मंगलवार, माघ १६ २०८०
नेपाल वाइड
खोटाङ, १६ माघ । खोटाङको बाराहा पोखरी गाउँपालिका–३ साउनेचौंरको भानुभक्त आधारभुत विद्यालय बंदुवामा शिक्षक नियुक्तीका लागि सञ्चालन गरिएको परीक्षा विवादका कारण रोकिएको छ ।
शिक्षक छनौट अन्तरगतको पहिलोपत्रको परीक्षामा प्रअ युवराज निरौलाले परीक्षार्थीलाई ‘चिटिङ’ गराएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुबल राई परीक्षा हलबाट हिँडेपछि रिजल्ट आउट नहुँदै परीक्षा स्थगित भएको हो ।
गाउँपालिकाले दिएको अनुदानमा शिक्षक नियुक्तीका लागि भानुभक्त आधारभुत विद्यालयमा सोमबार शिक्षक छनौट परीक्षा सञ्चालन गरिएको थियो । पहिलोपत्रको रिजल्ट प्रकाशित भएपछि कम्प्यूटरको प्राक्टिकल गराउने तयारीकाक्रममा विवाद निस्केपछि शिक्षक छनौट परीक्षा बिचैमा रोकिएको हो ।
शिक्षक नियुक्तीका लागि विद्यालयले प्रकाशित गरेको सूचनाको आचारमा परीक्षामा चार जना परीक्षार्थी सहभागी भएका थिए । प्रअ निरौलाले आफ्नो मान्छेलाई उत्तिर्ण गराउनकालागि अर्का प्रतिष्पर्धीलाई ‘गलत उत्तर’ सिकाएको व्यवस्थापन समितिका अध्यक्ष राईको आरोप छ । तर प्रअ निरौलाले भने ‘चिटिङ’ गराएको प्रमाण पेश गरेर पूष्टि गर्न चुनौती दिएका छन् ।
विद्यालयमा आफ्नो मान्छे भर्ती गर्ने ‘इन्ट्रेष्ट’ बाझ्दा खोटाङका विभिन्न विद्यालयको शिक्षक छनौट परिक्षा विवादित भइरहेका छन् ।
गत असोजमा परिक्षा ‘फेयर’ नभएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङ उत्तरपुस्तिका नियन्त्रणमा लिएर दिक्तेलतर्फ हिँडेपछि रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीस्थित पञ्चकन्य आधारभुत विद्यालयको शिक्षक छनौट परिक्षा रद्ध भएको थियो । यस्तै, केही समयअघि रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित बिश्वज्योती माबिको शिक्षक नियुक्ती बिरुद्ध परिक्षार्थी दानबहादुर राईले गाउँपालिकामा उजुरी दिएका थिए ।