बुधवार, पौष १८ २०८०
नेपाल वाइड
खोटाङ, १८ पुस । खोटाङमा नेपाली सेनाले हेलिप्याड निर्माण गरिदिएका छन् । गोरखनाथ गण मुडे ब्यारेकले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको लोकेबरमा भलिबल ग्राउण्ड सहितको हेलिप्याड निर्माण गरिदिएका हुन् ।
त्रि–धार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिक रुपमा तत्काल स्वास्थ्य संस्था लैजानुपर्ने अवस्थाका बिरामीको उद्धारका लागि ३० मिटर लम्बाई र ३० मिटर चौडाई भएको हेलिप्याड निर्माण गरिदिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताए ।
नगरपालिकाको अधिनमा रहने हेलिप्याडमा ३५ जनासम्म अट्ने क्षमताको एन–नाइन्टिन हेलिकोप्टर अवतरण तथा उडान भर्न मिल्ने नेपाली सेनाले जनाएको छ ।
ब्यारेकबाट खटिएका ३५ जना सेनाको टोलीले दुई हप्ता लगाएर खेलमैदान सहितको हेलिप्याड तयार पारेका हुन् । सार्वजनिक जग्गामा हेलिप्याड निर्माणका क्रममा नगरपालिकाले जेसिबी र त्यसमा लाग्ने इन्धन उपलब्ध गराएको थियो ।
सेनाले निर्माण गरेको हेलिप्याड बुधबार हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राईले उद्घाटन गरेकी छन् । अन्य समयमा भलिबल खेल्न प्रयोग हुने हेलिप्याडलाई आपतविपदका समयमा उद्धारका लागि प्रयोग गरिने नगर प्रमुख राईले बताईन् ।
सैनिक–नागरिकबीच सुमधुर सम्बन्ध स्थापना गर्ने हेतुले नेपाली सेनाले एउटै मैदानमा खेलमैदान र हेलिप्याड निर्माण गरिदिएका हुन् । नेपाली सेनाले खेलमैदान सहितको हेलिप्याडमा आफ्नै खर्चमा महिला–पुरुष शौचालय पनि निर्माण गरिदिएका छन् ।
हाल उदयपुरको गाईघाटबाट फोक्सिङटार पार गरेर धितुङ हुँदै हलेसी आउजाउ गर्ने छोटो बाटो खुलेको छ । सो सडक खण्डमा सवारी साधनको बाक्लो आउजाउ बढेसँगै धितुङमा हेलिप्याड बनाइएको प्रमुख सेनानी सुजन गुरुङले बताए ।
हेलिप्याडमा भलिबल खेल्नका लागि गणले हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका वडाध्यक्ष कमल गिरीलाई दुई वटा भलिबल र एक थान नेट तथा धितुङका वडाध्यक्ष टेकराज राईलाई दुई वटा भलिबल र एउटा नेट हस्तान्तरण गरेको छ ।
हेलिप्याड उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म खोटाङका गुल्मपति प्रहरी नायब उपरीक्षक कृष्णबहादुर बम, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।