Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बिरामीको मृत्यु प्रकरणः ११ वर्षपछि नक्कली डाक्टर पक्राउ

    बिरामीको मृत्यु प्रकरणः ११ वर्षपछि नक्कली डाक्टर पक्राउ


    • सोमवार, माघ २९ २०८०

    • नेपाल वाइड


    बिरामीको मृत्यु प्रकरणः ११ वर्षपछि नक्कली डाक्टर पक्राउ

    खोटाङ, २९ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्धामा स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ । २०६९ सालमा हलेसी पोलीक्लिनिक दिक्तेलमा उपचारका क्रममा लापरवाहीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको भन्दै मृतक परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जिवानन्द मेहतालाई पक्राउ गरेको हो ।

    नक्कली प्रमाण–पत्रधारी मेहताले ‘डाक्टर हुँ’ भन्दै उपचार गर्नेक्रममा पोलीक्लिनिकमा उपचारका क्रममा राईको २०६९ फागुन १७ गते साँझ मृत्यु भएको थियो । पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएको पाँच मिनेटपछि बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त देबीसरा राईले २०६९ चैत्र १४ गते मेहता विरुद्ध किटानी जाहेरी दिएका थिए । मेहतालाई माघ २४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

    छानबीनकाक्रममा उपचारमा संलग्न डाक्टर मेहताले नक्कली प्रमाण–पत्र पेश गरेर पोलिक्लिनीकमा काम गर्दै आएको खुलेपछि मृतक परिवार किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तत्कालिन अवस्थामा आयुर्बेदमा एचए उत्तिर्ण गरेका मेहताले चीनबाट एमबिबिएस गरेको नक्कली प्रमाण–पत्र पेश गरेर उपचार गरिरहेको खुलासा भएको थियो । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले सोही दिनदेखि महिना दिनसम्म पोलीक्लिनिक बन्द गराएका थिए ।

    जिल्ला प्रशासन कार्यालयको रोहबरमा बसेको सर्वपक्षीय बैठकमा दुबै पक्षबीच मृतकको उपचारमा संलग्न मेहतालाई कारबाही गर्ने, पोलीक्लिनिकको सेवा सुबिधालाई पारदर्शीढंगले सञ्चालन गर्ने, एमबिबिएस डाक्टर राखेर मात्र पोलीक्लिनिक सञ्चालन गर्ने, सार्वजनिक सुचना आव्हान गरेर मात्र कर्मचारी छनौट गर्ने लगायतका बुँदाहरुमा सहमती भएपछि बन्द पोलीक्लिनिक २०६९ चैत २९ गतेदेखि खुलाइएको थियो । नक्कली डाक्टरले उपचार गर्दा बिरामीको मृत्यु भएको हल्ला फैलिएपछि बिरामी जान छाडेपछि पोलीक्लिनिक स्वःत बन्द भएको थियो ।

    प्रहरीले सोही पोलिक्लिनिक सम्वद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का महेशप्रसाद शाह र बोदेबरसाईन नगरपालिका–२ का अशोक कुमार साहलाई पनि अनुसन्धानका लागि माघ २८ गते पक्राउ गरेको छ । पक्राउ परेका तीनैजना बिरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    सम्बन्धित समाचार