Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चेक बाउन्समा निर्माण व्यवसायी खत्री पक्राउ

    चेक बाउन्समा निर्माण व्यवसायी खत्री पक्राउ


    • बुधवार, माघ १० २०८०

    • नेपाल वाइड


    चेक बाउन्समा निर्माण व्यवसायी खत्री पक्राउ

    खोटाङ, १० माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले चेक अनादर (बाउन्स) मुद्धामा एक निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ गाईघाट घर भइ हाल काठमाडौं महानगरपालिका–७ बस्ने ४० वर्षीय कल्याण खत्रीलाई पक्राउ गरेको हो ।

    रकम नभएको खाताको चेक काटेर ‘धोकाधडी’ गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका युवराज बस्नेतले माघ ८ गते दिएको उजुरीका आधारमा प्रहरीले खत्रीलाई माघ ९ गते पक्राउ गरेको हो ।

    आफ्नो खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको जानीजानी खत्रीले बस्नेतलाई गत भदौ ५ गते ४ लाख २० हजारको चेक जारी गरेर बैंकिङ कसुर गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    उजुरी लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरिक्षक महेश महरा र प्रहरी सहायक निरिक्षक सञ्जिव बस्नेत समेतले प्रहरी वृत्त काठमाडौंसँगको समन्वयमा खत्रीलाई काठमाडौं महानगरपालिका–७ रातोपुलबाट पक्राउ गरेको हो ।

    खत्रीलाई माघ १० गते जिल्ला प्रहरी कार्यालय हुँदै अदालतमा पेश गरेर माघ ९ गतेदेखि लागु हुनेगरी ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएसपी खड्काले बताए ।

    बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका खत्री राम्चे निर्माण सेवाका सञ्चालक हुन् । उनले याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधिको रुपमा केही समय दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम गरेका थिए ।

    के हो चेक बाउन्स ?

    भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ ।

    पटक–पटक एउटै चेक बाउन्स भएमा त्यसलाई बैंकिङ कसुरका रूपमा लिइन्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । यस बाहेक चेक बाउन्स भएको खातावालालाई जेल सजाय पनि हुने व्यवस्था छ ।

    सम्बन्धित समाचार