मंगलवार, पौष १७ २०८०
नेपाल वाइड
खोटाङ, १७ पुस । वरिष्ठ पत्रकार हरिहर बिरहीले पत्रकारितालाई बिश्वसनीय र मर्यादित बनाउने जिम्मेवारीलाई पत्रकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
मंगलबार खोटाङका पत्रकारसँगको भेटघाटका क्रममा वरिष्ठ पत्रकार बिरहीले पछिल्लो समय पत्रकारितामा बिश्वसनीयता तथा नैतिक मुल्य मान्यताको संकट देखा परेको उल्लेख गर्दै पत्रकारितालाई बिश्वनीय, लोकप्रीय, सम्मानित र मर्यादित बनाउनु पत्रकारको चुनौती र दायित्व भएको औंल्याएका छन् ।
होटल शुभदिनमा भएको भेटघाटमा बिरहीले लोकतन्त्र स्थापना तथा प्रेस स्वतन्त्रता प्राप्तीपछि पनि पत्रकार अपेक्षित रुपमा क्षमता र शुद्धताको विकास गर्न चुकेको उल्लेख गरेका छन् ।
‘लोकतन्त्र स्थापना भएपछि, प्रेस स्वतन्त्रता पाएपछि पत्रकारितामा जुन क्षमता र शुद्धता आउला भनेर अपेक्षा गरिएको थियो, त्यसमाचैं कतै न कतै चुकेको जस्तो लाग्छ । हामीले गम्भीर हुनै पर्दछ । बिश्वसनीयताको संकट देखा परेको छ । नैतिक मुल्या मान्यताको पनि संकट देखा परेको छ,’ बिरहीले भने ‘पत्रकारिताप्रति र पत्रकारप्रति जनमानसमा पहिले जुन प्रकारको सम्मान र जुन प्रकारको आदर देखिन्थ्यो, त्यसमा आजकाल कम हुँदै गएको हो की भन्ने अनुभुती हुन थालेको छ ।’
बिरहीले पत्रकारितामा संख्यात्मक बृद्धि व्यापक भए पनि गुणात्मक बिकास हुन नसकेको टिप्पणी गरेका छन् । अहिलेको पत्रकारिताले नागरिकको अपेक्षा पुरा गर्न नसकेको बिरहीले उल्लेख गरे । ‘यो एउटा चुनौती पनि हो एउटा जिम्मेदारी पनि हो । त्यो जिम्मेदारी पुरा गर्न सक्यौं भने अहिले देखिएको गुनासो निराकरण हुनसक्छ,’ उनले भने, ‘यो व्यक्तिले मात्र सम्भव छैन ।
पत्रकार सम्वद्ध संगठनहरुले आफ्नो पत्रकारलाई प्रशिक्षित गर्ने र आचारसंहितामा आवद्ध गर्ने, मूल्यांकन प्रकृयालाई व्यवस्थित गर्दै पत्रकार भनेको साँच्ची नै नागरिक समाजको अशल प्रतिनिधि हुन् भन्ने मान्यतालाई उजागर गर्ने दिशामा लाग्न जरुरी छ ।’