Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    किराती भेषभुषा तथा बाजागाजाको गलत प्रयोग नगर्न संघको आग्रह

    किराती भेषभुषा तथा बाजागाजाको गलत प्रयोग नगर्न संघको आग्रह

    जुनसुकैबेला ढोल झ्याम्टा नबजाऔं

    • बिहिवार, पौष १९ २०८०

    • नेपाल वाइड


    किराती भेषभुषा तथा बाजागाजाको गलत प्रयोग नगर्न संघको आग्रह
    पत्रकार सम्मेलनमा किरात राई सांस्कृतिक कलाकार संघको धारणा राख्दै अध्यक्ष शालिक शातासक राई ।

    काठ्माडौं, १९ पुस । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्यसमितिले किराती भेषभुषा, चाडको नाम तथा बाजाको गलत प्रयोग नगर्न आग्रह गरेको छ । पछिल्लो समय किराती भेषभुषा, चाडको नाम, मौलिक बाजागाजा जस्ता संस्कारजन्य सम्पदाको गलत प्रयोग भइरहेको उल्लेख गर्दै कलाकार संघले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष शालिक शातासक राईले किराती चाडलाई ‘पर्व’, साकेलालाई ‘चण्डी’, उभौली साकेलालाई ‘उभौली चण्डी’ र उधौली साकेलालाई ‘उधौली चण्डी’ भन्ने गरिएको उल्लेख गर्दै खेद प्रकट गरेका छन् ।

    कलाकार संघले किराती मुन्धुम अनुसार निश्चित समय र अवसरमा मात्र बजाउनुपर्ने किराती बाजा ढोल झ्याम्टा जुनसुकै ठाउँ र समयमा प्रयोग गर्न थालिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    विशेषगरी विभिन्न राजनीतिक दलको कार्यक्रममा ढोल झ्याम्टा बजाएर साकेला ‘नाच्ने/नचाउने’ गरिएकोप्रति लक्षित गर्दै संघले निश्चित समय र अवसरमा मात्र ढोल झ्याम्टा बजाउन आव्हान गरेको हो ।

    यस्तै, किरात समुदायमै पनि सारीको पारी, सुरुवाल तथा जुत्तामा चिन्डो, मुर्चुङ्गा र बिनायोको बुट्टा प्रयोग भइरहेको भन्दै अध्यक्ष राईले यस्तो गतिविधि अबिलम्ब रोक्न सचेत गराएका छन् ।

    “किरात राई समुदायले चिन्ड़ो (वाबुक)लाई सांस्कृतिक प्रतीक मान्छन्,” राईले भने, “मुन्दुममा चिन्डोलाई जीवनको प्रतीकको रुपमा मानिने भएकोले यसको प्रयोग सचेत भएर गर्नुपर्ने हुन्छ ।”

    यस्तै, कलाकार संघले मुन्दुमी मान्यता अनुसार सांस्कृतिक कार्यहरूमा मात्र फेटा (पगरी)को प्रयोग गर्नुपर्नेमा हाल सो मान्यता विपरित गलत ठाउँमा फेटा (पगरी)को प्रयोग भइरहेको ‘सच्चिन/सच्याउन’ आव्हान गरेको छ ।

    “सेतो फेटा (पगरी) किरात राईको शिरपोस हो । किराती समुदायले शुभकार्यका नायकहरुलाई फेटा लगाइदिन्छन्,” विज्ञाप्तीमा भनिएको छ, “बेहुला, बेहुली, कोंग्पी, कलिया, नाक्छोङ, साकेला उधौली उभौली, सम्मान, प्रतिष्ठा, सायारेम्मा (शिर उभ्याउनी) जस्ता कार्यहरूमा मात्र प्रयोग गर्नुपर्ने मुन्दुमी मान्यता छ ।”

    संघका महासचिव पदम थुलुङ राईले साकेला गीतमा भएको धार्मिक आक्रमणले किरात समुदायको मुन्दुमी धार्मिक आस्था, बिश्वास, भावना, मूल्य मान्यतामाथि आघात पुगेको चर्चा गरे ।

    संघले किराती राई समुदायको जीवन दर्शन मुन्दुम, भाषा, धर्म, संस्कार, संस्कृति, लिपि, इतिहास, ऐतिहासिक तथा पुरातात्विक गढी, कोटघर, सांस्कृतिक पहिचान र सभ्यतालाई गीत संगीत, वृत्तचित्र, चलचित्र, साकेला सम्बन्धि सिली, चित्रकला, मूर्तिकला, वास्तुकला, नाटक, हस्तकला आदिको माध्यममार्फत् अभिलेखीकरण, संरक्षण तथा सम्बर्दन गर्दै आएको छ ।

    सम्बन्धित समाचार