सोमवार, माघ २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ माघ । किसानको सवालमा काम गर्नेगरी खोटाङको खोटेहाङ गाउँपालिकाले कृषक सञ्जाल गठन सुरु गरेको छ । गाउँपालिका, कृषि शाखा, वडा कार्यालय तथा किसानबीचमा पुलको काम गर्ने/गराउने लक्ष्यका साथ कृषक सञ्जाल गठन सुरु गरिएको हो । सोमबार खोटेहाङ गाउँपालिका–४ बड्कादियालेबाट सुरु गरिएको सञ्जाल गठनको कार्यक्रम आगामी फागुन ११ गते खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा पुगेर टुंगिने कृषि अधिकृत केशवकुमार झाले बताए । नौ वडा रहेको गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम एवं कृषक सञ्जाल कार्यान्वयन कार्यविधि २०८० अनुसार कृषि तथा पशु सेवा शाखामार्फत कृषक सञ्जाल गठन सुरु गरिएको हो ।
बड्कादियालेमा यशोधा आचार्यको संयोजकत्वमा नौ सदस्यीय कृषक सञ्जाल गठन गरिएको छ । वडाभित्रका नौ वटा टोल विकास संस्थामा आवद्ध एक/एक जना सकृया किसानलाई समेटेर कृषक सञ्जाल गठन गरिएको हो । सञ्जालमा आवद्ध भएका कृषकलाई कृषि अभियान्ता नाम दिइएको छ । सञ्जालमा आवद्ध कृषि अभियान्तालाई गाउँपालिकाबाट परिचय–पत्र र सामान्य सेवा सुविधाको व्यवस्था गरिने छ । भुइँ तहका किसानको आवाजलाई पालिकादेखि केन्द्रसम्म पुर्याउने र माथिल्लो निकायको योजना तथा कार्यक्रमलाई तल्लो तहमा पुर्याउने माध्यमको रुपमा कृषक सञ्जाल गठन सुरु गरिएको गाउँपालिका स्तरिय कृषि विकास समितिका सदस्य इन्द्र नारथुंगेले बताए । सञ्जालले कृषि सम्वन्धी कार्यक्रमका बारेमा किसानलाई सूचना उपलव्ध गराउने तथा टोलमा भएका किसानको समस्या र मागलाई माथिल्लो निकायसम्म पुर्याउने भूमिका निर्वाह गर्ने छ । ‘टोलको स्वास्थ्य समस्या महिला स्वास्थ्य स्वयंसेविकामार्फत माथिल्लो निकायमा पुग्छ । तर किसानको समस्या माथिल्लो निकायमा पुर्याउने माध्यम नै भएन । त्यही कारण धेरैजसो कृषिको कार्यक्रमहरु तल्लो तहमा पुग्दैन । सूचना नै पुग्दैन,’ नारथुंगेले भने, ‘त्यो सुचना टोलको किसानलाई पुर्याउने, टोलमा भएका किसानको समस्या के, आवश्यकता के हो, अभाव के हो, कार्यक्रम के हो ? भन्ने विषयलाई वडादेखि पालिका हुँदै केन्द्रसम्म पुर्याउनेगरी सञ्जालको परिकल्पना गरिएको हो ।’
टोल विकास संस्थामार्फत योजना तर्जुमा गर्नेक्रममा कृषि तथा पशु पालन सम्वन्धी योजना छान्ने प्रचलन कम छ । कृषि सम्वन्धी योजनाको माग नभएपछि कृषिका लागि बजेट विनियोजन हुने कुरै भएन । त्यही भएर आगामी दिनमा टोल विकासबाटै कृषि तथा पशुपन्छी सम्वन्धी योजना माग गर्ने/गराउने वातावरण निर्माणका लागि कृषि सञ्जाल गठन सुरु गरिएको हो । सञ्जालमा आवद्ध भएका कृषि अभियान्ताले आगामी दिनमा आ–आफ्नो टोल र वडाको कृषि सम्वन्धी आधिकारिक तथ्यांक संकलन गर्ने कृषि विकास समितिका सदस्य नारथुंगेले बताए ।
बड्कादियालेमा कृषक सञ्जाल गठन गर्नेक्रममा गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, आर्थिक विकास समितिका संयोजक एबं वडाध्यक्ष धनबहादुर महाराजी, वडाध्यक्ष तिलक बस्नेत, कांग्रेसका गाउँपालिका सभापति प्रेमकुमार थापा, माओवादी केन्द्रका गाउँपालिका कमिटि अध्यक्ष दिपेन राई, एमालेका गाउँपालिका कमिटि सचिव अम्बरसिं बस्नेत लगायतको उपस्थिति रहेको थियो ।