Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सरस्वती माबि दिक्तेलको प्रअ नियुक्तीको विषयमा परेको रिट खारेज

    सरस्वती माबि दिक्तेलको प्रअ नियुक्तीको विषयमा परेको रिट खारेज


    • सोमवार, माघ ८ २०८०

    • नेपाल वाइड


    सरस्वती माबि दिक्तेलको प्रअ नियुक्तीको विषयमा परेको रिट खारेज
    दिक्तेलस्थित सरस्वती माबि ।

    खोटाङ, ८ माघ । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले प्रधानाध्यपक नियुक्तीको विषयमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बिरुद्ध परेको रिट खारेज गरिदिएको छ ।

    सरस्वती मावि दिक्तेलमा प्रकृया मिचेर प्रधानाध्यपक नियुक्त गरेको भन्दै सोही विद्यालयका निवर्तमान प्रअ केशरकुमार राईले उच्च अदालतमा नगरपालिका, मेयर तीर्थराज भट्टराई, नगर शिक्षा समिति, शिक्षा विकास तथा समन्वय इकाई लगायत विरुद्ध उत्प्रेषण मिश्रित परमादेश निषेधाज्ञा मुद्धामा रिट निवेदन हालेका थिए ।

    न्यायधिस हरिप्रसाद भण्डारी र बबिता उप्रेतीको संयुक्त इजलासले सोमबार नगर बिरुद्धको रिट निवेदन खारेज गर्ने फैसला सुनाएका हुन् । २०७८ सालमा शिक्षा नियमावली अनुसार पाँच वर्षका लागि प्रअको जिम्मेवारी पाएर काम गरिरहेको अवस्थामा नगरपालिकाले विधि मिचेर शिबहरी ढकाललाई प्रअ नियुक्त गरेको भन्दै राईले २०८० भदौ ८ गते र असोज १८ गते उत्प्रेषण मिश्रित परमादेश निषेधाज्ञा मुद्धा हालेका थिए ।

    शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै नगरपालिकाले असार ७ गतेको निर्णय अनुसार योग्य शिक्षकबाट प्रअका लागि असार ३१ गते आवेदन आव्हान गरेको थियो । ६१ आवेदकमध्येबाट परिक्षामा प्रतिष्पर्धा गराएर नगरपालिकाले ढकाल सहितलाई ५० प्रअ नियुक्त गरेको थियो ।

    नगरपालिकाले कार्यपालिकाको निर्णय अनुसार संघिय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन सम्वन्धी कार्यविधिले व्यवस्था गरे वमोजिम प्रधानाध्यापक नियुक्ती गरेको जनाएको छ ।

    तर नेपालको संविधान, शिक्षा ऐनको दफा १२ तथा शिक्षा नियमावलीले प्रद्धत्त गरेको कानुनी तथा संवैधानिक हकमा प्रतिकुल आघात पुगेको भन्दै राई उच्च अदालतमा पुगेका थिए । प्रधानाध्यापक नियुक्तीका लागि विद्यालय व्यवस्थापन समितिले नै प्रक्रिया शुरु गर्नु पर्ने कानुनी व्यवस्था हुँदाहुदै नगरपालिकाले प्रअ नियुक्ती गर्न गैर–कानुनी विज्ञापन प्रकाशित गरेको रिट निवेदनमा उल्लेख छ ।

    राईले आफु शिक्षा नियमावली २०५९ को नियम ९३ बमोजिम पाँच बर्षको लागि प्रअ नियुक्ती भईसकेको अवस्थामा अर्को प्रअ नियुक्त गर्ने अधिकार कानुनले नदिएको भन्दै विज्ञापन तथा नियुक्ती वदरको माग गरेका थिए ।

    सरस्वती माविका तत्कालिन प्रअ ध्यानबहादुर राईले २०७७ असार ३ गते अवकास पाएपछि शिक्षक राई २०७८ चैत २३ गते प्रअ नियुक्त भएका थिए । असोज १२ गतेको निर्णय अनुसार ढकाललाई प्रअ नियुक्ती गरिएको भन्दै नगरपालिकाले असोज १६ गते विद्यालयमा पत्र पठाएर जानकारी दिएको थियो ।

    ध्यानबहादुरले अवकास पाएपछि प्रअ पदपुर्ती तथा विद्यालय व्यवस्थापन समितिले अर्को प्रअ नियुक्ती गर्न नसक्दा आकांक्षी ढकाल, रामबिक्रम थापा र ज्ञानबहादुर राईको नाम नगर शिक्षा समितिमा पठाइएको थियो ।

    व्यवस्थापन समितिले शिक्षा समितिमा केशरकुमारको नाम सिफारिस गर्न भने अस्वीकार गरेको थियो । तर नगरपालिकाले प्रअका लागि योग्यता पुगेका सबै इच्छुक शिक्षकबाट विद्यालय विकास प्रस्ताव पेश गर्न खुला आव्हान गरेपछि राईले उत्कृष्ट अंक ल्याएर प्रअ बन्ने अवशर पाएका थिए ।

    जिल्लाको केन्द्र दिक्तेलबजारमा रहेको सरस्वती माविमा सरुवा आउनदेखि प्रअ बन्न राजनैतिक पावर शेयरिङ हुने गरेको छ । सो विद्यालयमा व्यवस्थापन समितिको सदस्यको चुनाव भएको आठ महिना पुग्दा पनि राजनैतिक कारणले व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न सकिएको छैन । विव्यास गठनका लागि जेठ २७ गते निर्वाचन भएको थियो ।

    सम्बन्धित समाचार