Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आफू भएर बाँच

    आफू भएर बाँच


    • बिहिवार, पौष १९ २०८०

    • प्रमिला राई


    आफू भएर बाँच
    प्रमिला राई

    आफू भएर बाँच

    आऊ प्रिय

     

    वर्षौँदेखिको मौनता तोडेर

    तिमी विस्फोट होऊ

     

    फुटाइदेऊ तिम्रो मौनताको बाँध

    भत्काइदेऊ तिमी छेकिएको पर्खाल

    निश्चिन्त उडिरहेको चराहरूको हुलमा उड

    निसन्देह यो पृथ्वीमा वहिरहेको वताससँग बह

     

    नरोक आफूलाई कुनै पनि शर्तको घेरामा

    नबाँध आफूलाई कुनै पनि स्वार्थको बन्धनमा

     

    आऊ प्रिय

    तिमी नदी झैँ बग निरन्तर बगिरह

    तिमी बाटो झैँ हिँड

    निरन्तर अघि बढिरह

     

    तिमीले वर्षौँदेखि थुनेर राखेको प्रेमको परेवा

    उडाइदेऊ खुल्ला आकाशमा

    तिमीले साँचेका अगन्य रहरहरू

    छरिदेऊ यत्रतत्र

     

    आऊ प्रिय

    आफ्नै इच्छाहरू सङ्गालेर

    बनाऊ एउटा सुन्दर घर

    र बन आफै मालिक

    तर नबनाऊ कसैलाई दासी

    छुटेर निस्क त्यो निर्दयी अँगालोबाट

    र बाधिऊ आफ्नै अँगालोमा

     

    हो प्रिय

    आफ्नो त्यागहरूको जोड घटाऊ गर

    सम्झौताहरूको निर्मम हिसाब गर

    र बाँच आफ्नै निजी जिन्दगी

     

    तिम्रो जिन्दगीको फैसला गर्ने को त्यो ?

    तिम्रो सपनाहरूको मालिक को त्यो ?

     

    हो प्रिय

    तिमी आफै भएर बाँच

    वर्षौँदेखि थुनिएको दिलको ढोका खोलेर

    उन्मुक्त हाँसो हाँस

     

    जसरी प्रकृती आफ्नै नियममा चल्छ

    तिमी पनि चलाऊ आफ्नै नियममा आफूलाई

    जसरी समयको काँटा रोकिदैन

    त्यसरी नै नरोक आफूलाई

     

    उडेर जाऊ लेक बेँसी आफै हेर

    हिँडेर जाऊ पहाड मधेस आफैं हिँड

    आकाश छोएर हेर

    धर्ती फोरेर हेर

     

    हो प्रिय

    तिमी एक पृथ्वी बाँच

    एक इतिहास बाँच

    एक युग बाँच

    तर आफै भएर बाँच

    नखोज अरुभित्र आफूलाई

    नहेर अरुभित्र आफूलाई

    नभेट अरुभित्र आफूलाई

     

    प्रिय !

    तिमी निसन्देह बाँच

    निर्बाध बाँच

    तिमी आफू भएर बाँच ।

    कवयत्री प्रमिला राई

    सम्बन्धित समाचार