बुधवार, माघ ३ २०८०
दमन राई
खोटाङ, ३ माघ । कृषि उपज संकलन एबं बजार व्यवस्थापनका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका पवन राईले कृषि संकलन केन्द्र निर्माण गरे । गाउँमा उत्पादित कृषि उपज खरिद गरिदिने र बजारमा लगेर बिक्रीवितरण गर्ने व्यवस्थाका लागि १४ लाखमा बनाइएको कृषि संकलन केन्द्र ‘सोचेजस्तो’ नभएको राई बताउँछन् ।
राईले आर्थिक वर्ष २०७४/०७५ मा व्यक्तिगत १० लाख र गाउँपालिकाको ४ लाख अनुदानमा गाउँपालिकाको केन्द्रमा कृषि संकलन केन्द्र निर्माण गरेका थिए । गाउँपालिकाले स्थानीय कृषि थोकवस्तुको मुल्य तोकिदिने र सोही मुल्यमा खरिद गरेर संकलन गर्दै बजारसम्म पुर्याउनेगरी कृषि उपज संकलन केन्द्र बनाइएको हो ।
‘नकुहिने’ कृषि उपज संकलन गर्नेगरी बनाइएको संकलन केन्द्रमा आलु र अलैंची मात्र भण्डार गर्दै बजार पु¥याइने गरेको राई बताउँछन् । “आलु र अलैंची निकै ठेगेर पठाइदिएँ । भाउ घटेको बेला अलैंचीचैं ह्वार–ह्वार आयो । किनेर अर्को वर्ष बेचेँ,” राईले भने, “अन्य चिजहरु आएन । किसानले कृषि उत्पादन विक्री गर्न नल्याउँदोरहेछ । कन्सेप्ट राम्रै लागेको थियो, प्रभावकारी हुन्छ भनेर बनाएँ । तर जे, जस्तो सोचिएको थियो त्यस्तोचैं रहेन ।” दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसबाट निर्वाचित भूपेन्द्र राई अध्यक्ष रहेकोबेला सो कृषि संकलन केन्द्र निर्माण गरिएको हो । हाल एमालेका लोकेन्द्र राई गाउँपालिका अध्यक्ष छन् ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा करोडौं खर्चमा निर्माण गरिएको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोतकेन्द्र प्रतिफल विहिन बनेको छ । अर्गानिक नगर बनाउने नारा सहित नगरपालिकाले नेपाल सरकार अर्थमन्त्रालयको विशेष अनुदान एबं प्रदेश सरकारको गरी करिब २ करोड ७० लाखको खर्चमा २०७७ सालमा कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोतकेन्द्र निर्माण गरिएको थियो ।
फोहोर तथा मलमुत्रबाट कम्पोष्ट मल उत्पादन गर्ने र बायोग्याँस उत्पादन गर्ने नारा ‘नारा’मै सिमित बनेको छ । न नियमित कम्पोष्ट मल उत्पादन भयो न वायोग्याँस नै । नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट फलदायी बन्न नसकेको हो ।
तामझामका साथ तत्कालिन मूख्यमन्त्री शेरधन राईले २०७७ साल चैतमा उद्घाटन गरेको कम्पोष्ट मल र वायोग्याँस प्लान्ट हाल बेवारिसे अवस्थामा छ । कम्पोष्ट मल र बायोग्याँस प्लान्ट आसपासमा मल परिक्षणका लागि बनाइएको हाइटेक टनेल, सिँचाई पोखरी, बगैंचा लगायतका संरचनाको सौन्दर्य बिग्रदै गएको छ ।

आवधिक योजनामा उल्लेख भए अनुसार नगरपालिकालाई अर्गानिक क्षेत्र बनाउने र कृषिका माध्यमबाट आत्मनिर्भर बनाउने योजना अन्तरगत कम्पोष्ट तथा वायोग्याँस प्लान्ट निर्माण गरिएको थियो । एमालेका दिपनारायण रिजाल मेयर रहेको बेला कम्पोष्ट मल र बायोग्याँस प्लान्ट निर्माण गरिएको हो । हाल नगरपालिकामा कांग्रेसका तीर्थराज भट्टराई मेयर र माओवादी केन्द्रका बिसन राई उपमेयर छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा २०७८ सालमा निर्माण गरिएको चिस्यान केन्द्र (कोल्ड स्टोर) पनि हालसम्म उपयोगमा ल्याइएको छैन । संघीय सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम र नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखमा निर्माण गरिएको चिस्यान केन्द्रमा ताला लगाएर छाडिएको छ ।
किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफुल लगायतका कृषि उपज भण्डारणका लागि बुईपाको पञ्चरदोबाटो नजिकै चिस्यान केन्द्र निर्माण गरिएको हो । सार्वजनिक दुई रोपनी जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र उपयोगमा नल्याइदा सरकारी लगानी बालुवामा पानी झैं भएको छ ।
३० टन भार क्षमताको चिस्यान केन्द्र २०७८ चैत २५ गते तत्कालिन प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए । नगरपालिकाले कार्यविधि निर्माण नगरेका कारण चिस्यान केन्द्र हालसम्म सञ्चालनमा आउन नसकेको हो । नगरपालिकाको स्वामित्वमा रहेको चिस्यान केन्द्रको रेखदेख मात्र वडाको दायित्वभित्र पर्ने बुईपाका वडाध्यक्ष दिनेश राई बताउँछन् । चिस्यान केन्द्रमा एकथोक मात्रै ‘स्टोर’ गर्न सकिने भएकाले पनि प्रयोगमा समस्या आएको हो ।
दिर्घकालिन रुपमा प्रयोग गर्ने योजना र सम्भाव्यता अध्ययनबिना बनाइएका कारण कृषि संरचनाहरु अलपत्र बन्न पुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई बताउँछन् । “हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने मानसिकताको उपज हो यो । यसको बजार कति छ, हामी कति गर्न सक्छौँ भन्ने कुरा सोचेनौँ,” भट्टराईले भने, “भावनामा बगेर निर्णय गर्ने, संरचना बनाउने र त्यसलाई प्रयोग नगर्ने आम समस्या छ ।
१० वर्ष पछाडि यसको महत्व कति हुन्छ, २० वर्षपछि महत्व कति हुन्छ ? यो संरचना बनाउँदैगर्दा यसको प्रभावकारिता कति छ भन्ने कुरा हामीले सोचेनौं ।” स्थानीय तहमा करोडौं लगानीमा बनेका संरचना ‘राजनीतिक प्रतिशोध’का कारण अलपत्र पर्ने गरेको खोटाङ कृषि फर्मका सञ्चालक कृषक गंगाबहादुर बिश्वकर्मा बताउँछन् । “एउटाले बनाएको संरचना अर्कोलाई मन पर्दैन । गठबन्धनले बनाएको एमालेलाई मन पर्दैन, एमालेले बनाएको गठबन्धनलाई मन पर्दैन, भएको यत्ती हो,” बिश्वकर्माले भने, “नत्र बनिसकेको संरचना सञ्चालनमा ल्याउन के समस्या छ र ! कसैलाई लिजमा चलाउन दिए भइहाल्छ ।”
हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा निर्माण सुरु गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र बनिनसक्दै अलपत्र छ । नगरपालिकाका ११ वटा वडाका किसानले उत्पादन गरेका खाद्यवस्तु, तरकारी तथा फलफुल संकलन गर्दै बिक्री गर्ने व्यवस्थाका लागि आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण सुरु गरिएको थियो ।
कृषि उपज उत्पादन हुने तर विक्री नहुने समस्य हल गर्नका लागि निर्माण सुरु गरिएको कृषि उपज संकलन केन्द्रको दुई वटा फलामे ट्रस ठड्याउने बाहेकका काम हुन सकेको छैन । घेराबारा हाल्ने, ढलान गर्ने लगायतका काम बाँकी नै छ । अलपत्र कृषि उपज संकलन केन्द्रलाई पूर्णता दिने योजना बनाइएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई बताउँछिन् । नगरपालिकाले हाल हलेसीमा पनि चिस्यान केन्द्र बनाइरहेको छ ।
