खोटाङ, २१ पुस । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी खोटाङले गाउँमै पुगेर प्रशासन, मालपोत र नापीको सेवा प्रवाहको व्यवस्था गर्न माग गरेको छ ।
पुस २० गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउदै नेपाल कम्यूनिष्ट पार्टीले आगामी वर्षदेखि नागरिकता, जग्गा किनबेच, राष्ट्रिय परिचय–पत्र लगायतका सेवा सम्वन्धित पालिकाबाट प्रवाह गर्ने व्यवस्थाका लागि अनुरोध गरेको छ ।
नेपाल कम्यूनिष्ट पार्टी खोटाङका सेक्रेटरी सुदिप ‘सी’ले सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहलाई बुझाउँदै दश वर्षे जनयुद्ध र जन–आन्दोलनको जगमा नेपाल संघीय प्रणालीमा गए पनि अझै कतिपय सेवाका लागि जनता साविकको सदरमुकाम धाउन बाध्य भएको भएको बताएका छन् ।
जनतालाई संघीयताको वास्ताविक अनुभूतीका लागि प्रशासन, मालपोत र नापीको सेवा पालिकाबाटै दिने व्यवस्था मिलाइनुपर्ने नेपाल कम्यूनिष्ट पार्टी खोटाङका सेक्रेटरी सुदिप ‘सी’ले बताए । ‘अझै पनि वास्तविक संघीयताको अभ्यास गरिएको छैन ।
जसका कारण दुर्गम क्षेत्रका जनताले नागरिकता, राष्ट्रिय परिचय–पत्र र जग्गा किनबेचको कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘जुन समय र खर्चका हिसाबले निकै महंगो र कष्टकर छ । यस बारे प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं ।’