बिहिवार, पौष १२ २०८०
नेपाल वाइड
खोटाङ, १२ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएको छ । उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाका लागि नगरपालिकाले उपभोक्ता समिति गठनदेखि फरफारकसम्मको कागजात संग्रहित गरिएको योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएको हो ।
६३ पृष्ठको योजना कार्यान्वयन पुस्तिकामा योजना सञ्चालनका क्रममा तयार पार्नुपर्ने र प्रयोग हुने सम्पूर्ण कागजात संग्रहित गरिएको छ । योजना सञ्चालन गर्ने क्रममा कागजातको रेकर्ड फायल तयार पारेर नगरपालिकाको कोठा–कोठा चाहार्नुपर्ने वाध्यताबाट उपभोक्ता समितिलाई उन्मुक्ती दिने लक्ष्यका साथ योजना कार्यान्वयन पुस्तिका तयार पारेर प्रयोगमा ल्याइएको हो ।
योजना कार्यान्वयन पुस्तिकाले नगरपालिकाको प्रशासनिक सेवालाई सरल, सहज र पारदर्शी बनाउन सहयोग पुगेको मेयर तीर्थराज भट्टराईले बताए ।
उपभोक्ता समिति गठनका लागि आमभेलाको निर्णयदेखि योजना सम्झौता कागजात, अनुगमन तथा सुपरिवेक्षण समितिको अनुगमन फारम, डोर हाजिर फायल, किस्तागत/अन्तिम भुक्तानी, फरफारक पत्र, योजना हस्तान्तरणसम्ममा कागजात भर्ने ठाउँ खाली राखेर योजना कार्यान्वयन पुस्तिका तयार पारिएको छ । योजना कार्यान्वयन पुस्तिकामा योजना सम्वन्धी जानकारी दिने तस्बीरहरु टाँस्ने पेज समेत राखिएका छन् ।
योजना सञ्चालनका क्रममा उपभोक्ता समितिले आवश्यक कागजी प्रकृया पुरा गर्नुपर्ने हुन्छ । कतिपय उपभोक्ता समितिले योजना सम्वन्धी कागजात तयार पार्नेक्रममा अन्योल झेलिरहेका हुन्छन् ।
कागजी प्रकृया पुरा गरेपछि कागजी फायल बोकेर नगरको योजना शाखा, मेयर, प्रमुख प्रशासकीय अधिकृत हुँदै लेखा अधिकृत समक्ष धाउनुपर्ने हुन्छ । योजना शाखामा बुझाइएको रेकर्ड फायलका कागजात, बील हराउने वा च्यातिने खतरा उत्तिकै हुन्छ । त्यही कारण रेकर्ड फायललाई विस्थापित गर्न योजना कार्यान्वयन पुस्तिका तयार पारेर प्रयोगमा ल्याएको नगरपालिकाका योजना शाखा प्रमुख नारायण खवासले बताए ।
योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याइएपछि योजना कार्यान्वयन पुस्तिका भरेर मेयर, प्रमुख प्रशासकीय अधिकृत हुँदै लेखा अधिकृतको कार्यकक्ष धाइरहन पर्दैन । सिधै योजना शाखामा बुझाएपछि खातामा पैसा हालेर फोनमार्फत जानकारी दिने व्यवस्था मिलाइएको मेयर भट्टराई बताउँछन् ।
‘योजनाको कामलाई व्यवस्थित तरिकाले सम्पादन गर्ने र सुशासन कायम गर्ने लक्ष्यका साथ योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याइएको हो । यसले सकैलाई बार्गेनिङ गर्ने ठाउँ दिँदैन,’ मेयर भट्टराईले भने, ‘अव फायल बोकेर कोठा–कोठा कुदिरहन परेन । काम गरे अनुसार योजना कार्यान्वयन पुस्तिका भरेर योजना शाखामा बुझाए पुग्छ ।’
योजना कार्यान्वयन पुस्तिकाभित्र उपभोक्ता समिति गठन सम्वन्धी सुचना, उपभोक्ता समिति गठन गर्दाको आमभेलाको निर्णय, लागत अनुमान टिप्पणी र आदेश, योजना सम्झौता कागजात, नागरिकता राख्ने पेज, योजना सम्झौताको टिप्पनी र आदेश, प्रमुख प्रशासकीय अधिकृतको कार्यादेश, सुचना पार्टीको नमुना, किस्तागत/अन्तिम भुक्तानी तथा फरफारक पत्र भर्न मिल्नेगरी राखिएका छन् ।

यस्तै, म्याद थप गर्दाको निर्णय, म्याद थपको लागि निवेदन, खर्च सार्वजनिक सुचना फारम, मेसिनरी उपकरणको भाडा सम्वन्धी सम्झौता, कोटेसन स्वीकृत गर्दाको निर्णय, कोटेशन/दररेट टाँस्ने पेज, बिल भर्पाइ टाँस्ने पेज, डोर हाजिर फायल, काम सुरु हुनुभन्दा अघिको फोटो टाँस्ने पेज, कार्य सुरु हुँदाको फोटो, कार्य सम्पन्न पछि प्राविधिकले नापजाँच गरेको र सम्पन्न योजनाको होर्डिङ बोर्ड सहितको फोटो राख्ने पेज छुट्याइएका छन् ।
पुस्तिकामा सार्वजनिक सुनुवाई सम्वन्धी सुचना, सार्वजनिक सुनुवाईको निर्णय, सार्वजनिक परीक्षण प्रतिबेदन, अनुगमन समितिको निर्णय, अनुगमन तथा सुपरिवेक्षण समितिको अनुगमन फारम, फरफारक गर्दाको निर्णय, फरफारक तथा अन्तिम भुक्तानीका लागि वडाध्यक्ष र वडासचिवको सिफारिस तथा नगरपालिकाबाट वडा कार्यालयलाई योजना हस्तान्तरण गर्ने कागजात राखिएका छन् ।
पुस्तिकाको कभरमा योजनाको नाम, योजनाको किसिम, वडा नम्बर, स्थान, बजेट खर्च शिर्षक, योजना/कार्यक्रमको लागत, नगनरपालिकाको अनुगमन, सम्झौता मिति र सम्पन्न मिति उल्लेख गर्ने खाली ठाउँ राखिएका छन् ।