Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अस्पताल निर्माणको ठेक्का लिएका ठेकेदारलाई ‘बढी भुक्तानी’

    अस्पताल निर्माणको ठेक्का लिएका ठेकेदारलाई ‘बढी भुक्तानी’


    • सोमवार, माघ १ २०८०

    • नेपाल वाइड


    अस्पताल निर्माणको ठेक्का लिएका ठेकेदारलाई ‘बढी भुक्तानी’

    खोटाङ, १ माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा १५ शैयाको अस्पताल भवन निर्माणका क्रममा ठेकेदारलाई सार्वजनिक खरिद नियमावली मिचेर बढी भुक्तानी दिइएको खुलेको छ । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७९/०८० को प्रारम्भिक लेखा परीक्षण प्रतिबेदनमा अस्पताल भवन निर्माणको ठेक्का लिएको नमुना हिमालयन जेभीलाई १५ लाख ३५ हजार ९३३ रुपैयाँ बढी भुक्तानी दिइएको औंल्याइएको छ ।

    दोश्रो बिलसम्म भुक्तानी गर्दा फछ्र्यौट भएको पेश्की कटाएर रकम भुक्तानी गर्नुपर्नेमा कट्टा नगरी बढी भुक्तानी भएको देखिएको भन्दै महालेखाले बढी भुक्तानी भएको रकम सम्बन्धित निर्माण व्यवसायीको अर्को विल भुक्तानीमा समयोजन गर्न अन्यथा असूल उपर गर्न राय दिएको छ । ‘पेश्की फछ्र्यौटको रकम समेत भक्तानी दिएको सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ मा खरिद सम्झौता अनुसार सार्वजनिक निकायले रनिङ विल वा अन्य कुनै विल विजकको भुक्तानी गर्दा करारका शर्त वमोजिम प्राविधिक नाप जाँच गरी भुक्तानी दिनुपर्ने उल्लेख छ,’ महालेखाले भनेको छ, ‘नगरपालिकाले दोश्रो विलसम्म भुक्तानी गर्दा फछ्र्यौट भएको पेश्की कटाई रकम भुक्तानी गर्नुपर्नेमा कट्टा नगरी बढी भुक्तानी भएको देखिएकोले बढी भुक्तानी भएको रकम सम्बन्धित निर्माण व्यवसायीको अर्को विल भुक्तानीमा समयोजन गर्नुपर्ने अन्यथा असूल हुनुपर्ने ।’

    दोश्रो बिलसम्ममा निर्माण कम्पनीलाई ३ करोड ३४ लाख ५१ हजार १३२ रुयैयाँ भुक्तानी भइसकेको छ । यस्तै, निर्माण व्यवसायीसँगको खरिद सम्झौतामा प्रोभिजनल सममा उल्लेखित रकम भुक्तानी दिँदा खर्च भएको वास्तविक बिल पेश गरेको आधारमा भुक्तानी दिने उल्लेख भएकोमा प्रोभिजनल सममा विमा वापत एक लाख भुक्तानी दिएकोमा ६ लाख ४५ हजार ७६३ को विल पेश गरेको देखिएकोले विलभन्दा बढी भुक्तानी भएको २ लाख ५४ हजार २३७ असुल हुनुपर्ने महालेखाको प्रारम्भिक लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।

    नमुना हिमालयन जेभीले २०८० साउन ८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ साउन ८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो । सम्झौता म्याद नाघेको चार महिना बित्दा अस्पतालको २८ प्रतिशत मात्रै वित्तीय प्रगती देखिएको महालेखाले जनाएको छ । हाल अस्पताल भवन निर्माणको काम ठप्प छ । अस्पतालको पिलरको लागि डण्डी बाँधेर छाडिएको छ । डण्डीलाई खियाले खाएको छ । खियाका कारण डण्डीको गुणस्तरमा र्‍हास आउने भन्दै महालेखाले समयमा काम गराउनेतर्फ नगरपालिकाले ध्यान दिनुपर्ने राय दिएको छ ।

    डिपिआर पास नगरी सो अस्पतालको भवन निर्माण सुरु गरिएको थियो । केही समयअघि मन्त्रालयबाट डिपिआर पास गरेर नगरकार्यपालिकाबाट अनुमोदन गराइसकिएकाले यसै हप्तादेखि अस्पताल निर्माणको काम सुचारु हुने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एबं नगर प्रवक्ता कमल गिरीले बताए ।

    सम्बन्धित समाचार