बिहिवार, माघ ४ २०८०
नेपाल वाइड
खोटाङ, ४ माघ । नेकपा (माओवादी केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल खोटाङको सम्मेलन आयोजक समिति गठन गरिएको छ । दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठानस्थित शहिद स्मृति सभाहलमा बिहिबार सम्पन्न भेलाले दिपेन थुलुुङको संयोजकत्वमा ५५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो ।
सम्मेलन आयोजक समितिको सदस्य सचिवमा सप्तमणी राई चयन भएका छन् । ‘मुलुकको अग्रगामी बिकास, समृद्धि र समानता आजको आवश्यकता ! इतिहाँस, सभ्यता र संस्कृतिको संरक्षण गर्न पहिचान सहितको संघीयता !’ भन्ने नारा सहित किराती राष्ट्रिय मुक्ति मोर्चाको आयोजक समिति बनाइएको हो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य अजम्बर काङमाङको प्रमुख आतिथ्यतामा भएको भेलामा किराती राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रिय उपाध्याक्ष अशोक राई, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, केन्द्रिय सदस्य दुुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रिय सदस्य ध्रुव बुढाथोकी धिरेन, प्रदेश कमिटि सदस्य टंक थापा लगायतको उपस्थिति रहेको थियो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य काङमाङले वर्तमान राजनीतिक उपलब्धीको पहिलो हिस्सेदार नेकपा (माओवादी केन्द्र) भएको बताएका छन् । काङमाङले अहिले पनि पहिचान र संघीयताको मुद्धा उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे । ‘किराती राष्ट्रिय मुक्तीमोर्चाले स्थापना कालदेखि नै पहिचानको पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ,’ काङमाङले भने, ‘अझ शसक्तआन्दोलनको आवश्यकता परेकाले सबै जना तयार रहन आव्हान गर्दछु ।’