शनिवार, पौष २८ २०८०
नेपाल वाइड
खोटाङ, २८ पुस । खोटाङमा आयोजित ‘नेर्पा भुलभुले अन्तरवडास्तरिय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले उचालेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा आयोजना गरिएको प्रतियोगीतामा आयोजक नेर्पा स्पोर्टस क्लब ‘बी’लाई १ का बिरुद्ध २ गोलले पछि पार्दै दोर्पाचिउरीडाँडाले उपाधि उचालेको हो । पराजयसँगै आयोजक उपविजेता बनेको छ । शनिबार स्थानीय संसारीडाँडास्थित खेलमैदानमा भएको फाइनल खेलमा दोर्पाचिउरीडाँडाका खेलाडी बिजु भुजेलले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेका थिए ।
यस्तै, आयोजक नेर्पा स्पोर्टस क्लब ‘बी’का लागि सुरज राईले पहिलो हाफमा एक गोल गरेका थिए । प्रतियोगीताका विजेता दोर्पाचिउरीडाँडाले नगद एक लाख ५० हजार र उपविजेता नेर्पा स्पोर्टस क्लब ‘बी’ले नगद ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेका छन् ।
प्रतियोगिताका सेमिफाइनलिष्ट साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङले नगद २५/२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका आयोजक नेर्पा स्पोर्टस् क्लबका अध्यक्ष शरद राईले बताए ।
प्रतियोगीतामा दोर्पाचिउरीडाँडाका बिजु भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । भुजेललाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा हाईस्कोरर दोर्पाचिउरीडाँडाकै विकी राई बनेका छन् ।
विकीले नगद चार हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । वेष्टकोचको उपाधि दोर्पाचिउरीडाँडाकै दिपेश राई घोषित भएका छन् ।
यस्तै, बेष्ट डिफेण्डर आयोजक टिमका शरद गुरुङ, वेष्ट स्ट्राइकर सुनिल खड्का, वेष्ट मिडफिल्डर दोर्पाचिउरीडाँडाका शरद राई, वेष्ट गोलरक्षक दोर्पाचिउरीडाँकै बादल राई, द राईजिङ प्लेयर आयोजक टिमका प्रज्वल गुरुङ घोषित भएका छन् । उनीहरुलाई जनही दुई हजार पाँच सयको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।
पुस २२ गतेदेखि शुरु गरिएको प्रतियोगितामा जिल्लाका १८ टिमको सहभागिता रहेको क्लबका सचिव विरेन गुरुङले बताए । प्रतियोगीताका विजेता टिम तथा खेलाडीलाई प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका प्रमुख समिर राई, जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
२०७६ सालमा स्थापना गरिएको नेर्पा स्पोर्टस क्लबले २०७७ सालमा पहिलो संस्करण सञ्चालन गरेको थियो । कोभिड–१९ का कारण नियमित गर्न नसकिएको संस्करणलाई अव हरेक वर्ष निरन्तरता दिने क्लवले जनाएको छ । प्रतियोगिता समापनको अवसरमा विभिन्न क्षेत्रमा रहेर आफ्नो गाउँ तथा देशका लागि योगदान पुर्याउने नेर्पाका विभिन्न व्यक्तिलाई अभिनन्दन गरिएको छ । डा. धनप्रसाद सुवेदी, डा. रमेश रिजाल र अग्रज खेलाडी रामबहादुर राईलाई अभिनन्दन गरिएको हो ।

