बुधवार, माघ २४ २०८०
नेपाल वाइड
खोटाङ, २४ माघ । खोटाङको बाराहापोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काममा चरम ढिलासुस्ती भएको छ । गत बैसाखमै तयार हुनुपर्ने प्रशासनिक भवन निर्माणको काम हालसम्म ५५ प्रतिशत मात्र सम्पन्न भएको छ ।
२०८० बैसाख ६ गतेसम्ममा सम्पन्न गर्नेगरी कौशिल बस्नेत निर्माण सेवा प्रालि बानेश्वर, काठमाडौंले २०७८ कात्तिक ७ गते प्रशासनिक भवन निर्माणको सम्झौता गरेको थियो । कौशिल बस्नेत निर्माण सेवाले मूल्य अभिबृद्धि कर सहित पाँच करोड ६९ लाख ७० हजार ३९२ रुपैयाँमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का लिएको हो ।
बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित धर्तुङमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण भइरहेको छ । तर निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत मात्रै भुक्तानी लिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।
सम्झौता गरिएको मितिमा भवन निर्माण गर्न नसकेको निर्माण कम्पनीले प्रथम पटक थप भएको नौ महिना म्याद समेत गुजारिसकेको छ । प्रथम पटक थप भएको म्याद गत माघ ६ गते सकिएको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले बताए ।
प्रथम पटक थप भएको म्याद गुज्रेपछि पुःन आगामी बैसाख ५ गतेसम्मका लागि तीन महिनाको दोश्रो म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ । निर्माण कम्पनीले भवन निर्माणको काममा चरम ढिलासुस्ती गरेपछि पटक–पटक पत्राचार गरेर ताकेता गरिएको सूचना अधिकारी प्रशासन सहायक पोखरेलले बताए । हाल भवनको तीन तला ढलान गरेर पर्खाल हाल्ने, प्लाष्टर गर्ने लगायतका काम भइरहेको देखिन्छ ।
स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि ९८ लाख खर्च गरेर गाउँपालिकाको प्रि–फ्याव भवन निर्माण गरिएको थियो । सोही प्रि–फ्याव भवनसँगै पक्की प्रशासनिक भवन निर्माण सुरु गरिएको हो ।