शनिवार, माघ २० २०८०
नेपाल वाइड
खोटाङ, २० माघ । २०७९ को स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा खोटाङका कांग्रेस नेता धर्मराज पोखरेल चर्चामा रहे । स्थानीय तहको निर्वाचनमा पोखरेलले प्रदेशबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट लिएर आए ।
मेयरको टिकट पाएपछि हेलीकोप्टर चढेर मनोनयन दर्ता गर्न दिक्तेल ओर्लिएका पोखरेललाई असन्तुष्ट पक्षले हेलीप्याडमा हातपात गरेका थिए । सुरक्षा घेरामा नोमिनेसन गरे पनि अन्तिममा उनले उम्मेदवारी फिर्ता लिए र केन्द्रबाट मेयरको टिकट लिएका तीर्थराज भट्टराईलाई सहयोग गरे ।
यस्तै, प्रदेशसभा निर्वाचनमा पनि पोखरेलले खोटाङ प्रदेशसभा (क)मा गठबन्धनको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिए । परिणाम गठबन्धनतर्फ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई पराजित भए, नेकपा एमालेका पाँचकर्ण राई विजयी भए ।
कांग्रेस महाधिबेसन प्रतिनिधि रहेका पोखरेललाई केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहनेगरी निश्काशन गरिसकेको छ ।
‘बागी उम्मेदवारी’का कारण पार्टीबाट जिम्मेवारविहिन बनेका पोखरेल हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित आफ्नै कृषि फर्ममा रमिरहेका छन् ।

राजनीतिक गतिविधिबाट मिलेको फुर्सदलाई उनले आफ्नै बंगुर, बाख्रा, फलफुल तथा तरकारी खेतीमा सदुपयोग गरिरहेका छन् । हुन त पोखरेलले २०७८ मै बिजय अर्गानिक भिजेल कम्पनी प्रालिमार्फत आफ्नै गाउँमा कृषि फर्म सुरु गरेका थिए । राजनीतिक जीवनमा आएको उतारचढावका कारण अहिले कृषि कर्मलाई समय दिन भ्याइरहेको पोखरेल बताउँछन् ।
हाल बुढानिलकण्ठ नगरपालिका–८ काठ्माण्डौं बस्दै आएका पोखरेलले बिजयखर्क, बुईपा र बिजयखर्कका फरक–फरक ठाउँमा बंगुर, बाख्रा, फलफुल र तरकारी खेती लगाएका छन् ।
उनका आफ्नै जग्गामा १३ वटा बंगुर फर्म बनाएका छन् । जस्ताले छाइएको सिमेन्टेड फर्मभित्र बँदेल पनि पालन गरिएको छ । राजापानीमा दुई वटा बाख्रा फर्म छन् । बंगुर र बाख्राको मल प्रयोगका लागि फर्म आसपासमा फलफुल र तरकारी खेती लगाइएको छ ।

बिजयखर्कको रामबाडीस्थित दुई वटा बंगुर फर्ममा ५० को हाराहारीमा बंगुर र बँदेल छन् । वरपर कागती, लिची, कटहर, केरा, माछा पोखरी, तरकारी खेती लगाइएको छ । भैरमपुरबेँसीमा पाँच वटा बंगुर फर्म छन् जहाँ दुई सयको हाराहारीमा बंगुर र बँदेल छन् ।
त्यही सात वटा पोखरीमा माछा पालन गरिएको छ । एउटा कुखुरा फर्ममा पाँच सयको हाराहारीमा कुखुरा छन् । आसपासमा अनार, अंगुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकार्डो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्ष लगायतको खेती लगाइएको छ ।
बुईपाको स्वाराटोलमा चार वटा बंगुर फर्म छन् जहाँ दुई सयको हाराहारीमा बंगुर छन् । सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकार्डो लगाइएको छ ।
बुईपाकै तमरुङमा एउटा बंगुर फर्म राखिएको छ । सो फर्ममा ५० वटाको हाराहारीमा बंगुर छन् । सँगै सिताके च्याउ, किवी, अनार, कागती, सुन्तला, स्याउ, अंगुर, कुरिलो र तरकारी खेती लगाइएको छ । दम्कु (बुईपा)मा भैंसी गोठ, सुँगुर खोर, कुखुरा फर्मसँगै कागती, सुन्तला, लिची लगायतको खेती लगाइएको छ ।
यस्तै, राजापानीको खाम्तेलडाँडामा एउटा बंगुर फर्ममा ६० वटा बंगुर छन् । बंगुरसँगै गाई र भैंसी पालन गरिएको पोखरेल बताउँछन् । राजापानीकै तल्लोबडकामा दुई वटा बाख्रा फर्ममा चार सयको हाराहारीमा बाख्रा पालन गरिएको छ । पाँच वटा गाई पालन गरिएको छ ।
गाई बाख्राकालागि डाले र भुइँ घाँस लगाइएको छ । फर्म आसपासमा कागती, सुन्तला, लिची, तरकारी खेती लगाइएको छ । हरेक ठाउँका फर्ममा एक/एक परिवारलाई शेयर सदस्यका रुपमा राखिएको छ ।

शेयर सदस्यका रुपमा राखिएका नौ परिवारले फर्मको हेरचाह गर्ने गरेका छन् । हालसम्म कृषि संरचनामा उनको एकोहोरो लगानी मात्र भइरहेको छ । “कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन् । अहिले व्यक्तिगत लगानी मात्र भइरहेको छ । इन्कम कम छ,” पोखरेलले भने, “कृषिमा सम्भावना छ भनेर गफ मात्रै गर्ने भए । आफै गरेर देखाऔं भन्ने हो । भविष्यमा केही होला ।”
फर्ममा तयार भएका बंगुरको मासु विक्री वितरणकालागि पोखरेलले बुइपाको पञ्चरदोबाटोमा खाने बस्ने व्यवस्था सहितको सेकुवा पसल र कोल्डस्टोर सहितको मासु कटिङ सेन्टर खोलेका छन् ।
फर्ममा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठो ल्याइएको हो । हालसम्म प्रतिकेजी हजारका दरले ५६ वटा बँदेल विक्री भइसकेको पोखरेल बताउँछन् । पोखरेल काठमाडौंमा विजय इन्जिनियरिङ कन्सल्ट्यान्सी सञ्चालन गर्छन् ।