बिहिवार, पौष २६ २०८०
नेपाल वाइड
खोटाङ, २६ पुस । खोटाङको इलाका प्रशासन कार्यालय ऐसेलुखर्कमा महिना दिनदेखि नागरिकताको सिफारिस लगायतका सेवा बन्द भएको छ । गृह–मन्त्रालयले शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा गत मंसिर १८ गतेदेखि ईलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणिकरण एवं सिफारिस गर्ने, नावालक परिचय–पत्र प्रदान लगायतका सेवा रोकिएको हो ।
मन्त्रालयले इलाका प्रशासन कार्यालयको सेवा सुचारु गराउनका लागि नायब सुव्वा राजेन्द्र भुर्तेललाई कायम मुकामयको जिम्मेवारी दिएको थियो । तर भुर्तेलको कायम मुकायमको अवधि मंसिर १७ गते सकिएपछि इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको हो । नागरिकता सिफारिस लगायतका सेवा बन्द हुँदा ऐसेलुखर्क गाउँपालिकाका ७ वडाका नागरिक मारमा परेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्र राईले बताए ।
भुर्तेलको कायम मुकायम अवधि सकिएकै दिन जिल्ला प्रशासन कार्यालयले गृह–मन्त्रालयलाई कायम मुकायम अवधि सकिएको जानकारी गराएको थियो ।
त्यस्तै, अधिकृतको व्यवस्था गर्न वा कायम मुकायम मुकरर गरिदिनका लागि पुस १६ गते पनि मन्त्रालयलाई पत्राचार गरेको थियो । तर हालसम्म पत्रको सुनुवाइ नभएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।
निर्णयका लागि गृह–मन्त्रालयमा सचिवको टेबलमा पुगेको पत्र पुःन कर्मचारी प्रशासन शाखामा फिर्ता पठाइएको श्रोतले जनाएको छ । इलाका प्रशासन कार्यालयबाट नागरिकता सिफारिस लगायतका सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ऐसेलुखर्क पुगेर पुस ४ र ५ गते सेवा प्रवाह गराएका थिए ।