Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नियात्रा

    भिक्टोरियादेखि सानफ्रान्सिस्कोसम्म

    भिक्टोरियादेखि सानफ्रान्सिस्कोसम्म


    • बुधवार, माघ २४ २०८०

    • भीम राई


    भिक्टोरियादेखि सानफ्रान्सिस्कोसम्म
    भिम राई ।

    खोटाङ, २४ माघ । १० अक्टोबर २०२३ को दिन । समय बेलुकिको ठीक ८ बजेको छ । मेरी श्रीमती तारा र म यतिबेला प्रिन्सेस क्रुजको निलमणी राजकुमारी (सफाएर प्रिन्सेस) पानीजहाजमा यात्रा गरिरहेका छौं र यतिबेला पश्चिमी अमेरिकाको प्रशान्त तटिय क्षेत्रमा बहिरहेका छौं । अनिपानीजहाजभित्रकै कुरो गर्ने हो भने पनि हामी अहिले पाचौं तलामा अवस्थित ‘भिभाल्डी डाइनिङ हल’ मा बसिरहेका छौं ।

    भिभाल्डी डाइनिङहल जस्तै यो पानीजहाजमा यात्रृहरुले खाना खाने अन्य ठूल्ठूला डाइनिङहलहरु जम्माजम्मि ६ वटा रहेका छन् । अरु मसिना रेष्टुँरा, क्याफे र भट्टिपशलहरु त यहाँ कति छन् छन् प्रशस्तै छन् । हुनत पानीजहाजभित्र जतासुकै हिँडेता पनि खाने र पिउने स्थानहरु छ्यासछ्यास्ति पाउन सकिन्छ । तर यसरि सबै डाइनिङहलहरुको नालिबेलि लगाउँदै जाने हो भने यहाँको सबैभन्दा ठूलो खाना खाने स्थानचाहिँ पानीजहाजको चौधौं तलामा अवस्थित छ । जुन डाइनिङहललाई ‘होराइजन कोर्ट’ अथवा ‘वर्ल्ड फ्रेस मार्केट प्लेस - बफे रेष्टुँरा’भनेर चिनिन्छ ।

    त्यस बफे रेष्टुँरामा हरेक बिहानको ६ बजेदेखि ११:३० बजेसम्म बिहानीको खाजा उपलब्ध हुने गर्छ । त्यसपछि तिनै स्थानमा मध्यान्हको ३ बजेसम्म दिउँसोको खाना (लन्च) पाउने गरिन्छ । लन्चको समय सकिएपछि त्यहाँ बेलुकिको ५ बजेर ३० मिनेट जाँदासम्म मध्यान्हको चिया आराम साथ पिउन पाइन्छ ।

    तर मैले यहाँ मध्यान्हको चिया भन्ने बितिक्कै उता खोटाङ दिक्त्तेलको मालपोत कार्यलयको ठीक पछाडि गोठे चिया पशलमा मगमगी वासना छाड्दै भुलभुली उम्लिरहेको दुध वाला चियाको कुरो गरेको होइन । यहाँको मध्यान्ह चियामा बिभिन्न प्रकारको झक्किझकाउ एबम रङ्गिबिरङ्गि सान्डविच, केक र स्कोनको पनि भोजन गर्ने अवसर मिल्छ ।

    तर अरु सबै चिजबिजलाई छाडेर स्कोनको मात्र कुरो गर्ने हो भने पनि यो परिकारलाई चाहिँ अचम्मैको मान्नु पर्छ । किनभने आकारमा स-सानो देखिने त्यस प्रकारको रोटी (स्कोन) लाई सर्लक्कै दुई फ्याक बनाएर पहिले क्रिम हालेर त्यसमाथि जाम हालियो भने यो ‘डेभन’प्रकारको स्कोन बन्छ । तर त्यसको ठीक बिपरित पहिले जाम अनि पछि क्रिम हालेर बनाइयो भने यो‘कोर्नवेल’ हुने गर्छ । वास्तवमाडेभन र कोर्नवेल यी दुवै अङ्ग्रेजी सुदुर दक्षिण पश्चिमी जिल्लाहरु हुन् ।

    हुनत स्कोनको चलन कहिलेदेखि सुरु भयो होला भनेर ठेक्कै भन्न जो कोहिलाई अलिक असजिलो हुन्छ । अथवा यस प्रश्नको जबाफ सायद भोजन अन्वेषकहरुलाई मात्र थाहा हुन सक्छ । तर धेरै मानिसहरुले यसको आरम्भ सन् १५०० तिर स्कटल्याण्डबाट भएको थियो है भनेर अहिलेसम्म भन्ने गरेका छन् ।

    अ स्कोनलाई यहिँ छाडेर मध्यान्हको चियाको एकछिन चर्चा गरौं । यस्को सुरुवात चाहिँ आजभन्दा निक्कै पहिले सन् १८४० माअङ्ग्रेजी महिला आनमरिया रस्सेल (सातौ डचेस अफ बेडफोर्ड) ले सुरु गरेकी थिइन । तिनै मध्यान्हको चिया कोरोना भाइरसझै फैलिएर आजभोलि विश्वभरि पुगेको छ । अब त्यति प्रख्यात मध्यान्हको चिया पिउने रहर जो कोहिलाई हुन स्वाभाविकै हो । त्यसैले मैले पनि विश्वको प्रशिध्द होटलहरु जस्तै:- पेननसुला हङकङ, एटलान्टिस दुबाइ र डोरचेस्टर लण्डनसम्म पुगेर मध्यान्हको चियाको अनुभव बटुलेको छु ।

    यो पानीजहाजकै ‍कुरो गर्दा चौधौं तलाकोडाइनिङहल अथवा बफे रेष्टुँरामा ५ बजेर ३० मिनेट जाँदासम्म मध्यान्हको चियाउपलब्ध हुन्छ । त्यसपछि बेलुकिको ठीक १० बजेसम्म त्यहाँ डिनरको व्यवस्था हुन्छ । त्यो डाइनिङहलबाहेक अन्य डाइनिङ हलहरुको कुरो गर्ने हो भने ‘सभोइ र भिभाल्डी’ दुईवटा डाइनिङहलहरु चाहिँ पाचौं तलामा रहेका छन् । र, भिभाल्डी डाइनिङहलमा चाहिँ हामी अहिले बसिरहेका छौं ।

    तर ‘सान्टा फे, प्यासिफिक मुन र इन्टरनेस्नल’ डाइनिङहलहरु चाहिँ छैटौं तलामा अवस्थित छन् । लगभग ३ सय ५० जनादेखि ४ सय मानिसहरुसम्म अटाउन सक्ने क्षमता भएका उक्त्त डाइनिङहलहरुमाहरेक बेलुकि ५ बजेदेखि ७ बजेसम्म पहिलो पटकको डिनर ज्युनार गर्नको लागि र ७ बजे देखि ९ बजेसम्म दोश्रो पटकको डिनरको लागि खोल्ने गरिन्छ ।

    वास्तवमा हाम्रो पानीजहाज निलमणी राजकुमारीले दुई दिन अगाडी क्यानडाको अति सुन्दर सहर भ्यानकुभर छाडेको थियो । त्यसको भोलिपल्ट बिहान ७ बजे क्यानडाकै अर्को सहर भिक्टोरिया,ब्रिटिश कोलम्बिया पुगेपछिहामीले दिनभरि त्यस सहरको फनफनि चक्कर मारेका थियौं ।

    बेलायती हजुर महारानी भिक्टोरियाको नामबाट बनेको उक्त्त सहर बेलायत बाहिर रहेको तर हुबहु अर्को एउटा बेलायती सहर जस्तै बनेको छ । त्यसैले त्यहाँ पुग्ने जो कोहि मानिसहरुले पनि क्यानडा पुगेका जस्तो अनुभव गर्दैनन् बरु कतै बेलायतमा नै छु कि भन्ने महसुसगरिरहेका हुन्छन् । घर जग्घा र बाटो घाटो सर्लक्कै बेलायतको जस्तै देखिने उक्त्त सहर भिक्टोरियामा पुरै एक दिन बिताएपछि बेलुकिको ठीक ६ बजे हामीले त्यससहरलाई सधै सधैको लागिबिदा गरेका थियौं । र,त्यहाँदेखि भोलि बिहान अस्टोरिया, अमेरिका पुग्ने लक्ष राखेर अहिले क्रमशः प्रशान्त तटिया क्षेत्रको जलमार्गमा बहिरहेको छौं ।

    हुनत हामीले भिक्टोरिया, क्यानडा छाड्दै गर्दा बेलुकिपखको मौसम एकदम राम्रो थियो । अब त्यति राम्रो मौसममा मलाई पानीजहाज यात्रा गर्न ज्यादै रमाईलो लाग्ने गर्छ । त्यसैले यात्रामा भरपुर मनोरन्जन लिइरहेको थिएँ । तर भिक्टोरिया छाडेको केहिबेरमा पानीजहाजको कप्तान टोड म्यागबिनले बाटोको मौसम चाहिँ अलिक नराम्रो छ है भनेर ध्वनि प्रशारक यन्त्रदेखि यात्रृहरुलाई अग्रिम जानकारि गराउदा मेरो मुहारमा कालो बादल छाएको थियो ।

    अहिले क्यानडामा हीउँदे महिना छ । त्यसैले अलिक चाडै अँध्यारो हुने गर्दछ । झन अहिले बेलुकिकोसमय ८ बजिसकेको हुनाले प्रशान्त महासागर पुरै निस्बन्द अँध्यारो देखिन्छ । त्यति अँध्यारो रातमा हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ र म समय समयमापानीजहाजको झ्यालदेखि बाहिर निक्कै टाढासम्म हेर्छु । तर खास्सै पानी सिवाए अन्य चिज केहि देख्न सक्त्तिन ।

    बाहिर जतिसुकै अँध्यारो भएतापनिपानीजहाजभित्र एकदम शान्त वातावरण छ । त्यति शान्तमय वातावरणमा हामी भिभाल्डी रेष्टुँराभित्र बेलुकिको डिनर खाइरहेका छौं । पानीजहाजभित्र हरेक साँझ फरक फरक प्रकारको डिनर खान पाइन्छ । अनिआज चाहिँ यस रेष्टुँरामा इटालियन रात्रि भोजको समय हो । त्यसैले हामी एक बोतल इटालियन प्रोसेको (फिजी) वाइनसँग तिनै देशको खाना स्पाइगोटी बोलोइना बजाइ रहेका छौं । हुनत पानीजहाजभित्रको स्पाइगेटी बोलोइना उतै बोलोइना, इटाली पुगेर खाएको जस्तो त के हुन्थ्यो र ? तैपनि मानिसको रहर न हो । तिनै रहर पानीजहाजभित्र बसेर पुरा गरिरहेका छौं । 

    वास्तवमा बोलोइना सहर इटालीको एउटा सानो सहर भएतापनि मलाई यो एउटा एकदम ऐतिहासिक सहर जस्तो लाग्ने गर्छ । अब त्यतिको ऐतिहासिक सहर एक पटक पुग्नु पर्यो भनेर म केहि बर्ष अगाडी बोलोइना, इटाली पुगेको थिएँ । किनभने त्यहाँ भएको बोलोइना युनिभर्सिटी विश्वको सबैभन्दा पुरानो युनिभर्सिटी हो । जसको स्थापना सन् १०८८ मा भएको थियो । त्यो पछाडीसन् १०९६ निर्माण भएको ‘युनिभर्सिटी अफ अक्सफोर्ड’ विश्वको दोश्रो पुरानो युनिभर्सिटी हो । म तिनै हजार बर्ष अगाडी निर्माण भएको बोलोइना युनिभर्सिटी पुगेको कुरोहरु खाना खाँदै खाँदै अहिले स्मंरण गरिरहेको हुन्छु । तर ठीक यहिँबेला अचानक कहाँदेखि पानीजहाजले गडगड गडगड आवाज निकालेर बिस्तारै हल्लिन सुरु गर्छ । पहिले बिस्तारै सुरु भएको पानीजहाजको त्यो हल्लाइ क्रमशः बढ्दै बढ्दै जान्छ ।

    अचानक त्यसरि पानीजहाज हल्लिन थालेपछि हामी बसिरहेको कुर्सीहरु थोरै असुन्तलित हुन थाल्छ । हाम्रो खाना खाने टेबल झ्यालदेखि एकदम नजिकै छ । त्यसैले फेरि झ्याल बाहिर केहि भएको देखिहालिन्छ कि भनेर म पहिले झ्यालदेखि एकझलक बाहिर हेर्छु । झ्यालदेखि बाहिर केबल निस्तेज अध्यारोमात्र देख्न सकिन्छ । केहि अप्रिय घटना घटेको केहि देख्न सक्तिन । त्यसपछि म मेरो मुन्टो सर्लक्कै फर्काएर रेष्टुँराभित्र ल्याउँछु र दायाँ बायाँ बसिरहेका मानिसहरुलाई एकचोटी हेर्छु ।तर खास्सै उनीहरुमा त्यस्तो फरक केहि देख्दै देख्दिन ।

    भिभाल्डी डाइनिङहलमात्यसरि हामी सँगसँगै खाना खाइरहने मान्छेहरुको सख्यां झण्डै ३ सयका हाराहारिमा छौं । सामुन्द्रिक आँधिबेरीले हो वा खै के ले हो त्यसरि पानीजहाज एक्कासि हल्लिदा हामी सबैजना एकछिन चुपचाप बस्छौं । तर हामी चुपचाप बसिरहेको बेला पानीजहाजको भित्ता र सिलिङ्देखिविश्व विख्यात इटालियन ओपेरा गायक लुसियाना पाभारोटीको मधुरो आवाज गुन्जिरहेकै हुन्छ ।

    इटालियन खाना र वाइनमात्र नभएर उनीहरुकै देशको गायकले गाइरहेको गित सुन्दा एक प्रकारको रमाइलो नै भइरहेको थियो । तर अचानक पानीजहाज हल्लिदा थोरै नमज्जा लाग्न थाल्छ । अझै यस पानीजहाजभित्र नेपाली खाना दालभातसँग डाँडाघरे वाइनपिउँदै पिउँदैपूर्वेली गितमा छमछम नाँच्ने मारुनी र फुर्सुङ्गे नाँच पनिटेबलटेबलको बिच बिचमा घरिघरि देखिँदो हो त पानीजहाज यात्रा कति रमाइलो हुन्थ्यो होला भनेर म एकछिन कल्पना गर्छु ।

    तर ठीक सोहि बेला, “होइन ! आज पानीजहाज निक्कै हल्लिन्छ कि के हो ?”थोरै पिडादायक मुहारमा अचानक तारालेमेरो ध्यानाकर्षण गर्छिन् ।

    “खै ! के नै पो भन्न सकिन्छ र ? तैपनि प्रशान्त तटिय क्षेत्र त एकदम शान्त नै हुनु पर्ने हो ?” छोटो जबाफ फर्काउँछु ।

    “बुढो मान्छे ! पहिले रुस घुम्न जाँदाखेरि पनि उत्तरी सागरमा पानीजहाजले मातेर शेष परिएको थियो । सायद यसचोटी एकआन्द्रो मेटिएला जस्तो छ ?” मधुरो स्वरमा तारा बोल्छिन् ।

    उनको कुरो सुनेपछि, “सकरात्मक बन्ने कोशिष गर,” भन्छु ।

    त्यति बोलिसकेपछि हामी दुवैजना खाना खाइरहेको कुर्सीदेखि थपक थपक उठ्छौ । त्यसपछि रेष्टुँराको कर्मचारीहरुलाई भोली बिहान भेट्यौ है भनेर बिदा माग्छौं । हुनत अन्य कम्पनीहरुका पानीजहाज यात्रा गर्दा त्यहाँ बसिन्जेलसम्म एउटै रेष्टुँराको एउटै टेबलमा बसेर सँधै खाना खान सकिन्थ्यो । जस्ले गर्दा खानाको बेयरा र जाडरक्सीको बेयरासँग हाम्रो राम्रैसँग हिमचिम हुने गर्थ्यो । तर अरु पानीजहाजहरुभन्दा यहाँको चलन थोरै फरक रहेछ । त्यसैले हरेक दिन ३४६३ फोन नम्वरमा फोन गर्नु पर्छ र कुन रेष्टुँरामा कति बजेको टेबल पाइएला भनेर सोध्नु पर्छ । यहाँको त्यो नियम मलाई अलिक अफ्ठ्यारो नै लागिरहेको छ । तर यहाँको चलन नै त्यस्तो भएकोले चलन पछयाइ रहेको छौं । अझै सबैभन्दा दुःखद कुरो त के छ भने त्यो दिन कुनै पनि रेष्टुँरामा टेबल पाउन सकिएन भने १४औं तलामा अवस्थित बफे रेष्टुँरामा पुगेर त्यहाँ खान पर्ने बाध्यता हुन्छ ।

    आखिर जे सुकै भएतापनि हामी रेष्टुँरादेखि निस्केर हिड्न थाल्छौं । त्यहाँदेखि थोरै अगाडि बढेर करिडोरमा पुग्ने बितिक्कै हाम्रो दाहिनेतिर पुरुषको र देब्रेतिर महिलाको लागि शौचालयहरु देखिन्छन् । ती शौचालयहरु देख्ने बितिक्कै, “एकपटक शौचालयको प्रयोग गर्नु पर्यो?” ताराको मुख खोलि हालिन्छ । मैले प्रति उत्तरमा, “ल ल हुन्छ नि,” भन्छु र म पनि सरासर पुरुष सौचालयभित्र छिर्छु । तर त्यो शौचालयभित्र छिर्ने बितिक्कै मानिसहरुले वान्ता गर्दा प्रयोग गर्ने कागजबाट बनेका स-सानाखालि झोलाहरु जताततै राखिएको देख्छु । त्यो देखेपछि, ए ! भरै राती पानीजहाज निक्कै हल्लिने रहेछ भनेर मनमनै भन्छु । पानीजहाज धेरै हल्लिएको बेला मानिसहरुलाई पानीजहाजदेखि हुने बिरामी (सि सिक) हुँदा ती झोलाहरुको प्रयोग गर्नु पर्ने हुन्छ ।

    शौचालयको प्रयोग गरेर बाहिर निस्केपछि तारासँग भेट हुन्छ । त्यसपछि हामी दुवैजना पानीजहाजको हल्लाइसँगसँगै आफ्नो कदमहरु मिलाउँदै मिलाउँदै अगाडी बढ्न थाल्छौ । सोहि तलामा निक्कैबेर हिँडेपछि पानीजहाजको नाँचघर (थियटर हल) मा पुग्छौं । हरेक बेलुकि खाना खाइसकेपछि नाँचघर पुग्ने हाम्रो दैनिकी हुन्छ । तिनै नाँचघरमा बिभिन्न प्रकारको नाँच, प्रहसन, जादु र कलाबाजी (एक्रोब्याटिक) देखाइन्छ ।

    नाँचघर पानीजहाजको सबैभन्दा अगाडीको भागमा अवस्थित छ । त्यसैले नाँचघर पुग्न पानीजहाजभित्र निक्कै धेरै हिड्न पर्छ । लगभग १२ सय जना जति यात्रुहरु अटाउन सक्ने क्षमता भएको उक्त्त नाँचघरमा हामी पुग्दा धेरै मानिसहरु पहिले नै पुगिसकेका रहेछन् । त्यसैले नाँचघर भरिभराउ देखिन्छ । हामी त्यहाँ पुगेपछि बस्ने ठाउँ कतातिर होला भनेर एकछिन अलमलमा पर्छौ । तर त्यहाँ बसिरहेको मानिसहरुको सबैभन्दा अगाडी केहि खालि कुर्सीहरु देखा पर्छ । अब त्यहिँ कुर्सीहरु खालि छन् भनेर हामी तिनै कुर्सीहरुमा गएर बस्छौं । तर हामी त्यसरि कुर्सीमा बस्दै गर्दा पानीजहाजको हल्लाइले त्यहाँका मानिसहरु सँगसँगै मिलेर पिङ खेलिरहेको जस्तो आभाष हुन्छ ।

    गोल्डेन गेट ब्रिज - सानफ्रान्सिस्को.JPG

    हामी कुर्सीमा बसेको एकछिनपछि ठूलो सङ्गितको साथमा नाँच सुरु भैहाल्छ । त्यति राम्री राम्री अङ्ग्रेजी नर्तकीहरुले प्रदर्शन गरिरहेको त्यस्तो नाँच देखेपछि, “जिन्दगीमा यस्तो नाँच निक्कै हेर्ने अवसर जुर्यो हगि,कान्छी ?” तारालाई खुसुक्कैत्यसो भन्छु । अरुबेला नाँचगान र मनोरन्जन भनेपछि हुरुक्कै हुने तारा आज निन्याउँरो अनुहार बनाइ रहेकी देखिन्छिन् । नाँचतिर पटक्कै ध्यान नदिइरहेकी ताराले, “यतिका धेरै पानीजहाज हल्लिरहेको छ । मलाई त मात्ला जस्तो पो भयो,” छोटोजबाफ फर्काउछिन् ।

    “त्यसो भए हामी कोठातिर लाग्यौ है त ?” भन्छु ।

    “हुन्छ हुन्छ जाउँ,” भन्छिन् ।

    तारालाई बिरमाईलो लागेपछि बेलुकिपखको प्रदर्शन नसकिदै हामी आफ्नो कोठातर्फ लाग्छौं । हाम्रो कोठापानीजहाजको बार्हौ तलामा अवस्थित छ । हामी आफ्नो कोठामा पुग्दा हामीलाई पानीजहाज झन धेरै बढि हल्लिरहेको आभाष हुन्छ । किनभने पानीजहाजको सबैभन्दा मुनिको तलाभन्दा सबैभन्दा माथिको तलाहरु झन धेरै हल्लिने गर्दछ ।

    बेलुकिको समय ठीक १० बज्दा हामी बिस्तारामा ढल्किसकेका हुन्छौं । अन्य रातमा हुँदो त म सुतिसुति टेलिभिजनमा समाचार हेर्ने मान्छे । तर आज टेलिभिजनलाई तिलान्जलि दिदै निन्द्रादेवीको शरण लिदै गर्दा सानो सानो नानीहरु कोक्रोमा सुत्दा यस्तै अनुभव गरिरहेका हुन्छन् होला भनेर कल्पना गर्दै गर्दै सुत्न थाल्छु । तर हामी त्यसरि बिस्तारामा पल्टिरहँदा अचानक ताराले, -

    “होइन ! यसरि पानीजहाज हल्लिदै हल्लिदै अचानक डुबिहाल्यो भने त हाम्रो नानीहरुसँग कहिले पनि भेट हुदैन होला हगि ?” सानो स्वरमा त्यसो भन्छिन् । अझै त्यतिले नपुगेर कुरो थप्दै, “सायद त्यसपछि हामीलाई सामुन्द्रिक ह्वेल माछाहरुले रमाउँदै रमाउँदै खान्छन् होला हगि ?” भनेर उतापट्टी फर्किन्छिन् ।

    उनको कुरो सुनेपछि, “माछाले खान पायो भने त राम्रै हुन्छ नि । किनभने हामीलाई खाएर नै तिनीहरु बाच्छन् नि होइन र ?” प्रति प्रश्न गर्छु । मेरो कुरो सुनेर उनी अमुक हुन्छिन् । त्यसपछि हामी एक अर्कामा नबोलि सुत्छौ । तर म राति पटक पटक ब्युँझदा पानीजहाज क्रमशः हल्लिरहेको नै हुन्छ ।

    बिहानीपख मलाई निन्द्राले छाड्दा समय ८ बजिसकेको हुन्छ । अब छुट्टिमा छु भनेर पानीजहाजसँग हल्लिदै हल्लिदै सुत्दा अबेलासम्म सुतेको रहेछु भन्ने मलाई त्यसबेलालाग्छ । म बिस्तारादेखि उठेपछि शौचालयभित्र पस्छु र बिहानीको नित्य कर्म गर्छु ।

    त्यसपछि, “अब त अस्टोरिया आइ पुग्नु पर्ने हो ? तिमी उठने होइन र ?” ताराको नजिक आएर एकचोटी सोध्छु ।

    “म त उठ्न के सक्थे र ?” सिरकभित्र देखि नै जबाफ फर्किन्छ ।

    “त्यसो हो भने म त बिहानीको खाजा खान जान्छु । पानीजहाजको तीन तलामा मेडिकलको कार्यलय छ । कि मेडिकलमा गएर औषधि ल्याइ दिउँ ?” भन्छु ।

    “अ ! औषधि ल्याइ दिनु होला नि त,” बुढीमान्छे झैं एकचोटी ख्वाक्क खोकेर जबाफ फर्काउ छिन् ।

    उनले त्यति भनि सक्ने बितिक्कै म ढोकादेखि बाहिर निस्कन्छु । तर ढोकादेखि बाहिर निस्कने बितिक्कै अचानक मेरो राजेशसँग भेट हुन्छ । उनले आफ्नो घुम्ति कार्यलय (ट्रली) हाम्रो ढोका नजिकै पार्क गरेर राखिरहेको रहेछ । उनको ट्रलीमा साबन, स्याम्पो, ट्वाइलेट पेपर र तौलियाहरु राखि राखेको निक्कै टाढादेखि देख्न सकिन्छ । हाम्रो छिमेकि राष्ट्र भारतदेखि यहाँ काम गर्न आएका राजेश निक्कै मेहनति छन् भनेर हिजो उनले बनाइदिएको हाम्रो बिस्तारा हेरेर नै मैले चाल पाइसकेको थिएँ । उनले पानीजहाजाभित्रको १८ वटा कोठाहरुलाई दिनमा दुईचोटी सफा गर्ने गरेको छ ।

    “राजेश ! बिहानको नमस्ते छ,” उनलाई देख्ने बितिक्कै म अभिवादन टक्र्याउँछु ।

    “नमस्ते ! महाशय,” उनी झन मलाई धनुष्टङ्कर नमस्ते फर्काउँछन् ।

    “अनि, आज हाम्रो कोठा सफा गर्न पर्दैन है । किनभने मेरी श्रीमती पानीजहाजको बिमारी भएकी छिन् । उनी अहिले कोठामा सुतिरहेकी छिन्,”उनलाई त्यतिसम्म भन्छु ।

    “ए ! हुन्छ नि हजुर । तर तौलियाहरु फेरि दिन्छु है,” फेरि जबाफ फर्काउछ ।

    “त्यो पनि पर्दैन । हिजोको नै प्रयोग गरिसकेका छैनौं,” उनलाई भन्छु ।

    म अब उनको उत्तरको अपेक्षा गर्दिन । करिडोरमा दायाँबायाँ नहेरि सुइसुइ अगाडी बढ्छु र लिफ्टको नजिकै पुग्छु । तर त्यसबेला पानीजहाजको सिलिङदेखि सानो स्वरमा ‘द हुलिज’ को ऊँ मेरो भाइँ हो (हि इज माइ ब्रदर) भन्ने पश्चिमी गीत गुन्जिरहेको सुन्न सकिन्छ ।

    म त्यहाँ पुग्ने बितिक्कै लिफ्ट बोलाउने स्वीच टक्क दबाउछु । मैले लिफ्टको स्वीचदेखि चोर औंला निकाल्दै ननिकाल्दै टिङ गर्दै मेरो दाहिने तिरको लिफ्ट खुला हुन्छ ।यस लिफ्ट स्टेसनमा जम्माजम्मि ४ वटा लिफ्टहरु छन् । लिफ्टको ढोका खोल्ने बितिक्कै म हतार हतार त्यसभित्र पस्छु र म मुनि छैटौ तलामा झर्छु । लिफ्टदेखि बाहिर निस्केपछि सुस्तरि हिड्दै अगाडि बढ्छु । तर दायाँ बायाँ कोहि मानिसहरु नदेखेपछि सायद मौसम राम्रो नभएकोले मानिसहरु अहिलेसम्म आ-आफ्ना कोठामा नै सुतिरहेको होला भन्छु । तैपनि अहिलेसम्म पानीजहाज किन नरोकिएको होला भनेर एकछिन छक्क पर्छु ।

    अब पहिले पानीजहाजको मध्ये भागमा जानु पर्यो भन्छु र त्यतै हानिन्छु । किनभने पानीजहाजको मध्ये भागमा पाहुना सेवा (गेस्ट सर्भिस) कार्यलय रहेको छ । पहिले त्यहाँ पुगेर पानीजहाजको नयाँ गतिविधिको बारेमासोध्नु पर्ला मनमनै भन्छु । अनि यहाँनेर म मेरा पाठकहरुलाई के पनि भन्न चाहन्छु भने पानीजहाजको यस तलामा भएको पाहुना सेवा कक्षा र पाचौं तलाको अन्तराष्ट्रिय क्याफे चाहिँ चौविसै घण्टा खुला रहने गर्छ ।

    मनभरि बिभिन्न कुरोहरु खेलाउँदै खेलाउँदै एकछिन हिँड्छु र पाहुना कक्षा पुगिहाल्छु । तर म त्यहाँ पुग्दा रातभरी कर्तव्यमा खटिरहेका दुईजना महिला कर्मचारीहरु झोक्राइ रहेको देख्छु । उनीहरु मध्ये एकजना कम्प्युटरमा घोत्लिरहेकी भएता पनि अर्कीले मलाई देख्ने बितिक्कै, -

    “के म यहाँलाई सहयोग गर्न सक्छु ?” रोमानिय मूलकी ती महिला कर्मचारीले मलाईनिस्फिक्री साथ सोध्छिन् ।

    “होइन । आज पानीजहाज रोकिदैन कि कसो हो, हजुर ?” मलिन स्वरमा म उनलाई प्रश्न तेर्स्याउँछु ।

    “अह ! रोकिदैन नि । भरै १० बजे तिर पानीजहाजको कप्तानले गतरातको सामुन्द्रिक आँधीबेरीको बिषयमा बताउने छ । जे होस् पानीजहाजको गति अहिले १३ नट्स मात्र छ । नत्रभने २२ नट्स लगभग (४०-४२ किलोमिटर) प्रति घण्टा जति हुने गर्थ्यो । त्यसैले हामी धिमा गतिमा क्रमशः सानफ्रान्सिस्को सहरतर्फ अगाडी बढिरहेका छौं । सायद भोलि बिहानको ७ बजेतिर हामी सानफ्रान्सिस्को पुग्ने छौं,” मेरो प्रश्नको जबाफ फर्काउछिन् ।

    उनको कुरो सुनेपछि, “ए ! हो र ? हामीलाई त केही अत्तोपत्तो भएन र नि । अनि ! अहिले मेडिकल कार्यलय खोल्छ कि खोलिदैन होला ?” पुनः अर्को प्रश्न गर्छु ।

    “होइन ! के को लागि हो र ?” उनले हतारहतार मलाई प्रति प्रश्न गर्छिन् ।

    “गतरातदेखि मेरी श्रीमती पानीजहाजकी बिमारी भएकी छिन् । औषधि लिन पाइन्छ कि भनेर हो ?” भन्छु।

    मेरो कुरो सुनेर उनलेमुनि दराजदेखि औषधि निकालेर, “यी लिनुहोस्, यहाँ जम्माजम्मि तीन चक्की छन् । ४-४ घण्टाको फरकमा एक चक्कि खानु होला है,” सेता युनिफर्ममा मसक्क मस्किदै मलाई औषधि दिन्छिन् ।

    “ए ! राम्रो भयो । धेरै धेरै धन्यबाद,” भन्छु र उनले दिएकी औषधि थपक्कै पतलुङ्को गोजिमा हाल्छु । त्यसपछि खुसिले बुर्कुसि मार्दै मार्दै म लिफ्टमा चँढेर आफ्नो कोठामा पुग्छु । कोठामा पुगेर तारालाई एउटा औषधि खुलाएपछि, -

    “आज पानीजहाज रोकिदैन रहेछ है,” भन्छु ।

    “आ ! नरोकिए पनि नरोकियोस् । आफू उठ्न पनि त सकिदैन्,” भन्छिन् ।

    “उसो भए तिमी सुति राख है । म त बिहानीको खाजा खान बफे रेष्टुरातर्फ लागें,” भनेर कोठादेखि निस्किहाल्छु ।

    त्यहाँदेखि निस्केर हिड्दै हिड्दै २ तला चँढेर १४औं तलामा पुग्छु । पानीजहाजमा हजारौ हजार यात्रुहरु छन् । तर बाटोमा एकजना यात्रु पनि नभेट्दा मलाई एकदम अचम्म लाग्छ । १४ तलामा पुग्ने बितिक्कै मेरो नजर सिधै अगाडी रहेको पौडी पोखरीमा पुगेर ठोकिन्छ । हरेक बिहानकोठीक ६ बजे खोलिने पौडी पोखरी अहिलेसम्म जालीले छोपेर राखेको देख्दा म तीन छक्क पर्छु । अझै पोखरीको नजिकै बायाँ कुनामा अत्याधिक तुफानको कारणले पौडी पोखरि बन्द छ भन्ने अल्पकालिन सूचनापाटी देख्न सकिन्छ । तर त्यहाँ उभिएर पानीजहाजको हल्लाइले घरिघरि पोखरीदेखि पानीको छाल पोखरी बाहिर निस्किरहेको बिरमाइलो दृश्यवलोकन गर्न मिल्छ । म तिनै पोखरीको पानीले देखाएको खेलको एकछिन रमिता हेर्छु । त्यसपछि क्रमशः हिँडदै अगाडी बढ्छु ।

    त्यसरि अगाडी बढ्दै जाँदा म बायाँ बायाँ हेर्दै जान्छु । र, प्रशान्त महासागरलाई निक्कै टाढासम्म नियाल्छु । तर बिहानीपखको समयमा महासागरदेखि उत्पन्न भएर आएको चिसो बतासले मेरो हृदयसम्म पुगेर छुन थाल्छ । त्यसैले म एकछिन टक्क रोकिन्छु । म जहाँ उभिरहेको छु । त्यहाँदेखि पानीको छाल लगभग १२-१५ फिट माथिसम्म आएको मज्जाले देख्न सकिन्छ । तर म एकछिन रोकिएपछि फेरि सुस्तरिसुस्तरि अगाडी बढदै जान्छु र रेष्टुँराको मूलढोका नजिकै पुग्छु । अनि त्यहाँ पुग्ने बितिक्कै, ‘यहाँ एकदम धेरै हावा चलिरहेको छ । त्यसकारण तपाइँ पछाडीको ढोका मज्जाले बन्द गर्नु होला है,’ भनेको सूचना पढन पाइन्छ । हुनपनि त्यतिका धेरै हावा चलेको छ । त्यसैले म ढोकादेखि भित्र छिर्ने बितिक्कैमज्जाले ढोका थुन्छु ।

    रेष्टुँराभित्र छिरेपछि थोरै बायाँतिर मोडिन्छु । किनभने तिनै बायाँ कुनामा हात सेनिटाइज्ड गर्ने स्थान रहेको छ र खाना खानभन्दा अगाडी हरेक यात्रुले त्यहिँ हात सेनिटाइज्ड गर्ने चलन छ । तर म त्यहाँ पुग्ने बितिक्कै मेरो मरियासँग अचानक भेट हुन्छ । उनले मलाई पहिले देख्ने बितिक्कै, -

    “मिस्टर राई ! गुड मर्निङ,” भन्छिन् ।

    लगभग साँढे ५ फिट जति अग्लि अनि घुर्माईलो अनुहार भएकी तर सधैभरि फिस्सिक्क मुस्कुराइ रहने २० बर्षे फिलिपिनो युवती उनीसँग हिजो मेरो निक्कै लामो समयसम्म गफगाफ चलेको थियो । उनी ५ महिना अगाडीदेखि यीनै रेष्टुँरामा बेयराको काम गरिरहेकी रहेछिन् । बिगत ४० बर्ष देखि यता संसारको बिभिन्न स्थानहरुमा पुग्दा फिलिपिनो मित्रहरुसँग साथि बनाउँदै छाड्दै गरेको मसँग निक्कै लामो अनुभव छ । अझै कुनकुनै बेला त मलाई यस्तो लाग्छ । स्वभावैले फिलिपिनो युवतीहरु अन्य मूलुकका युवतीहरुभन्दा धेरै मैत्रिपूर्ण हुन्छन् ।

    अचानक उनलाई देखेपछि एकछिन हेर्छु । अनि, “मर्निङ ! के तपाइँ जाति नै हुनुहुन्छ ?” जबाफ फर्काउँछु ।

    “एकदम जाती छु, धन्यबाद ! अनि हजुर के पिउनु हुन्छ ? चिया कि कफि ?” चिया बनाउने स्थान नजिक उभिएर मेरो आँखामा आँखा जुधाएर मलाई प्रश्न गर्छिन् ।

    “एक गिलास चिया पिउनु पर्ला,” मसिनो स्वरमा उत्तर दिन्छु ।

    “कुन चिया ?”

    “जसमिन ।”

    “कृपया ! कुर्सी खोजेर बस्नु होला ? म त्यहिँ ल्याइ दिन्छु ।”

    “ए ! हुन्छ, हुन्छ,” भन्दै म उनीसँग छुट्छु ।

    त्यसपछि केहि अगाडी बढ्छु । रेष्टुँराभित्रको टेबलहरु प्राय सबै खालि देखिन्छन् । त्यसैले झ्यालको छेउँमारहेको एउटाटेबललाई छान्छु । अनि त्यहाँ पुगेर ठूलो मान्छे हुँदै एउटा कुर्सी तान्छु रथपक्कै त्यसमाथि बस्छु । बिहानी पखको समय छ र त्यति ठूलो रेष्टुँरामा अलिअलि मान्छेहरु देखिएतापनि लगभग सुनसान जस्तै लाग्छ । बरु रेष्टुँराभित्र त त्यहाँ काम गर्ने बेयराहरु र भान्सेहरु पो बढि देखिन्छन् ।अब उनीहरुलाई देख्दा वास्तवमा पानीजहाजभित्र कर्मचारीहरु आवश्यक्त्ताभन्दा अलिक धेरै नै छन् कि के हो भन्ने लाग्छ । हुनत जति धेरै कर्मचारीहरु भयो उति धेरै यात्रुहरुले सुविधा उपभोग गर्न पाउँछन् भन्ने पनि सोचिरहेको हुन्छु । ठीक सोहिबेला मेरो पछाडीदेखि ओठभरि मुस्कान र हातमा एउटाट्रे बोकेर मरिया मेरो सामु आइपुग्छिन् । उनी आउने बितिक्कै, -

    “महाशय ! मैले हजुरको लागि चिया मात्र होइन । एक गिलास तातो पानी पनि लिएर हाजिर भएकी छु,” मेरो नजिकै आइपुग्ने बितिक्कै त्यसो भन्छिन् ।

    “मैले पानी पनि भनेछु र ?”

    “होइन । हिजो निक्कै पटकतातो पानी पिउनु भएको थियो नि त ।”

    “हो हो ! तिमी पनि मेरी श्रीमती जतिक्कै मलाई हेर विचार गर्ने रहिछौ ?”

    “होला नी । कि मलाई पनि तपाईकी श्रीमती बनाउने हो र ?”

    “अरे ! तिमी यो के भन्दै छौ – मरिया ?”

    “महाशय ! म त सत्य कुरो नै भन्दैछु । लाने भए आट गर्नोस न । हामी पानीजहाजमा छौं र अहिले एकदम राम्रो अवसर पनि छ । बिहे गरेपछि म हजुरको कान्छी श्रीमती भएर काठमान्डौमा नै बस्छु । यहाँ काम गर्न वाकदिक लागि सक्यो भन्या ?”

    उनको कुरो सुनेर म अवाक हुन्छु त्यसैले केहि बोल्दै नबोलि बसिरहन्छु । तर मेरो ध्यान भङ्ग गर्दै, –

    “मेडम ! खै त ? ब्रेकफास्टको लागि आउनु भएन नि ?” प्रश्न गर्छिन् ।

    “पानीजहाजको बिमारी भएकी छे,” जबाफ फर्काउँछु ।

    “ए ! हो र । म पनि पहिले पहिले मातेर हुरुक्कै हुन्थे । आजभोली चाहिँ अलिक बानी परेको छ । अझै पहिलो करार (कन्ट्रयाक्ट) मा त कर्मचारीहरुको भान्सा घर मुनी ३ तलामा काम गर्नु पर्थ्यो । त्यहाँ काम गर्दा मेरो दिमाग खराब हुन्थ्यो । नौ महिना जति मैले त्यहाँ काम गरे । पानीजहाजको मुनितलामा बाहिरको वातावरण देख्न र सुन्न केहि पाइदैन थियो । धन्न भाग्यले साथ दिएर अहिले यहाँमाथिकाम पाएकी छु । यहाँबाट त यसो दायाँ बायाँ मज्जाले रमिता हेर्न पाइन्छ । अब अर्कोचोटी चाहिँ डाइनिङहलमा वेयरा गर्न पाइन्छ,” उनी निक्कै लामो समयसम्म एकोहोरो बोलि रहन्छिन् ।

    उमेरमा अलिक किलिलै भएता पनि उनको कुरोले मलाईमन्त्रमुग्ध बनाउँछ । तर मूख्य डाइनिङहलको बेयरा हुनको लागि कमसेकम तीन पटकको करार पुरा गर्नु पर्ने रहेछ भन्ने कुरो मैले उनले भनेपछि चाल पाउँछु । त्यसपछि म उप्रान्त केहि बोल्दै बोल्दिन । किनभने यी युवती बोल्नको लागि एकदम माहिर रहेछिन् भन्ने कुरो मैले मज्जाले नै चाल पाउँछु । अब यीनलाई बोलेर म के जित्न सक्थे र भन्छु, त्यसैलेचुपचाप बसिरहन्छु ।

    “तपाई भरै कोठामा जाँदा मेडमको लागि भुलभुली तातो पानीमा उसिनेको सुँङ्गुरको आन्द्राबाट बनेकोससेज, स-साना टुक्रा पारेर पकाएको स्क्राम्बल अण्डा, टोस्ट गरेको खैरो रोटी र उसिनेको च्याउँ तयार पारि दिन्छु लगि दिनु होला है । अनि त्यति खाएपछि उहाँ कसो सन्चो नहुनु होला र ?” भन्छिन् ।

    “तिमी नै बोकि देउ न त ?” उनको कुरो सुनेर जिस्किन खोज्छु ।

    “त्यो पनि म तयार छु । आखिर जीवन त दिन खोज्ने मान्छे । त्यति जाबो काम गर्न मेरो लागि के भारी भो र ?” हास्दै हास्दै त्यसो भन्छिन् ।

    “भो भो पर्दैन् । म त जिस्केको मात्र हुँ । मआफै तयार पार्छु । तिमी केहि सुर्ता नगर,” मसिनो स्वरमा भन्छु ।

    त्यसपछि उनी मसँग, “एक छिन है,” भनेर बिदा माग्छिन् र मेरो नजरदेखि बिलय भैहाल्छिन् । उनी गएपछि म झ्यालदेखि बाहिरको रमिता हेर्न थाल्छु । समुन्द्रको छाल पानीजहाजको निक्कै माथिको भागसम्म आएको देख्दा कताकता मेरो हृदय दुखेको आभाष हुन्छ । यहाँदेखि पानी सिवाय अन्य जमिन, घर, कार र रुखपातहरु केहि पनि देख्न सकिदैन् । तर भीमकाया प्रशान्त महासागरको ठीक माथि आकाशमा कालो बादल मडारिरहेको चाहिँ मज्जाले देख्न सकिन्छ । र, समय समयमा धरधर पानी परिरहेको बिरमाइलो दृश्य देखिन्छ ।

    भावनामा बहेर निक्कै लामो समयसम्म बाहिरको वातावरण हेरिसके पश्चात् म ब्रेकफास्ट लिनको लागि जान्छु र पेटभरि टन्न खान्छु । त्यसपछि मुनि कोठामा जानको लागि तयार हुन्छु । नभन्दै मरियाले केहिबेर अगाडी भनेझै ताराको लागि एउटा प्लेटमा बिहानीको खाजा तयार पारि दिन्छिन् र अर्को एउटा खालि प्लेटले छोपि दिन्छिन् ।

    उनले ब्रेकफास्ट तयार पारेको देखेपछि जे सुकै भने वा गरेता पनि म यीनलाई जित्न सक्त्तिन जस्तो लाग्छ । त्यसैले उनले तयार गरेकी प्लेट हातमा लिएपछि धन्यबाद भन्छु र खाजा बोकेर खुरुखुरु हिँड्छु । म कोठामा पुग्दा तारा बिस्तारामा नै सुतिरहेकी देखिन्छिन् ।

    “ल खाजा ल्याइदिएको छु । तिमी सुतिसुति भएपनि अलिकति खाजा खाउँ है, पृय ?” मायालु स्वरमा भन्छु ।

    “अँह ! म त के खान्थे र ? केहि खान्न।यस्को गन्धले मलाई झन धेरै मात्छ । लु फर्काई हाल्नोस है । झन कोठा गन्हाउँछ,” भन्छिन् ।

    उनको भनाइ सुनेर मलाई आपत पर्छ । “त्यसो भए के तातो पानी पिउँछौं ?ल्याइ दिउ त ?”

    “अँ ! बरु ताताोपानी पिउँछु ।”

    त्यति भनि सक्ने बितिक्कै म तातो पानी लिनको लागि बाहिर निस्कन्छु । किनभने यो पानीजहाजभित्र आगो लाग्छ भनेर बिजुलीदेखि पानी तताउने यन्त्र (केटल) कोठामा राखिएको छैन रहेछ । नत्रभने अन्य पानीजहाजहरुमा त्यो सुबिधा प्राप्त हुन्छ । अब यहाँ केटल नभएपछि तातो पानी लिनको लागि बफे रेष्टुँरामा नै पुग्नु पर्छ । त्यसैले दुई सासमा रेष्टुँरामा पुग्छु र मिलिक्कै दुई गिलास तातो पानी लिएर कोठामा आइपुग्छु ।

    त्यसपछि मेरो केहि काम हुँदैन । आफ्नो साथैमा बोकि हिँडेको लैनसिंह बाङ्देलको पुस्तक ‘स्पेनको सम्झना’ निकाल्छु र पढन थाल्छु । तर मेरो चुलबुले बानि छ । एकछिन पुस्तक पढेपछि अल्सि लाग्छ । त्यसपछि कोठाभित्र चकचक गर्न मन लाग्छ । चकचक पनि के गर्ने र ? हाम्रो कोठा पनि अलिक सानो नै छ । पानीजहाजमा घरको कोठा जस्तो ठूलो हुँदै हुँदैन । त्यसैले कोठाभित्र बसिरहन पट्यार लाग्छ । यसो आफ्नो सिधै अगाडी भित्तातिर एक चक्कर नजर डुलाएपछि टेबलको दाहिने पट्टि कुनामा टेलिभिजनको रिमोट कन्ट्रोल आराम गरिरहेको देख्छु । त्यसलाई टिपेर टेलिभिजन खोल्छु ।

    तर अचानक ताराले, “अब फेरि तपाइँ डुल्न जानुहोस है । नत्रभने यहाँ के के गरिरहनु हुन्छ । तपाइँको सबै हर्कतले मलाई झन झ्याउँ लाग्छ,” भन्छिन् । नभन्दै बिमारी श्रीमतीको भनाइ सुनेर म एक्कै शब्द बोल्दै नबोलि कोठाबाट बाहिरिन्छु । त्यहाँदेखि निस्केर सरासर हिड्छु र लिफ्टको अगाडी पुग्छु । लिफ्टमा पस्नु अगाडी पाँचौ तलामा इन्टरनेसनल क्याफे छ । अब त्यहाँ गएर चिया पिउनु पर्ला भनेर त्यतैतिर जान्छु ।

    समय बिहानको १० बज्नै लागेको छ । म क्याफेमा पुग्दा त्यहाँ दुईचार जना मानिसहरु मात्र देखा पर्छन् । तर त्यहाँ बस्ने आरामदायी कुर्सीहरु ज्यादै राम्रा राम्रा देखिन्छन् । त्यति राम्रा कुर्सीहरु देख्ने बितिक्कै त्यहाँ बस्ने रहर लागेर आउँछ । त्यसैले एउटा कुर्सीं छान्छु र थपक्कै बसिहाल्छु । तर म त्यहाँ बसेको देख्ने बितिक्कै एकजना बेयरा हातमा खाली ट्रे बोकेर मेरो नजिकै आइपुग्छिन् । उनी मेरो छेउमा आएर, -

    “गुड मर्निङ सर ! हजुर के पिउनु हुन्छ ?”

    “मर्निङ ! हरियो चिया छ होला ?”

    “छ नि कस्तो हुँदैन त अनि अरु ?”

    “भो भो अरु केहि पर्दैन् ।”

    त्यति भनि सकेर उनी त्यहाँदेखि जान्छिन् र मिलिक्कै एक गिलास चिया लिएर दोश्रोचोटी हाजिर जनाउछिन् । चिया ल्याएपछि उनी पुन: बोल्न थाल्छिन् ।

    “महाशय ! हजुर कहाँदेखि आउनु भएको हो नि ?”

    “अ ! एकपटक तपाइँ आफै अटकल काट्नोस् त ?”

    “एकछिन है त । जापान कि कोरिया?”

    “होइन, होइन ! के म जापानीज वा कोरियन जस्तो देखिन्छु र ?”

    “उसोभए तपाइँ निश्चय नै फिलिपिन्स कि भियतनामबाट आएको हुनु पर्छ ?’

    “झन मारी हाल्नु भयो नि । होइन होइन । के हुन्थ्यो ? भो मैले हजुरलाई माने । तपाइँले म ‍कहाँदेखि आएको हुँ भनेर पत्ता लगाउन सक्नु हुन्न रहेछ । म आफै भन्छु है । नेपालदेखि आएको एकजना नेपाली हुँ ।

    “अनि तपाइँको नाम त यहाँ भीम पो देखिन्छ त ।”

    “हो नि त्यहिँ हो मेरो नाम ।”

    उनले आफूसँग बोकि हिँडेकी मेडालिनमा हेरेर मेरो नाम चाल पाउछिन् । अहिलेको यो प्रबिधि पनि मलाई एकदम राम्रो लाग्छ । पानीजहाजको हरेक बेयराहरुलेमेडालिन बोकिरहेका हुन्छन् र हरेक यात्रुहरुले पनि बोक्नु पर्छ । त्यसभित्र यात्रुको नाम, तस्विर, ठेगाना, कोठा नम्वर, राहदानी नम्वर र क्रेडिट कार्ड नम्वरहरु सबैको विवरण सङ्ग्रह गरेर राखिएको हुन्छ । त्यसैबाट आफ्नो कोठाको ढोका खोल्न मिल्छ र कस्ले कतिबेला ढोका खोल्यो भनेर पनि देख्न सकिन्छ ।प्रिन्सेस क्रुजको निलमणी राजकुमारी पानीजहाजमा हामीले मेडालिनको पहिलो पटक अभ्यास गरिरहेका छौं ।

    “अब मेरो नाम त चाल पाउनु भयो । तपाइँको नाम चाहिँ के होला नि ?” उनलाई बिस्तारै सोध्छु ।

    म त्यसबेला कुर्सीमा चियाको स्वाद लिदै आरामले बसिरहेको छु भने उनी मेरो नजिक उभिएर मसँग वार्तालाप गरिरहेकी छिन् । मेरो कुरो सुनेर उनी पहिले थोरै नजिक आउछिन् र बायाँ बक्षस्थलमाथि टालिरहेकी उनको नाम देखाउदै, -

    “मेरो नाम सातसाङ हो, सातसाङ । अनि म उत्तर पूर्व इन्डियादेखि आएकी हुँ । यी मेरो छातीमा इन्डियाको झण्डा नै फरर फहराइ रहेको छ । अझै तपाइँलाई ठेक्कै भन्ने हो भने मेरो घर मिजरोम हो,” भन्छिन् ।

    “हजुर हजुर, साँच्ची मिजरोम त नागाल्याण्ड होइन र ?”

    “कहाँ हुनु नि ? नागाल्याण्ड, मिजरोम, मेघालय, मणिपुर र आसाम सबै फरक फरक प्रान्तहरु हुन् । तैपनि यी प्रान्तहरु एकआपसमा नजिक नजिक रहेका छन् ।”

    “ए हो र ? मलाई माफ गर्नु होला है । किनभने मलाई त थाहै थिएन नि ।”

    “भै हाल्छ । हजुरलाई बल्ल थाहा भयो । अनि तपाइँ पनि राई हुनु हुँदो रहेछ । यदि तपाइँ अहिले सात तलाको क्रोनर्ज बारमा जानु भयो भने त्यहाँ अर्को राईलाई भेटनु हुनेछ । उनको नाम प्रणित राई हो । उँ अहिले त्यहिँ काम गरिरहेको छ,” भन्छिन् ।

    “ए ! हो र ? त्यसो भए म त्यता लाग्छु है,” भन्छु । उनले त्यसो भनेको सुनेपछि चिया सिनित्तै बनाउछु । अनि भर्याङ्मा टकटक आवाज निकाल्दै सात तलामाथि उक्लिन थाल्छु ।

    एकछिन हिँडेपछि म क्रोनर्ज बारमा पुग्छु । म त्यहाँ पुग्दा बारमा एकजना बेयरामात्र देखा पर्छ । उसलाई देखेपछि यो मान्छे प्रणित त हुँदै होइन । सायद ऊँ फिलिपिन्सबाट आएको हुनसक्छ भन्छु । अनि उनको अलिक नजिक गएर छातीमा टालिरहेको नाम डेभिड र फिलिपिन्सको झण्डा देख्दा फिलिपिन्सदेखि आएको हो रहेछ भनेर चाल पाउँछु । तर उनले यतिबेला न्वारानको बल निकालेर मात्र होइन, दुवै आँखा चिम्लेर गिलासमा ककटेल फिटिरहेको देखिन्छ । तर अचानक उनको आँखा खुलेपछि म उनको अगाडी ठिङ्गै उभिरहेको देख्दा हतार हतार ककटेललाई टेबलमा राख्छ । अनि अतालिदै, -

    “सर ! यहाँलाई केहि सहयोग गरौ कि ?” भन्छ ।

    उनको कुरो सुनेर, “हजुर ! के यहाँ प्रणित राई काम गर्नु हुन्छ हो ?” भनेर सोध्छु ।

    मेरो कुरो सुनेपछि, “एकछिन है,” भन्छ र बारदेखिभित्रपट्टिको कोठामा पस्छ । त्यसपछि मिलिक्कै बाहिर निस्कन्छ र एकजना भाइँलाई देखाउदै, “ऊँ नै हो, प्रणित,” भन्छ ।

    प्रणितले मलाई देखेपछि सानो स्वरमा, “नमस्ते ! हजुर,” भन्छ ।

    “नमस्ते ! अनि तपाइँ आराम हुनुहुन्छ होला ?” भनेर सोध्छु ।

    “हजुर एकदम आराम छु । यसचोटीको पानीजहाज यात्रामा एक परिवार नेपाली पनि आएको छ भनेर हिजो बेलुकिमात्र सुनेको थिए । क्या गजब ! आज भेट भइ हाल्यो । दाजू अनि सुन्नोस न । मैले पानीजहाजमा काम गरेको अम्मो डल्लै ७ बर्ष भो त । अहिलेसम्म पानीजहाज यात्रामा नेपाली भेटेको छँदै थिइन । अ बरु यहाँलाई थाहा छ कि छैन ? एकजना नेपाली दिदी पनियहिँ क्यासिनोमा काम गर्नु हुन्छ नि ।उहाँको नाम चाहिँ पिङ्की हो । उनी काठमाण्डौबाट आएकी हुन्। अहिले ऊँ पर बिङ्गो खेलाउँदै हुनुहुन्छ । यहाँबाट सिधै जानु भयो भने फरक पर्दै पर्दैन, भेटि हाल्नु हुनेछ । दाजू अँ बरु यसो गरौं न । ऊँ त्यता गएर कुर्सीतिर बस्नोस न । अनि के पिउनु हुन्छ होला ? म लिएर आउछु,” हसिलो मुद्रामा त्यति भन्छ ।

    “ए ! एउटा जिरो कोक ल्याउनोस् न त । बजाइ दिइ हालौं ।हुन त भर्खरै मुनि ५ तलामा एक कप चिया पिएर आएको हो,” छोटकारिमा जबाफ फर्काउछु ।

    उनको भनाई सुनेर म थोरै अगाडी बढ्छु रएउटा कुर्सीको नजिकै पुग्छु । अब यहिँ बस्नु पर्यो भनेर तिनै कुर्सीमा थपक्कै बस्छु । म त्यहाँ बसेको एकछिनपछि एउटा ट्रेमा एक गिलास कोक लिएर उनी मेरो सामु आइपुग्छ ।

    मेरो नजिक आएपश्चात, “यी दाजू कोक लिनुहोस् त,” भन्छ ।

    म उनलाई, “धन्यबाद,” भन्छु र थपक्कै कोक लिन्छु । 

    यतिक्कैमा, “साच्ची ! हजुर के राई पोपर्नु भो नि ?” मलाईपुन: प्रश्न गर्छन् । उनले अघि नै मेडालिनबाट मेरो नामचाहिँ चाल पाइसकेको हुन्छ । 

    “म चाम्लिङ राई हो । अनि पाछा डालो छा र साम्मै हछाली - लाहुरबुङ । अनि मेरो घर चाहिँ बुईपा – खोटाङ हो ।” भाइले घरिघरि नसोधि राखोस भनेर जम्मै उत्तर एक्कैचोटी दिन्छु ।

    “ए हो र ?अनि मेरो घर चाहिँ दार्जिलिङ हो है,” भन्छ ।

    “भाई ! म दार्जिलिङ पुगेको छु । जस्ले गर्दा तपाइँको बोलिले तपाइँ त्यताबाट आउनु भएको होला भनेर मैले अघि नै ठम्याइ सकेको थिएँ,” जबाफ फर्काउछु ।

    मेरो कुरो सुनेर ऊँ हास्दै जबाफ फर्काउछ, “ए ! हगि,”

    यसरि हामी बोलिरहँदा उनी मेरो ठीक अगाडी उभिरहेको हुन्छ । म चाहिँ मेरो दायाँ खुट्टामाथि बायाँ खुट्टा खप्ट्याएर मज्जाले आराम गरेर कुर्सीमा बसिरहेको छु । सोहिबेला म एकपटक उनको शिरदेखि पाउसम्म राम्ररि हेर्छु । अनि खोटाङ र दार्जिलिङको भूमीमा जन्मेका एउटै जाति राईहरुको यति टाढा प्रशान्त महासागरमा भेट भइरहेको छ भनेर मनमनै भन्छु ।एकछिनसम्म उनलाई हेरिरहँदा मेरो मन भुरुरु उडेरदार्जिलिङ नै पुग्छ । त्यसपछिडालीदेखि चौरास्तासम्म र भोटियाबस्तिदेखि घुम पहाडसम्मको यादले मलाई सताउँन थाल्छ । झन त्यतिले मात्र मेरो मन के मान्थ्यो र ? दार्जिलिङदेखि कालिम्पोङ, खरसाङ, जोरथाङ, नाम्ची, गान्तोक हुँदै सिलगुरीसम्म पुगेको स्मंरण गर्छु ।

    प्रणितले उनको परिचय दिने क्रममा आफ्नो घरमा प्यारी श्रीमती र छोरा छ भन्ने कुरो पनि मलाई सुनाउँछ । त्यति कलिलो छोरालाई छाडेर परदेश जानको पिडा कति दु:खदायी हुन्छ भन्ने कुरो मैले आफ्नो जीवनकालमा भोगिसकेको छु । तैपनि पानीजहाज यात्रामा पहिलो पटक नेपाली यात्रु भेटेकोमा ऊँ क्षणिक खुसि देखिन्छ ।

    मैले को‍क पिइ सकेपछि, “भाइँ ! अब म जान्छु है । एउटै पानीजहाजभित्र छौं । भरै भोलि पनि अवश्य भेट हुन्छ होला ? अहिलेलाई बिदा माग्छु है,” भन्दै म बसिरहेको ठाउँदेखि उठ्छु ।

    “हुन्छ दाजू,” भनेर उनले दाहिने हात उठाउछ र मलाई बिदा दिन्छ । 

    त्यहाँदेखि निस्केर थोरै अगाडी बढ्छु । म यसरि हिड्दै जाँदा पानीजहाज आफ्नै गतिमा क्रमश: अगाडी बढिरहेको हुन्छ । तर त्यसरि बढ्दै जाँदा म एकछिन रोकिन्छु र झ्यालदेखि बाहिर निक्कै टाढा क्षितिजसम्मको दृश्य हेर्छु । यतिन्जेलसम्म सामुन्द्रिक आँधिबेरि पटक्कै रोकिने छाँटकाँट देखिदैन् । पानीजहाज बाहिरको दृश्यले मेरो मन उथलपुथल हुन्छ । यसरि हिड्दै जाँदा आफूले यात्रा गरिरहेको यो पानीजहाजको बिषयमा सम्झन थाल्छु । 

    यो पानीजहाजकोनिर्माण सन् २००४ मा ‘मित्सुबिसी ह्याब्बि इन्ड्रस्ट्रिज’ ले गरेको हो । तत्कालिन समयमा लगभग ४ सय मिलियन डलर खर्च गरेर बनेको यो पानीजहाजको न्वारान १० जुन २००४ मा सियटल, अमेरिकामा गरिएको थियो । अहिलेको मितिमा १५ वटा पानीजहाजहरुभएको कम्पनि प्रिन्सेस क्रुजको यो निलमणी राजकुमारीले २६ सय ७० जना यात्रु र ११ सय जहाजका कर्मचारीहरु बोकेर विश्वभरि आफ्नो यात्रा गर्छ । कुल तौल १ लाख १५ हजार टन भएको यो पानीजहाज निर्माण भएको बेला विश्वको सबैभन्दा ठूलो पानीजहाज भएको थियो । अनियसमा १८ तलाहरु रहेका छन् र म अहिले७औ तलाको मध्यभागमा गन्तव्यहिनयात्री भएरएक्लै हिँडिरहेको छु ।

    तर यसरि केहिबेर हिँडेपछि क्लव फ्युजन र एक्सप्लोरर भट्टिपशलहरु पार गर्छु । अनि केही अगाडी प्रणित भाइँले भनेझै एक हुलमानिसहरु एक ठाउँमा झुरुप्पै भेला भएको देख्छु । तिनै हुलको बिच भागमा एकजना बहिनीले बिङ्गो खेलाइ रहेकी देखिन्छे । अब उनी पक्कै पनि पिङ्की बहिनी हुनुपर्छ भन्ने ठान्छु । त्यसैले थोरै अगाडी बढेर उनको नजिकैपुग्छु । उनको अलिक नजिकै पुगेपछि थोरै मुस्कान सहित दुवै हात जोडेरउनलाई नमस्ते गर्छु । उनी अति नै व्यस्त देखिन्छे । तैपनि मेरो नमस्ते भने फर्काउँछिन् । तर हामी एकअर्काको बोलचाल चाहिँ हुन सक्त्तैन । त्यति भएपछि दाहिने हातको इसाराले भरै भेटौला है भनेर म त्यहाँदेखि सरासर हिँड्छु ।

    सात समुन्द्रपारी देखिएकी तर बोल्ने अवसर जुर्दै नजुरेकी एकजना नेपाली बैनीको सुकोमल मुहारलाई सम्झदै सम्झदै मेरा कदमहरु क्रमश: अगाडी बढिरहन्छ ।केहिबेर अगाडी हिँड्छु त्यसपछि यात्रुहरु पानीजहाजमा पसेदेखि त्यहाँको हरेक कृयाकलापमा भाग लिएका तस्विरहरु सङ्कलन गरिएर राखिएको स्थान फोटो ग्यालरीमा पुग्छु । जुन सातौ तलामा नै अवस्थित रहेको छ । त्यहाँपुगेपछि तारा र मेरो तस्विरहरु कुन कुनामा लुकेर बसेको होला भनेर नजर लगाउन थाल्छु‍ ।

    यतिक्कैमा मेरो पछाडीदेखि मलाई कसैले ढ्याप मार्छ । त्यसैले म हतार हतार पछाडी फर्कन्छु । यसो हेर्छु, एकजना श्वेत मूलकी युवती मेरो सामु देखा पर्छिन् । मेरो पहिलो नजरमा उनी त्यति हिस्सी परेकी त देखिदैन् । तैपनि उनको उचाइलाई चाहिँ मैले सलाम गर्नैपर्छ । लगभग साँढे ६ फिट जति अग्ली ती युवती देखेर म एकछिन दङ्ग पर्छु ।

    “म यहाँ काम गर्छु । तपाइँलाई यहाँ भएको तपाइँको तस्विरहरु मध्ये कुन मन पर्छ,” मलाई भन्नु होला है भन्छिन् ।

    “मलाई मेरो तस्विरभन्दा तपाइँको उचाइ ज्यादै मन पर्यो,” भन्छु ।

    मेरो कुरो सुनेर उनी अलिकति हास्छिन् । त्यसपछि, “ए हो र ?” भन्छिन् ।

    पूर्व युगोस्लाभियदेखि आएकी ती युवतीसँग तस्विर सङग्राहलयमा एकछिन बोलचाल हुन्छ । तर उनीसँग त्यसरि बोल्दै गर्दा एक पटक हाते घडीलाई हेर्छु । समय मध्यान्हको ३ बज्नै लागेको छ । अब अन्तराष्ट्रिय डाइनिङ हलमाजान पर्यो र त्यहाँ बसेर मज्जाले मध्यान्हको चिया पिउनु पर्यो भन्ने योजना बुन्छु । त्यति सोच्ने बितिक्कै त्यतातिर लागि हाल्छु । अनि केहि समय हिँडेपछि तिनै डाइनिङहलमा पुग्छु । त्यहाँ पुग्ने बितिक्कै मानिसहरुलाई स्वागत गर्न पर्खेर बसिरहेकी स्पेनिस बेयराले, -

    ‘के हजुरले अग्रिम टेबलको आरक्षण गर्नु भएको छ ?” भनेर सोध्छिन् ।

    मैले प्रति उत्तर दिने क्रममा, “अँह ! छैन । गरेको नै छैन्,” भन्छु ।

    मेरो कुरो सुनेपछि ती बेयराले, “एकछिन है,” भन्छिन् । र, खुरुखुरु हिँडेर कम्प्युटरको नजिक जान्छिन् । म उनलाई त्यतिबेला क्वारक्वार्ति हेरिरहेको हुन्छु । उनले कम्प्युटरमा मेरो नाम रजिष्टर गर्दै गर्दा म थोरै अगाडी बढ्छु र उनको ठीक सामुन्ने पुगेर खडा हुन्छु । तर सोहि समयमा अर्की एकजना एसियन मूलकी जस्ति देखिने बेयरा हिँड्दै हिड्दै मेरो नजिक आउँछिन् ।

    उनी मेरो नजिक आएपछि, “मध्यान्हको नमस्ते ! उहाँलाई म नै लान्छु है,” भनेर उनको सहकर्मिलाई भन्छिन् ।

    “ल ल झ्यालछेउँको ४० नम्वर टेबल खालि छ । त्यहिँ लानु है,”भनेर सल्लाहा दिन्छिन् ।

    उनको कुरो सुनेपछि हामी दुईजना सँगसँगै हिड्दै अगाडी बढ्छौ । एकछिन पछि हामी ४० नम्वर टेबलमा पुग्छौ । त्यहाँ पुग्ने बितिक्कै उनले मेरो लागि एउटा कुर्सी तानि दिन्छन् । उनले तानेको कुर्सीमा धन्यबाद भन्दै म थपक्कै बस्छु ।

    “होइन ! तपाइँको नाम चाहिँ साँच्चै के रे ? मैले त सोध्न भुसुक्कै बिर्सेछु ?”

    “पुष्पा,”

    “अरे ! तपाइँ पनि नेपालदेखि हो र ?”

    “होइन नि, बाली – इन्डोनेशियादेखि,”

    “अनि के तपाइँलाई पुष्पा भनेको थाहा छ त ?”

    “किन नहुनु । म फूल हुँ । एउटा रातो गुलाफको फक्रेको फूल हुँ ।”

    “ए ! हगि । जस्तो नाम तपाइँ उस्तै मानिस पनि देखिनु हुनेरहेछ । अनि सुन्नोस न म चाहिँ नेपालदेखि आएको हुँ है ।”

    “मलाई थाहा थियो । हिजै दिउसो माथि बफे रेष्टुँरामा मेरी फिलिपिनो साथिसँग बोलेको देखेर चाल पाकी थिए ।”

    नभन्दै हामी यसरि नै एकछिन गफमा भुलिन्छौं । लगभग बिस-बाइसे ठिट्टी जस्ती देखिने पुष्पा उमेरले मात्र होइन, शारिरिक रुपमा पनि अति सुन्दरी देखिन्छे । तर यतिक्कैमा अर्को एकजना बेयराले एक जोडी जापानिज यात्रु लिएर हाम्रो टेबलमा आइपुग्छ । त्यसपछि उनले मसँग बस्न मिल्छ होला नि भनेर एकवचन सोध्छ । किन नमिल्नु आखिर म पनि एक्लै त छु नि । अझै मलाई साथि भयो । झन गजब नै भयो भन्छु । त्यसपछि दुवैजना बेयराहरु हामीदेखि बिलय हुन्छन् ।

    उनीहरु हाम्रो टेबलदेखि गएपछि मेरो जापानिज यात्रुहरुसँग परिचय सुरु हुन्छ । मैले मेरो नाम र म कुन ठाउँदेखि आएको हुँ भनेर बताएपछि, -

    “मेरो नाम आकिहिरो वातानबे र मेरी श्रीमती क्यारोलाइन वातानाबे हुन्,” उनले भन्छ । उनी जापानिज मूलको भएतापनि हवाइ टापुको बासिन्दा रहेछ । तर उनकी पत्नी चाहिँ फिलिपिनो मूलकी रहेछिन् । आजभन्दा ठीक ४० बर्ष अगाडी बिबाहबन्धनमा बाँधिएका उनीहरु ४०औं बर्षिकी मनाउन पानीजहाज यात्रामा आएका रहेछन् । पेसाले पूर्व इन्जिनियर वातानबेको बाबु र बाजे लगाएर हवाइमा बसेका तीन पुस्ता भैसकेको रहेछ । जापानिज नाम, जिउँडाल र अनुहार आफूसँगसँगै बोकेर हिडेको भएतापनि एक्कै शब्द जापानिज भाषा बोल्न नजान्ने वातानबे भेट्दाहरेक मानव जीवनले बोल्ने भाषा र संस्कृती सम्बन्धि मलाई एकछिनसोच्न बाध्य बनायो ।

    एकछिनपछि हामी चुपचाप हुन्छौं ।सोहि समयमा बेयराहरुले उछिनपाछिन गर्दै बिभिन्न प्रकारको चियाहरु हाम्रा टेबलमा ल्याउँन थाल्छन् । उनीहरुले चियाको साथमा प्रशस्त सान्डविच र स्कोनहरु पनि ल्याएर हाम्रो अगाडी राखि दिन्छन् । त्यसपछि चियाको चुस्किसँगसँगै म हवाइका मित्रहरुसँग प्रशान्त महासागरको मौसमको बिषयमा कुरोकानि गर्न सुरु गर्छु । किनभने अहिलेसम्म पानीजहाज हल्लन छाडेको छँदै छैन् । समय बेलुकि पखको ५ बजेर ३० मिनेट जाँन्छ । मैले चियाको अन्तिम घुड्की पिउँछु । त्यसपछि उनीहरुलाई पुन: भेट्ने वाचा गर्दै म मेरो कोठा १२ तलातिर उक्लन थाल्छु ।

    तर यसरि भर्याङको हरेक अखेटाहरुमा मेरो पाइताला पार्दै गर्दा पानीजहाजको बिमारी भएर कोठामा एक्लै आराम गरिरहेकी मेरी श्रीमतीलाई सम्झन पुग्छु । यतिका धेरै मेहनत र परिश्रम गरेर छुट्टि मनाउन आएको मान्छे तर दिनरात पानीजहाजको एउटा कोठामा सुतिरहेर त के मनोरन्जन लिन सकिएला र भन्ने सोच्छु । तैपनि उनलाई ती शब्दहरु ओकलि हाल्न जमर्को गर्दिनँ ।

    सानफ्रान्सिस्को ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    सम्बन्धित समाचार