Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ६ महिना ओछ्यानमा थलिएका दिप्सनको उपचारका लागि एक लाख ५६ हजार जुट्यो

    ६ महिना ओछ्यानमा थलिएका दिप्सनको उपचारका लागि एक लाख ५६ हजार जुट्यो


    • मंगलवार, माघ १६ २०८०

    • नेपाल वाइड


    ६ महिना ओछ्यानमा थलिएका दिप्सनको उपचारका लागि एक लाख ५६ हजार जुट्यो
    ६ महिनादेखि बिरामी परेका ११ वर्षीय दिप्सन राई र उनका बुवा धनबहादुर राई ।

    खोटाङ, १६ माघ । ६ महिनादेखि बिरामी परेका खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थान अर्जुनेडाँडाका ११ वर्षीय दिप्सन राईको उपचारार्थ आर्थिक सहयोग जुटेको छ । पेट फुल्ने, हातखुट्टा सुन्निने, शरीर सुक्दै जाने लगायतका समस्यका कारण ओछ्यानमा थलिएका दिप्सनको उपचारका लागि कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टको पहलमा एक लाख ५६ हजार ४९३ रुपैयाँ जुटेको हो ।

    हाल काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत दिप्सनको उपचारका लागि ६३ जना शुभेच्छुक सहयोगीबाट आर्थिक सहयोग प्राप्त भएको कांग्रेस गाउँपालिका सभापति बिष्टले बताए । संकलन भएको रकम औषधि र खानाका लागि आवश्यकताको आधारमा दिप्सन परिवारलाई उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।

    बिरामीका कारण ओछ्यानमा थलिएका दिप्सनलाई बिष्टकै पहलमा पुस २२ गते केएमसीमा भर्ना गरिएको थियो । उनलाई कालाजार भएको पूष्टी भएको छ । विष्टकै पहलमा दिप्सनको निःशुल्क उपचारको प्रवन्ध मिलाइएको छ ।

    रोगको पहिचान भएसँगै दिप्सनको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको बुवा धनबहादुर राईले बताए । १० दिन अस्पतालमा बेड भर्ना भएका दिप्सन हाल ‘फलोअप’मा जानेगरी आफन्तकोमा बसिरहेका छन् । गत माघ १४ गते दिप्सनलाई फलोअपमा लगिएको थियो । अस्पतालले पुःन महिना दिनपछि फलोअपमा बोलाएको छ । पूर्णरुपमा निको हुन करिब ६ महिना लाग्ने भएकाले एक/एक महिनामा फलोअपमा आउन भनिएको छ ।

    दिप्सनकै गाउँसँग जोडिएको बराहपोखरी गाउँपालिका–५ पौवासेराका पार्वती खत्रीको देब्रे आँखाको डिलमा मासु पलाएर आँखा ढाक्न थालेको थियो । बिष्टकै पहलमा पार्वतीलाई केएमसीमा लगेर निःशुल्क उपचार गरिए । त्यही जानकारी पाएपछि दिप्सनका आफन्त सहयोगको याचना गर्दै बिष्टको सम्पर्कमा पुगेका थिए । लगत्तै बिष्टको पहलमा खर्च जुटाएर दिप्सनलाई अस्पताल भर्ना गरिएको थियो । दिप्सन कक्षा ३ उत्तिर्ण भए पनि बिरामीका कारण हालसम्म कक्षा ४ पढ्नका लागि स्कुल जान सकेका छैनन् ।

    सम्बन्धित समाचार