बुधवार, माघ १० २०८०
नेपाल वाइड
खोटाङ, १० माघ । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दिक्तेलका सहायक प्रवन्धक अमृतकुमार सैँजु उत्कृष्ट कर्मचारी घोषित भएका छन् । बाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलमा सहायक प्रवन्धकका रुपमा कार्यरत सैँजूलाई राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा उत्कृष्ट बैंक सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।
कोसी प्रदेशभित्रका ५९ शाखामा कार्यरत पाँच उत्कृष्ट कर्मचारीमध्येमा खोटाङबाट सहायक प्रवन्धक सैँजू पनि पर्न सफल भएका हुन् । उत्कृष्ट बैंक सेवा पुरस्कार वापत सैँजूले नगद २० हजारका साथमा प्रमाण–पत्र पाउने बाणिज्य बैंकले जनाएको छ ।
कर्मचारी नम्बर १०७४५ भएका सहायक प्रवन्धक सैँजू २०४७ सालमा बाणिज्य बैंकको सेवामा प्रवेश गरेका थिए । उत्कृष्ट कर्मचारीलाई राष्ट्रिय बाणिज्य बैंकले केही समयपछि औपचारिक कार्यक्रम गरेर पुरस्कार प्रदान गर्नेछ । राष्ट्रिय बाणिज्य बैंकले बुधबार मुलुकभर विभिन्न कार्यक्रम गर्दै ५९ औं बार्षिकोत्सव मनाएको छ ।