बुधवार, पौष ११ २०८०
नेपाल वाइड
खोटाङ, ११ पुस । ठेकेदारले अलपत्र छाडेपछि खोटाङको महुरे–राजापानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम वर्षदिनदेखि ठप्प बनेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरेदेखि राजापानीको सिमपानी सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले २०७९ पुसदेखि आयोजनाको काम अलपत्र पारेको हो ।
गाडी, क्रसर लगायतका मेसिन उठाएर हिँडेको ठेकेदार निर्माणस्थलमा नफर्किएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । २०७९ पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले २०७९ माघ ४ गते क्रसरको सामान उठाएर लगेको थियो ।
निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्वन्धित मालिक आएर लगेका हुन् । २०७७ सालमै पिच सम्पन्न हुनुपर्ने सडकलाई ठेकेदारले अलपत्र पारेपछि ठेक्का तोड्नका लागि गत असोजमा सडक विभाग समक्ष सिफारिस गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका इन्जिनियर नारायणबहादुर थापाले बताए ।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे(राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।
४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ ।
निर्धारित समयमा निर्धारित काम गर्न नसकेकामा भारत कन्ट्रक्सन/सिद्धी शाहीलाई २०७९ माघमा १४ दिनको १३ लाख ९९ हजार ७१९ रुपैयाँ जरिवाना गरिसकिएको छ । २०७९ मंसिर अन्तिमसम्ममा महुरेदेखि बुईपाको पञ्चरदोबाटोसम्मको ६.५ किलोमिटर पिच गर्न नसकेपछि २०७९ पुस १ गतेदेखि निर्माण कम्पनीलाई दैनिक एक लाखको हाराहारीमा जरिवाना लगाउन सुरु गरिएको कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै, उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का तोडेर पुःन टेण्डर आव्हान गर्ने प्रकृया अघि बढेको छ ।
ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले अलपत्र पारेपछि ठेक्का तोडेर नयाँ टेण्डर खुलाउने तयारी भइरहेको इन्जिनियर थापाले बताए । ठेक्का तोड्ने निर्णय बिरुद्ध ठेकेदारले उच्च अदालत रिट हालेको थियो तर अदालतले रिट खारेज गर्ने फैसला गरेपछि ठेक्का तोड्ने र प्रकृया पुरा गरेर पुःन अर्को टेण्डर खुलाउने बाटो खुलेको हो ।
देवनारायण पवन/मैनाचुली/खाम्पाचेले ५५ करोड ८७ लाखमा २०७७ साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत फोक्सिङटार–सिमपानी सडक कालोपत्रेको खरिद सम्झौता गरेको थियो ।

दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत सुनकोसीको फोक्सिङटारस्थित पुल ।