीन जना भर्ना भएकामा हाल सन्देश राई कक्षाका एक्ला विद्यार्थी हुन् । कक्षा ४ मा भर्ना भएका दुई जना अन्यत्र गएपछि हाल कक्षामा छात्र सन्दीप राई मात्र बाँकी छन् ।
कक्षा १ देखि कक्षा ४ सम्ममा सिंगो कक्षामा एक÷एक जना विद्यार्थी बाँकी रहेपछि सबैलाई एउटा कोठामा राखेर पठन–पाठन गर्ने व्यवस्था मिलाइएको छ ।
बालबिकास केन्द्रका विद्यार्थीलाई भने छुट्टै कोठामा राखेर पढाउने गरिएको छ । बालबिकास केन्द्रमा ६ जना बालबच्चा भर्ना भएकामा ४ जना मात्र नियमित छन् । कक्षा ३ मा अध्ययनरत छात्र सन्देश एकैघरका दाजु र कक्षा ४ का छात्र सन्दीप भाई हुन् ।
सन्देश शारीरिक रुपमा बोल्न र सुन्न नसक्ने अशक्त छन् । उनीहरुका कान्छो भाई समीर बालकक्षामा पढिरहेका छन् । समीरको पनि शारीरिक रुपमा खुट्टा लरबरिने समस्या छ ।
सिंगो विद्यालयमा आठ जना मात्रै विद्यार्थी बाँकी रहेपछि शिक्षक रघुनाथ दाहाललाई मंसिर १४ गते नेर्पाकै निरौली प्राविमा काज सरुवा गरिएको छ । हाल नेर्पा प्राविमा प्रअ घिमिरे सहित एक जना बालबिकास केन्द्रकी शिक्षिका र एक जना विद्यालय कर्मचारी कार्यरत छन् ।
शिक्षक दाहालको सरुवा हुनुअघि कक्षा १, कक्षा २ र कक्षा ३ का विद्यार्थीलाई एक कोठामा र कक्षा ४ का विद्यार्थीलाई अर्को कोठामा अलग्गै राखेर पढाउने गरिएको थियो ।
२०६६ सालमा स्थापना गरिएको नेर्पा प्राविको तीन वटा भवन छन् । २०७९ सालमा बनेको दुई कोठे ट्रस भवनको एउटा कोठामा चार वटा कक्षाका विद्यार्थीलाई राखेर पढाउने गरिएको छ ।
ट्रस भवनसँगै रहेको दुई कोठे कच्ची भवनको एउटा कोठामा कार्यालय र अर्को कोठामा बालबिकास केन्द्र सञ्चालन गर्नेगरिएको छ । केही पर रहेको अर्को दुई कोठे भवन भने जीर्ण बन्दै गएकाले मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।
विद्यार्थीलाई सामुदायीक विद्यालयबाट अन्यत्र लैजानबाट रोक्ने उपायको खोजीमा नेर्पामा वडा शिक्षा समितिले गत भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म वडाभित्रका विद्यालयका प्रअ, अभिभावकलाई सहभागी गराएर चार दिने कार्यशाला गरेको थियो ।
रित्तिदै गएको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कार्यशाला गरिएको नेर्पाका वडाध्यक्ष माधव राई बताउँछन् । “सामुदायीक विद्यालय रित्तिदैछ ।
अभिभावकले खर्च गरिगरी निजी स्कुलमा बालबच्चा पठाउन सुरु गरे,” वडाध्यक्ष राईले भने, “गुणस्तर सुधार गरेर अभिभावकलाई सामुदायीक स्कुलमै बच्चा पढाउनका लागि कन्भिन्स गर्ने वातावरण तयार गर्ने उपायको खोजी गरिरहेका छौँ ।”