आइतवार, पौष २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ पुस । खोटाङको बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको ६ वर्षपछि १४ औं गाउँसभाले बराहपोखरीलाई फेरेर बाराहापोखरी गाउँपालिका नाम राख्ने निर्णय गरेको हो ।
स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिमार्फत बाराहापोखरी नाम सिफारिस गरिएको भए पनि ‘टाइप मिस्टेक वा नियतवस’ गाउँपालिकाको नाम बिग्रेर आएका कारण बाराहापोखरी कायम हुनेगरी सिफारिस गरिएको गाउँपालिकाका उपाध्यक्ष भुबलराज राईले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम गाउँसभाले गाउँपालिकाको नाम फेर्नकालागि प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष सिफारिस गरेको हो ।
धार्मिक तथा पर्यटकीयस्थल बाराहापोखरीको नामबाट गाउँपालिकाको नामाकरण गरिएको थियो तर बराहपोखरी नाम कायम भएपछि आलोचना हुँदैआएको थियो । ‘स्थानीय तहको नाम वा केन्द्र परिवर्तन गर्न परे सम्वन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउने’ व्यवस्था छ ।