खोटाङ, १४ माघ । खोटाङको सोल्मा स्पोर्टस् क्लवले अण्डर–२३ वडा वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता गर्ने तयारी गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित स्पोर्टस् क्लवले ‘जुनियर’ खेलाडीलाई लक्षित गर्दै आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म अण्डर–२३ वडा वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता गर्ने तयारी गरेको हो ।
सोल्मास्थित खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीताका विजेता टिमले नगद १ लाख २२ हजार २२२, उपविजेता हुने टिमले ७१ हजार १११ तथा दुई सेमीफाइनलिष्ट टिमले प्रतिटिम ३५ हजार ५५५ रुपैयाँ पाउने सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।
यस्तै, अनुसासित टिमलाई ५ हजार ५५५ र बेष्ट प्लेयरलाई ५ हजार ५५५ प्रदान गरिने छ । प्रतियोगीताका बेष्ट किपर, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरले जनही ३ हजार ३३३ प्रदान गर्ने क्ल्वले जनाएको छ ।
प्रतियोगीतामा खोटाङका ७९ वडाहरुले मात्र सहभागी हुन पाउनेछन् । खेलमा सहभागी हुने टिमले आगामी फागुन ४ गते बेलुका ५ बजेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ । खेल तालिका फागुन ५ गते दिउँसो १ बजे सार्वजनिक गर्ने कार्यक्रम छ ।
‘टिममा ११ जना खेलाडी एकै वडाको हुनुपर्ने छ । जिल्लाभित्रबाट चार जना खेलाडी समाबेस गर्न पाईनेछ, भने तीन जना खुल्ला रहने छ,’ अध्यक्ष राईले भने, ‘दुई जना खेलाडीलाई उमेर हदबन्दि लाग्ने छैन । बाँकी १६ खेलाडीको जन्म मिति २०५७ बैसाख १ गतेभन्दा मुनिका हुनु पर्ने छ ।’
किर्ते खेलाडी भएको ठहर भए सो टिमलाई २५ हजार जरिवाना सहित ३ वर्षसम्म जिल्लाभरी प्रतिबन्ध लगाउनका लागि फुटबल संघ समक्ष माग गर्ने क्ल्वले जनाएको छ ।
खेलमा सहभागी भएवापत हरेक टिमलाई प्रोत्साहन स्वरुप ५ हजार, पहिलो चरणमा बिजयी हुने टिमलाई थप ४ हजार, दोश्रो चरणमा बिजयी हुँदा थप ५ हजार र तेश्रो चरणमा विजयी हुने मलाई थप ६ हजार प्रदान गर्ने क्ल्वले अध्यक्ष राईले बताए ।
प्रतियोगीता समापनको दिन एक जना पत्रकारलाई ५ हजार ५५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । गाउँमा फुटबलको व्यवसायीक बिकासमा टेवा पुर्याउने उद्धेश्यकासाथ स्थानीयको अग्रसरतामा सोल्मामा गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ ।
यसपल्ट भने ‘जुनियर’ खेलाडी उत्पादन गर्ने र अवसर दिने लक्ष्यका साथ अण्डर–२३ वडा वडा स्तरिय पुरुष फुटबल प्रतियोगीता आयोजना गरिएको अध्यक्ष राईले बताए ।