Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    उधारोमा सामान निकाल्न जमानी बसेका मेयर विरुद्ध प्रशासनमा उजुरी

    उधारोमा सामान निकाल्न जमानी बसेका मेयर विरुद्ध प्रशासनमा उजुरी


    • सोमवार, पौष २३ २०८०

    • नेपाल वाइड


    उधारोमा सामान निकाल्न जमानी बसेका मेयर विरुद्ध प्रशासनमा उजुरी
    मेयर तीर्थराज भट्टराई ।

    खोटाङ, २३ पुस । ठेकेदारका लागि हार्डवेयर पसलबाट उधारोमा सामान निकाल्न जमानी बसेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई विरुद्ध प्रशासनमा उजुरी परेको छ ।

    दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) सडक कालोपत्रेको ठेक्का लिएको याक्थुङहाङ/साप/सिरुवा जेभीका शिव चौंलागाईका लागि विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालि दिक्तेलबाट उधारोमा १५ लाखको निर्माण सामग्री निकाल्न जमानत बसेका मेयर भट्टराई विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।

    मेयर भट्टराईले १० दिनभित्र भुक्तानी हुनेगरी गत असार ९ गते ठेकेदारकोतर्फबाट विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिको नाममा १५ लाखको आफ्नै खाताको चेक काटिदिएर जमानी बसेका थिए ।

    तर, ठेकेदारले ६ महिना बित्दा पनि भुक्तानी नदिएपछि विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालि पुस २२ गते प्रशासन पुगेको हो । पैसा नभएको खाताको चेक दिएर ठेकेदारलाई सहयोग गरेका मेयर भट्टराई अहिले अप्ठ्यारोमा परेको बताउँछन् ।

    ठेकेदारले जम्मा १७ लाख ५० हजारको निर्माण सामग्री लगेका थिए । त्यसमध्ये ८ लाख मात्र भुक्तानी भएको विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिले जनाएको छ । प्रशासनलाई दिइएको निवेदनमा आवश्यक छलफल गराएर वा कानुन बमोजिम कारवाही गरेर भुक्तानी हुने बातावरण बनाइदिन आग्रह गरिएको छ ।

    dddd.jpg

    मेयर भट्टराई बिरुद्ध प्रशासनमा परेको उजुरी ।

    याक्थुङहाङ/साप/सिरुवाले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक डिबिएसटी कालोपत्रेको सम्झौता गरेको थियो । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सक्नेगरी सडक कालोपत्रेको ठेक्का लागेको थियो । तर कालोपत्रेको काम अलपत्र छ ।

    सडक कालोपत्रेको काममा ढिलासुस्ती भएको भन्दै स्थानीय पटक–पटक नगरपालिका घेराउ गर्न पुगेका थिए । त्यो बेला ठेकेदारले निर्माण सामग्री खरिद गर्ने पैसा समेत नभएको भनेपछि मेयर भट्टराईले उधारोमा सामान निकाल्न सहयोग गरेका थिए ।

    “नगरबासीले नगर घेराउ गर्न थालेपछि ठेकेदारलाई तत्काल काम सुरु गर्न प्रेसर गर्‍यौं तर ठेकेदारले काम गर्नका लागि चाहिने सामान निकाल्ने खर्च छैन, उधारोमा सामान निकाल्न सहयोग गर्न आग्रह गर्‍यो,” भट्टराईले भने, “हार्डवेयर व्यवसायी उधारोमा सामान दिन तयार भयो तर नगरको चेक माग्यो । काम रोकिएको छ, मान्छे हिँड्ने अवस्था छैन वर्षाको बेला । दिन्छहोला भनेर आफ्नै नामको चेक काटेर दिएँ । अवरुद्ध काम सुचारु हुन्छ भने किन सहयोग नगर्ने भन्ने ठानेको थिएँ ।”

    ठेकेदारलाई पक्राउ गर्न गृह–मन्त्रालयमा मेयरको उजुरी

    उधारो सामान निकाल्न मेयर भट्टराईको सहयोग पाएका ठेकेदारले भुक्तानी नगरेपछि र विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालि प्रशासनमा पुगेपछि मेयर भट्टराईले याक्थुङहाङ/साप/सिरुवा जेभीका चौंलागाई विरुद्ध सोमबार गृह–मन्त्रालयमा उजुरी दिएका छन् ।

    सहयोग गर्दा बैंकिङ कसुरमा मुद्धा लाग्ने अवस्था आएपछि मेयर भट्टराईले ठेकेदार चौंलागाईलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरेका छन् । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले पनि सोमबार गृह–मन्त्रालयलाई पत्राचार गर्दै चौंलागाईलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।

    दिक्तेल–आहाले सडक दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुनेछ । आयोजना तत्कालिन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले २०७५ मंसिर १ गते शिलान्यास गरेका थिए । अस्पतालचोकबाट हाटडाँडा (केशव बस्नेतको घर)सम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गर्ने सम्झौता छ । याक्थुङहाङ/साप/सिरुवा जेभीले खगेन्द्र राईमार्फत काम गर्दैआएको छ ।

    Meyar ujuri .jpg
    ठेकेदार बिरुद्ध मेयर भट्टराईले गृह–मन्त्रालयमा दिएको उजुरी ।

    सम्बन्धित समाचार